गहुँ पाकिसकेको भन्दै राहत वितरणमा रोक

हरि गौतम

रुकुम पश्चिम ः मजदुर र विपन्न परिवारका लागि जिल्लाका ६ वटै स्थानीय तहमा सुरु गरिएको राहत वितरण अलपत्र परेको छ । तथ्यांक संकलनमा ढिलाइ, विवाद र गाउँमा बाली पाकिसकेको भन्दै स्थानीय तहले राहत वितरणमा आनाकानी गरिरहेका छन् ।

पहिलो चरणकै राहत वितरण नहुँदा लकडाउनको मार खेपिरहेका विपन्न मजदुर परिवारलाई जीविकोपार्जनमा समस्या भएको छ । त्रिवेणी गाउँपालिकाले राहत वितरणको काम अझै सुरु गरेको छैन । अन्य पालिकामा पनि राहतको काम अपुरो छ । तथ्यांक संकलन गरी चामल र नुन खरिदको सम्झौता गरिसके पनि राहत वितरणको काम हुन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले बताए । उनका अनुसार १० वडाका ७ सय ५० ज्यालामजदुरी गर्ने विपन्न परिवारमा राहत वितरणको तयारी थियो । ‘राहत वितरणमा विवाद हुने र अधिकांश गाउँमा गहुँबाली पाकिसकेकाले राहत वितरणको काम रोकेका छौं,’ उनले भने, ‘तत्काल समस्या नरहेको भन्दै राहत खरिदको काम स्थगित गरेका हौं ।’ गाउँपालिकाले राहत वितरणका लागि दुई साताअघि ६५ क्विन्टल चामल र नुन खरिदको तयारी गरेको थियो ।

बाँफिकोट गाउँपालिकाले १ हजार ६ सय ५ परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । तर, सबै वडामा राहत वितरण हुन सकेको छैन । ३ सय परिवारका लागि राहत कार्यक्रम घोषणा गरेको सानीभेरीमा पनि अधिकांश घरधुरी छुटेका छन् । मुसीकोट नगरपालिकाकाले राहत वितरण जारी रहेको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले राहतका लागि निश्चित मापदण्ड तोके पनि मापदण्डभन्दा बाहिरकाले माग्न थालेपछि वितरणमा समस्या भएको बताए । ‘ज्यालादारी र श्रम गरेर खानेलाई मात्रै राहत लक्षित गरेका थियौं,’ उनले भने, ‘तर सरकारले राहत दिने भएपछि सबैले दाबी गर्ने अवस्था आउँदा वितरण प्रभावकारी भएन ।’ अहिलेसम्म ८ सय परिवारलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

५१ प्रतिशत गरिबी रहेको आठबीसकोट नगरपालिकाले पहिलो चरणमा राहत वितरणका लागि १ हजार परिवार छनोट गरेको छ । तर, सबैभन्दा बढी खाद्यान्न अभाव हुने वडा नं। १, २ र ३ मा अझै राहत पुग्न बाँकी रहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । भौगोलिक विकटताको कारण राहत पुग्न समस्या भएको उनको भनाइ कान्तिपुरमा खवर छ।





error: Content is protected !!