कोरोनासँगै नेपालमा दादुरा–रुबेलाको प्रकोप बढ्दै

धादिङमा दुई बालबालिकाको मृत्युपछि १७ वैशाखमा २० हजारलाई खोप लगाइँदै
कोरोना भाइरस (कोभिड–१९) सँगै नेपालमा दादुरा–रुबेला रोगले प्रकोपको रूप लिन थालेको छ । फागुनयता झापा, सर्लाही, धादिङ, ललितपुर र काठमाडौं गरी पाँच जिल्लामा दादुराको संक्रमण देखापरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाका अनुसार तीन महिनायता एक सय ७१ जनामा दादुरा रोग देखिइसकेको छ ।

दादुरा प्रकोपका कारण गत ७ फागुनमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ चेपाङ बस्तीमा ठूलो संख्यामा मानिस बिरामी परेका थिए । प्रयोगशाला परीक्षणमा एक सय ३० जनामा दादुरा संक्रमण देखिएको थियो । खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले धादिङमा दादुराको संक्रमणका कारण दुई बालबालिकाको मृत्युसमेत भएको जानकारी दिए । संक्रमित हुनेमा नौ महिनादेखि ४० वर्ष उमेर समूहका छन् । एक स्वास्थ्यकर्मी नै दादुरा संक्रमित भएको गौतमले बताए । धादिङमा दादुराको प्रकोप बढेपछि सरकारले सो क्षेत्रमा दादुरा–रुबेलाविरुद्धको खोप चलाउने भएको छ । १७ वैशाखमा बेनिघाटरोराङ गाउँपालिका–६ चेपाङ बस्तीमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २० हजार बालबालिकालाई एकैपटक खोप लगाइने खोप शाखा प्रमुख डा।गौतमले जानकारी दिए ।

झापामा गत ९ चैतमा १० जना दादुराका बिरामी देखापरेका थिए । चार महिनादेखि ४० वर्ष उमेर समूहका मानिसमा दादुरा संक्रमण देखिएको डा।गौतमले जानकारी दिए । यस्तै, गत फागुनमा सर्लाहीको गोडैता नगरपालिकाका विभिन्न स्थानमा दादुराका बिरामी फेला परेका थिए । सर्लाहीमा ६ जनामा दादुरा देखिएको थियो । संक्रमित हुनेमा चार वर्षदेखि १५ वर्ष उमेर समूहका थिए । ललितपुरको बुङमतीमा रहेको इँटाभट्टामा काम गर्ने बालबालिकामा गत ८ चैतमा दादुरा देखापरेको थियो । त्यस क्षेत्रका १८ बालबालिकामा दादुराको संक्रमण देखिएको खोप शाखाले जानकारी दिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा यसै साता सातजना दादुराका बिरामी फेला परेका छन् ।

प्रत्येक वर्ष दादुराबाट संक्रमित हुनेको संख्या बढेसँगै सरकारले विशेष खोप अभियान सुरु गरेको हो । सरकारको तथ्यांकअनुसार सन् २०१६ मा एक सयजनामा देखिएको दादुरा ०१७ मा दोब्बरले बढेर दुई सय पुगेको थियो । २०१८ मा यो बढेर चार सय ३० जनामा संक्रमण देखिएको थियो । दादुराका एकजना संक्रमितले १६ जनासम्मलाई सार्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकित्सकले नौ र १५ महिनाको पूरा खोप नलगाएका कारण धेरै उमेर समूहमा पनि दादुरा देखिएको हुन सक्ने अनुमान गरेका छन् ।

दादुरा–रुबेला खोप दोस्रो अभियान स्थगित भएको एक महिना पुगेको छ । लकडाउनका कारण सेवा प्रवाह अवरुद्ध भएमा ६ लाखभन्दा बढी बालबालिकाको स्वास्थ्यमा जोखिम देखिन सक्छ । ( डा झलक शर्मा गौतम खोप शाखा प्रमुख)

