इतिहासमा आज – नेपोलियनको निधन, मार्क्सको जन्म

आज मे ५ ,  विश्व इतिहासकै बहादूर र शक्तिशाली सैन्य शासक नेपोलियन बोर्नापार्ट, जसले एकपटक युरोपका धेरै देशमा आफ्नो प्रभूत्व कायम गरेका थिए, उनको निधन बेलायती बन्दीका रुपमा दक्षिण एटलान्टिक समून्द्रस्थित दुर्गम सेन्ट हेलना टापूमा आजकै दिन सन् १८२१ मा भयो ।

कोर्सिकामा जन्मिएका नेपोलियन इतिहासकै महान् सैनिक रणनीतिकार मानिन्छन्, उनी सन् १७९० को दशकमा फ्रेन्च रिभोलुसनरी आर्मीमा उत्कृष्ट काम गरेर शक्तिमा उदाएका थिए । सन् १७९९ मा फ्रान्सले युरोपका अधिकांश देशसँग युद्ध गरिरहेको थियो, यति नै बेला इजिप्टमा सैन्य मिसनमा खटिएका नेपोलियन त्यहाँबाट फर्किए । उनले फ्रान्सको शासन आफ्नो हातमा लिए, अनि देशलाई विध्वंशबाट पनि जोगाए ।


फेब्रुअरी सन् १८०० मा फस्र्ट कन्सल बनिसकेपछि उनले आफ्नो सेनालाई फेरि संयोजित गरे अनि अस्ट्रियालाई युद्धमा हराए ।

सन् १८०२ मा उनले फ्रेन्च कानूनमा नयाँ प्रणाली नेपोलियन कोड स्थापना गरे, सन् १८०४ मा नोट्रे ड्याम गिर्जाघरमा फ्रान्सको सम्राटको ताज पहिरिए । उनले आफ्नो शासनकालमा चर्चको वर्चश्व समाप्त गर्दै युरोपलाई वैज्ञानिक र बहुसांस्कृति बाटोतर्फ अग्रसर गराए ।

सन् १८०७ सम्म नेपोलियनले युरोपका धेरै स्थानमा आफ्नो झन्डा फहराइसकेका । तर, सन् १८१२ को सुरुवातदेखि उनले आफ्नो सैन्य कारवाहीमा हार सामना गर्न थाले । रुस कब्जा गर्ने योजना असफल भयो, पेनिन्सुला युद्ध हारेपछि स्पेन गुम्यो र सन् १८१४ मा विभिन्न देश मिलेर बनेको गठबन्धन सेनासँग परास्त भए ।

त्यसपछि नेपोलियन र गठबन्धन सेनाबीचको सन्धीअनुसार उनलाई इल्बास्थित टापूमा निर्वासनमा पठाइएको थियो, नाममात्रैको सम्राट पद कायम रहनेगरी । उनका लागि त्यहाँ आरामदायी रुपमा बस्ने व्यवस्था र सम्राटकै सेवा–सुविधा पनि थियो । यद्यपी, उनी फेरि सन् १८१५ को सुरुवातमा उनी इल्बाबाट फेरि फ्रान्स विजय गर्न सेनासहित निस्किए । फ्रान्सका तत्कालीन राजा लुई चौधौं नेपोेलियन आउने भएपछि भागेर निर्वासनमा गए । प्रारम्भिक सफलता हासिल गरेका नेपोलियनले १ सय दिन पेरिस कब्जा पनि गरे, तर अन्नतः फेरि गठबन्धन सेनासँग वाटर लुको युद्धमा परास्त भए । १८ जुन १८१५ मा पराजित भएपछि उनलाई अफ्रिकी तटको सैन्ट हेलेना टापूमा पठाइयो । ६ वर्षपछि सम्भवतः पेटको क्यान्सरले उनको निधन भयो ।

माक्र्सको जन्म


सन् १८१८ मा आजैका दिन दार्शनिक, विचारक तथा राजनीतिशास्त्री कार्ल माक्र्स जर्मनीमा जन्मिए । समाज, अर्थशास्त्र र राजनीतिबारे मास्कको आलोचनात्मक सिद्धान्तले वर्गीय द्वन्द्वबाटै समाज विकास हुनेमा जोड दिन्छ । माक्र्सवाद कम्युनिष्ट राजनीतिको आदर्श र विश्व राजनीतिमा सर्वाधिक प्रयोग हुने सिद्धान्तमध्ये हो । माक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित १८४८ को दस्तावेज ‘द कम्युनिष्ट मेनिफेस्टो’ विश्वकै सर्वाधिक प्रभावशाली राजनीतिक दस्तावेज मानिन्छ । विश्वमै प्रभाव राख्ने माक्र्सको अर्को पुस्तक ‘दास क्यापिटल’ हो ।

पुराना सामाजिक आर्थिक प्रणालीझैं पुँजीवादले सिर्जना गरेको आन्तरिक तनावले अन्ततः पुँजीवादकै विध्वंश निम्त्याउनेछ र यसलाई समाजवाद नामको नयाँ प्रणालीले विस्थापित गर्छ भन्ने माक्र्सको प्रक्षेपण थियो । बिसौँ शताब्दीमा विश्वमा समाजवादको लहर चल्यो । तर, छोटो समयमै समाजवादी खेमा ढलेर पुँजीवाद विश्वमा हाबी भयो ।

मानव इतिहासमा माक्र्स सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् । उनको कामको प्रशंसा र आलोचना दुबै हुन्छ । आधुनिक सामाजिक विज्ञानका प्रमुख आर्किटेक्टमध्ये माक्र्स पनि एक मानिन्छन् । १४ मार्च, १८८३ मा लण्डनमा उनको निधन भएको थियो ।

महत्त्वपूर्ण घटनाक्रम

– सन् १९७२, अलइटालिया फ्लाईट ११२ पलेर्मो नजिकको माउन्ट लोङ्गामा दुर्घटना, विमानमा सवार सबै १ सय १५ जनाको मृत्यु ।





error: Content is protected !!