बारेकोटमा पुग्यो सडक , गुडे गाडी
हेमन्त केसी
जाजरकोट , १५ वैशाख ः बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जाल सँग जोडिएको छ । सदरमुकाम खलंगाबाट करिव ७० किलोमिटर उत्तरपुर्वमा रहेको बारेकोट गाउँपालिकामा ट्याक औपन भएसँगै यातायात साधनहरु सञ्चालनमा आएका छन् ।
नलगाड जलविद्युत आयोजनाको बाँध निर्माण स्थल समेत रहेको बारेकोटमा सडकको ट्याक औपन भएसँगै यातायात साधनहरु सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालीमटी सम्मा ३५ किलोमिटर सडक जाजरकोट – डोल्पा सडक खण्ड भित्र पर्दछ । नलगाड नगरपालिकाको कालीमटी देखि सिर्के सम्माको २२ किलोमिटर सडक नलगाड जलविद्युत आयोजनाको पहुँच मार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो ।
कालीमटी हुँदै लैखम सम्म नलगाड नदीको तीरैतीर अर्को पहुँच मार्ग निर्माण गरी बारेकोट गाउँपालिकाको वडा – ७ लैखम सम्मा सडक जोडिएको छ । अर्को कालीमटी हुँदै खनटाकुराबाट सिर्के जोडेर बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सँग सडक जोडिएको गाउँपालिकाले जनाएको छ ।
नलगाड नदीको खारामा पुल निर्माण कार्य ढिलो हुँदा नलगाड नदीको किनारै किनार यातायातका साधन सञ्चालन गर्न सकिएको छैन । त्यस्तै सिर्को देखि बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सम्माको १३ किलोमिटर सडक गाउँपालिकाले आफैले निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो ।
नलगाड जलविद्युत आयोजना बाध स्थल अर्थात सक्ला ध्यापाटाकुरा देखि लिम्सा सम्माको १२ किलोमिटर सडकको स्तर उन्नतीका लागि रु ८ करोडको वोलपत्र आवह्वान भइसकेको समेत शाहले जानकारी दिनुभयो । गाउँपालिकाको ५० प्रतिशत बजेट र संघीय सरकारको ५० प्रतिशत बजेटबाट स्तरउन्नतीको काम हुँन लागेको शाहको भनाई छ ।
गाउँपालिकाले रु ४ करोड ५० लाख बजेटबाट आफ्नो क्षेत्रको सडक निर्माण गरी अस्थायी ट्याक खोलेको हो । कर्णाली प्रदेशकै सामरिक महत्वको नलगाड जलविद्युत आयोजना ( ४१७ मेगावाट) निर्माणका लागि डिपिआरको काम देखि अन्य विकास निर्माणको काम लाई यो सडकले विशेष महत्व दिईएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो ।
संघीय सरकारको विशेष महत्वको रुपमा हेरेको यो आयोजना निर्माणका गर्नका लागि सहजताको पहिलो मार्ग नै सडक रहेको सिंहको भनाई छ ।
जुम्ला र डोल्पाको सिमाना सँग जोडिएको बारेकोट गाउँपालिका जडीवुटीको भण्डारको रुपमा परिचित छ । माथी तीर नलगाड नदीको उद्गम स्थल सहित अग्ला हिमाल र तल तीर नलगाड नलविद्युत आयोजना निर्माण स्थल भएका कारण यसको महत्व अन्य स्थानीय तहको भन्दा फरक रहेको छ ।
सडक सञ्जाल नहुँदा यहाँ खाद्यान्न , निर्माणका सामग्री देखि अन्य बिभिन्न वस्तुहरु ढुवानीमा समस्य भोग्दै आएका यहाँका स्थानीयवासीहरु सडक निर्माणसँगै सहजता आउदा भन्दै खुसी भएका छन् । पुख्यौदेखि पिठ्यूमा आफै भनदा बढी तौलका भारी , नाम्लो सहायताले बोक्दै बारेकोट लिन र बाहिर पठाउने काम गदै आएका ३ हजार भन्दा बढी घरधुरीहरु सडक सञ्जालमा जोडिएसँगै दुखका दिन गएको प्रतिक्रिया दिन थालेका छन् ।
घोडा , खच्चडको भरमा दैनिक आवश्यकतासँग जुझदै आएका सर्वसाधारणहरु अव गाडीसँग मितेरी गाँसेर दैनिक कामकारवाहीहरु सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका –५ का खड्क शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले अन्य सहायक सडकहरु निर्माणको काम तिव्र पारेको बताएको छ ।
जुम्लासँग सडक जोड्नका लागि काम तिव्र पारिएको छ । कोरोना भाईरसको त्रासका बीचमा विकास निर्माणको कामलाई गती दिईएको गाउँपालिकाले जनाएको छ । विरामी हुँदा होस वा अन्य कुनै समस्य परेमा २ दिन लगाएर सदरमुकाम आउने यहाँका स्थानीयवासीहरु अहिले १ दिनमै सदरमुकाम आएर जान सक्ने अवस्था सिर्जना भएको छ ।
गाउँपालिकामा विद्युतिकरणका लागि सडक निर्माण भएकै ठाउँबाट पोल गाडेर तार तान्ने काम केही दिनमै सुरु हुँने नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ । लिम्सा सडक पुगेसँगै गाउँ , गाउँमा सडक निर्माणको लागि स्टाभेटरबाट प्रयोग गरिरहएको छ ।
विकट मानिएको बारेकोटमा सडक अस्थायी ट्याक ओपन भएसँगै दिगो सडक निर्माण गरी १२ महिना यात्रा गर्न मिल्ने बनाउन सर्वसाधारणको माग रहेको छ ।