नेपालमा दक्षिण एसियामै सरदर वर्षा हुने आकलन

काठमाडौँ ः नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुनमा सरदर वर्षा हुने विज्ञहरुले आकलन गरेका छन् ।दक्षिण एसियाली मुलुकहरुको आगामी मनसुन प्रक्षेपण गर्न यसै साता तीन दिन भएको भर्चुअल छलफलमार्फत् विज्ञहरुले विश्वभर प्रयोगमा ल्याइएका मौसम विज्ञानसम्बन्धी मोडलहरुको विश्लेषण गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् ।
विश्व मौसम संगठन (डब्लूएमओ) को दिल्लीस्थित् क्षेत्रीय जलवायु सेन्टरले संयोजन गरेको साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१६) मा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाबाट मौसम विज्ञान हेर्ने विशेषज्ञ सहभागी थिए । उक्त छलफलमा नेपालबाट जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा जलवायु शाखाकी प्रमुख इन्दिरा कँडेलले भाग लिएकी थिइन् ।
हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि नै सम्मेलन आयोजना गरेर दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सास्कोफ–१६ बंगलादेशको ढाकामा हुने तय भएकामा कोरोना संक्रमणका कारण यसै साता भर्चुअल छलफल भएको हो । छलफलमा जलवायु विज्ञानका जापान, कोरिया, बेलायतलगायत अन्तर्राष्टिय विज्ञहरुसमेत थिए ।
तीन दिनसम्म चलेको छलफलमा मौसम विज्ञान आकलनमा विश्वमा प्रयोगमा ल्याइएका मोडलको माध्यामबाट सम्भावित मनसुन प्रक्षेपण गरिएको हो । त्यस्ता मोडलहरु सबै देशका आ–आफ्नै छन् । सबैका मोडलहरुको विश्लेषण गर्दै विशेषज्ञहरुले एउटै प्लेटफर्मबाट विश्वसनीय मनसुन प्रक्षेपण गर्दै आएका छन् । मनसुन प्रक्षेपणका लागि जापान, बेलायतलगायतका विकसित मुलुकहरुले प्रयोग गर्दै आएका मोडलको समेत प्रयोग गरिएको छ ।
छलफलमा सहभागी वरिष्ठ मौसमविद् कँडेलले नेपालमा सरदर वर्षा आकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भेगमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । उनले भनिन्, ‘तराई क्षेत्रमा पनि अलि कम वर्षा हुन सक्छ ।’
नेपालको आगामी मनसुनबारे विभागले आउँदो साता बुलेटिन निकाल्ने तयारी गरिरहेको छ । विभागले अहिले छलफलबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिरहेको छ ।
सामान्यतया जेठ २७, २८ (जुन १०० देखि मनसुन सुरु हुन्छ । नेपालमा असोज पहिलो सातासम्म )सेप्टेम्बर २३० मनसुनी गतिविधि जारी हुन्छ ।
सास्कोफ–१६ को प्रतिवेदन अनुसार पाकिस्तानको धेरैजसो भाग, भारतको दक्षिणी भाग, बंगलादेश र श्रीलंकाको केही भागमा भने सरदरभन्दा केही प्रतिशत बढी वर्षा हुने देखिन्छ । अफगानिस्तान, पाकिस्तान, भारत र भुटानको उत्तरी भागमा भने सरदर भन्दा पनि कम वर्षा (सुख्खा) हुने देखिन्छ ।
मनसुनी प्रक्रिया करिब १ सय ५ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । अहिलेको वर्षा प्रि–मनसुन गतिविधि हो । चैतदेखि जेठसम्म प्रि–मनसुनको समय हो । अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र त्यसमा बंगालको खाडीबाटसमेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले छिनछिनमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।










