बन्दाबन्दी ः विकास निर्माणका कामहरु धमाधम हुदै

सुशीला रेग्मी

रामपुर ः कोरनाको कहरले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा ठुला ठुला आयोजनाहरु प्रभावित हुन पुगेका छन् । देश नै लकडाउनमा परेपछि महत्वपूर्ण आयोजनाका कामहरु अलपत्र अवस्थामा छन् । पाल्पा जिल्लामा भने कोरनाको कहरका बाबजुद पनि विकास निर्माणका कामहरु सुचारु भइरहेको छ ।

लकडाउनको समयमा पाल्पा बुटवल सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडक सुधारका कामहरु भइरहेको छ । सवारी चापले २४ सै घण्टा व्यस्त रहने यी सडकमा लकडाउनको मौका छोपेर सडक सुधारका कामलाई अगाडी बढाइएको हो ।

डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन बुटवल सडकखण्ड अन्र्तगतका सडक तथा पुल निर्माणको काम भइरहेको छ । अहिले सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीहरुको कटान गर्ने काम भइरहेको छ ।

सो सडकखण्डको चिडियाखोला देखि झुम्सासम्मको नाली मर्मत तथा निर्माणको काम पनि भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार दोभानखोला, कचलखोला र तिनाउखोलाको पुल निर्माणको काम निर्बाध रुपमा भइरहेको छ ।

“लकडाउनको समयमा बाहिरका मजदुरहरु आफ्नै घर गएपछि काम नरोकियोस् भनेर स्थानीय स्तरका मजदुरबाट काम भइरहेको छ, निर्माण सामग्रीको लागि बुटवल प्रशासन कार्यालय संग समन्वय गरेर ल्याइएको छ” डिभिजन प्रमुख अधिकारीले भन्नुभयो ।

लकडाउनको अवधीमा मात्रै सो खण्डको कालीमाटी क्षेत्रमा चार वटा भन्दा बढी जोखिमयुक्त घुम्ती कटान भईसकेको छ ।

जिल्लाका करिव एक दर्जन योजनाहरु तत्काल संचालन गर्ने तयारीमा रहेको डिभिजन प्रमुख अधिकारीको भनाई छ । सवारी साधन रोकेरै यहाँ सडक मर्मत तथा सुधारका काम गर्नुपथ्र्यो । लकडाउनको समयमा सवारी साधन बन्द भएपछि काम पनि तीव्र गतिमा अगाडी बढेको छ ।

यस्तै तानसेन तम्घास सडकखण्ड अन्र्तगत तानसेन देखि भैरवस्थान सम्म एक लेनको सडकलाई चौडा बनाउने, साँघुरा सडक तथा घुम्तीहरु कटान गर्ने, विभिन्न स्थानमा पर्खाल लगाउने, नाली काट्ने लगायतका कामहरु भइरहेका छन् ।

तानसेनको ढुङ्गाखानी देखी भैरवस्थान सम्मको तीन किलोमिटर सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ । यहाँ दैनिक छ देखि सात वटा सम्म डोजर स्काभेटरको प्रयोग गरी काम धमाधम भइरहेको छ ।





error: Content is protected !!