रुद्ध हुँदा सवा ६ लाख बालबालिकाको स्वास्थ्य जोखिममानियमित खोप अव

बालाजु निवासी सीमा पौडेलले १० महिने छोरी आज्ञालाई नियमित खोप लगाउन पाएकी छैनन् । दादुरा–रुबेलाको खोप पहिलो मात्रा नौ महिनामा दिनुपर्ने हो । तर, लकडाउनका कारण सेवा अवरुद्ध हुँदा एक महिना ढिला भइसकेको उनी बताउँछिन् । ‘छोरी १० महिना लागिन्, दादुरा–रुबेलाविरुद्धको खोप लगाउन पाएको छैन, ज्वरो आउँदा पनि डर लाग्न थालेको छ,’ उनी भन्छिन् । नियमित खोप अवरुद्धले समस्या पर्ने सीमा एक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता समस्या ६ लाख बढी आमा र बच्चालाई परेको छ ।

कोरोना भाइरस महामारी रोक्न जारी लकडाउनका कारण जन्मेदेखि १५ महिनासम्मका बच्चालाई लगाउने नियमित खोप प्रभावित भएको छ । जसका कारण ६ लाख बालबालिका नियमित खोप लगाउनबाट वञ्चित छन् । परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुबेला खोप दोस्रो अभियान स्थगित भएको एक महिना पुगेको छ । अन्य नियमित खोप पनि राम्रोसँग चल्न सकेको छैन । ‘अब पनि लकडाउनले सेवा प्रवाहमा समस्या आउने हो भने बच्चाहरूको स्वास्थ्यमा जोखिम देखिन सक्छ,’ खोप शाखा प्रमुख गौतमले भने ।

दादुरा–रुबेला महाअभियानको पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३४ जिल्लाका १८ लाख २४ हजार चार सय ३३ र दोस्रो चरणअन्तर्गत चैतमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार सात सय ७१ बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने तयारी भएको थियो । तर, कोभिड–१९ संक्रमणसँगै दोस्रो चरणको कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउनले गाउँघर क्लिनिक अवरुद्ध भएका छन् । आधारभूत स्वास्थ्य सेवा र आकस्मिक सेवा सुचारु गर्ने भनिएको छ । तर, घरबाट बाहिर निस्कन नसकेको अवस्थामा कसरी चलाउने भन्ने अन्योल छ । केही स्वास्थ्य संस्थाले मात्रै खोप चलाएको भरमा जोखिम कम हुँदैन ।

खोप सुचारु गर्न स्वास्थ्य मन्त्रालयको सातै प्रदेशलाई परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सात प्रदेशमा खोप सुचारु गर्न परिपत्र गरेको छ, तर लकडाउनले सञ्चालन हुने अवस्था देखिँदैन । खोप सुपरभाइजर भरत भण्डारीले एक महिना खोप रोकिए परिणाम नराम्रो आउन सक्ने बताए । ‘हामी कोरोना नियन्त्रणमा जुटेका छौँ,’ उनले भने, ‘खोप एक महिनादेखि प्रभावित छ, अझै नियमित खोप चल्न सकेन भने बच्चाहरूको मृत्युले महामारी ल्याउन सक्छ ।’ जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोपको आवश्यकता पर्छ । नियमित खोप लगाउने बच्चाहरूको संख्या देशभर ६ लाख २० हजार छ । भण्डारीका अनुसार देशभर १६ हजार खोप केन्द्र छन् । १३ हजार मासिक रूपमा नियमित सञ्चालन हुन्छन् । १० चैतपछि सबै सेवा ठप्पजस्तै भएका छन् । थोरै ठाउँमा मात्रै सेवा सञ्चालन भएको छ । नियमित खोप सञ्चालन गर्न नौ हजारभन्दा बढी स्वास्थ्यकर्मी सहभागी हुन्छन् । उनीहरूले तीनदेखि पाँच दिन खोप चलाउँदै आएको भण्डारी बताउँछन् ।





error: Content is protected !!