ओली–नेपाल छलफल सकियो, दुवै समूहका नेता छलफलको तयारीमा

नेकपाका शीर्ष नेताहरूबीच टकराव बढिरहेका वेला प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सघन संवाद सुरु गरेका छन् ।

दुवै पक्षका नेताहरूबीच छलफल सुरु हुनुअघि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छुट्टै छलफल भएको छ । नेपाल बाहिरिएपछि दिउँसो दुवै पक्षका नेताहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुँदै छ ।

स्थायी समिति सदस्य रघुजी पन्तले पनि केहीबेरपछि आन्तरिक विषयमा छलफल हुन लागेको पुष्टि गरे । ‘आन्तरिक विषयमै केही छलफल गर्ने कुरा भएको छ,’ पन्तले भने

ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी हुँदै छन् ।

‘अहिलेसम्म ठोस प्रस्तावमा आधारित भएर कुनै छलफल भएका छैनन्, त्यसैले कुराकानीमा बसेपछि मात्र थाहा हुनेछ,’ नेपालनिकट एक नेताले भने, ‘हेरौँ छलफल सकारात्मक दिशातिर अघि बढ्छ कि भन्ने अपेक्षा छ ।’

ओलीनिकट नेताहरूले तत्कालका लागि केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने र एकता महाधिवेशनमा अध्यक्षमा समर्थन गर्ने नेपाललाई प्रस्ताव राखे पनि उनीमाथि त्यस्तो ‘उधारो’ प्रस्तावमा सहमति नजनाउन निकट नेताहरूको दबाब छ ।

मुख्यमन्त्री पोखरेल, परराष्ट्रमन्त्री ज्ञवालीलगायतका नेताहरूले ओलीको सन्देश लिएर नेपालसँग दुई दिनयता छलफल गरेका थिए ।

नेपालनिकट स्थायी समितिका नेताहरूको आइतबारको भेलाले पटकपटक धोका भएका कारण ओली पार्टी सञ्चालनको विधि र प्रक्रियासहित प्याकेज सहमतिका लागि तयार नभए अध्यक्ष प्रचण्डसँगै मिलेर अघि बढ्न दबाब दिएको थियो ।

प्रचण्ड र नेपालनिकट दोस्रो तहका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल र गोकर्ण विष्टलगायतले सरकार र पार्टीमा ओलीको विकल्प खोज्ने विषयमा केन्द्रित रहेर छुट्टै छलफलसमेत गरेका थिए ।

नेपाललाई समूहका नेताहरूले एक व्यक्ति ः एक जिम्मेवारीको नीतिअनुसार ओली माथिदेखि तलैसम्म जिम्मेवारी हेरफेरका लागि प्याकेजमै सहमतिका लागि तयार भए मात्र सहमति गर्न सुझाब दिएका छन् ।

जसअनुसार ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद रोजेर नेपाललाई छाड्नुपर्ने, दोहोरो जिम्मेवारीमा रहेका नेताहरूलाई हटाएर अवसरबाट वञ्चित नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्नेलगायतका सुझाब दिएका छन् ।





error: Content is protected !!