दश दिनमा निर्माण गरेको आइसोलेसनअस्पतालको सेवा सुरु

डिल्लीराज विश्वकर्मा
राडी ( रुकुम पश्चिम), १८ वैशाख (रासस)ः रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १० दिनमा निर्माण गरेको कोरोना विशेष अस्पताल आइसोलेसन कक्ष आज देखि सञ्चालनमा आएको छ ।
कक्षको उद्घाटन कार्यक्रमलाई टेलिफोनबाट मन्तव्य दिदै पूर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा (प्रभाकर)ले जिल्लाका स्थानीय तहले कोरोनाको महामारी विरुद्ध लड्न गरेको प्रयासहरुको प्रशंसा गर्दै विपत्ती सँग जुध्न रुकुमबाट एउटा अभियान शुरु भएको बताउनुभयो ।


संघीय सरकार र प्रदेश सरकारको नजर नपुगेको विकट ठाउँमा पनि १० दिनमै सुविधा युक्त अस्पताल निर्माण गरेर नगरपालिकाले प्रशंसानिय काम गरेको उहाँको भनाई छ । देशका सबै पालिकाले यसरी नै तदारुकताका साथ भौतिक संरचना निर्माणलाई तिव्रता दिएपछी समृद्धी टाढा नभएको उहाँले बताउनुभयो ।
उहाँले श्रमसहकारी मार्फत जिल्लाका आठविसकोट, चौरजहारी र मुसिकोट नगरपालिकाले कोरोना भाइरस विरुद्ध लड्न आइशोलेसन निर्माण गरेको बताउनुभयो । यहाँले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिने भन्दै स्वास्थ्यको क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अघी बढ्ने दाबी गर्नुभएको छ ।
नगरपालिकाले १० दिनमै निर्माण गरेको आधुनिक आइसोलेसन कक्षको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले उद्धाटन गर्नुभएको हो ।
१० दिनमै ८ कोठाको सुविधा युक्त कोरोना विशेष अस्पताल आइसोलेसन निर्माण गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विपत्तीको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयारी पारेको भन्दै सबैले नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी गर्नुभयो ।
प्रमुख शर्माले जनताको सक्रियातामा नगरपालिकाले १० दिनमै सुविधा युक्त आइसोलेसन कक्ष निर्माण गर्न सम्भव भएको भन्दै जनता र सरकार एकताबद्ध भएर मात्रै महामारी र विपत्तीको सामना गर्न सकिने बताउनुभयो । कोरोना भाइरसको महामारीले एउटा नयाँ पाठ सिकाएको उल्लेख गर्दै उहाँले विपत्ती सँग लड्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
यसैबीच उद्धाटन भए सँगै कोरोना विशेष अस्पताल आइसोलेसन कक्षबाट सेवा सूचारु भएको छ । शुरुमा १२ बेडको आइसोलेसन बनाउने भनिएपनि अहिले आइसोलेसनमा थप तीन बेड सहित १५ वेड राखिएको नगर प्रमुख गोर्ख बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइशोलेसन कक्षमा विरामीका लागि ६ वटा सुविधा सम्पन्न कोठा, स्वास्थ्य कर्मीको छुट्टै वार्ड, तथा जनरल वार्ड र आइसियु वेड पनि राखिएको छ । साथै प्रत्येक कोठामा अक्सिजन र तातोपानीको व्यवस्था भएको र अव कोरोना तथा कुनै पनि सरुवा रोगका विरामीहरुलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने नगर प्रमुख केसीले दाबी गर्नुभयो ।
कोरोना विशेष अस्पताल आइशोलेसन कक्ष निर्माण कार्यमा हरेक क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान तथा प्रंशसा पत्र प्रदान समेत गरिएको छ ।





error: Content is protected !!