क्वारेन्टाइदेखि कोरोना अस्पताल निर्माणको काम तीव्र

हेमन्त केसी
जाजरकोट ः कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि रुकुमपश्चिमका दुई नगरपालिकाले आफ्नै क्वारेन्टाइन तथा आइसोलेसनको भवन निर्माण सम्पन्न गरेका छन् ।


आठविसकोट नगरपालिकाले रु ७० लाख बराबरको खर्चमा १२ शैंयाको क्वारेन्टाइन निर्माण गरेको निर्मित प्रमुख प्रशासकीय प्रमुख ध्रुवप्रसाद लम्सालले जानकारी दिए ।

तत्काल क्वारेन्टाइनकारूपमा प्रयोग गरे पनि पछि यसलाई नगरअस्पताललाई हस्तान्तरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ । क्वारेन्टाइन निर्माणका लागि विभिन्न निजी क्षेत्रहरूले व्यापक सहयोग गरेको उनको भनाइ छ ।

दश दिनभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यसहित निर्माण थालिएको क्वारेन्टाइनको काम सम्पन्न भएको हो । निर्माण सकिएको भए पनि भित्र वार्डमा अन्य कुरा मिलाउन बाँकी रहेको उनको जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेलगत्तै काममा जुटेको अस्पतालले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको बताएको छ । प्रदेश सरकारले त्यसका लागि रु ५० लाख बजेट अस्पताललाई निकासा गरेको थियो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशका तीन आइसोलेसन वार्डमध्ये चौरजहारी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बिरामी भर्ना गर्ने गरी निर्माण गरिएको जानकारी दिए ।

चौरजहारी अस्पतालले ५० शैंयाको आइसोलेसन अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिए । उनका अनुसार शीतल मावि चौरजहारीको एउटा भवनमा २० श्यया, चौरजहारी अस्पतालभित्रै चार शैंया तयार छन् । अस्पताल परिसरमा अरु २० श्ययाको अन्तिम काम हुँदैछ । दश दिनमा सक्नेगरी शुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको प्रशासक गिरीले बताए ।

त्यस्तै शीतल माविको आइसोलेसन वार्ड सञ्चालनमा आइसकेको छ । अस्पतालले उपचार, खानपिनदेखि अरु सम्पूर्ण व्यवस्थापनसमेत सोही ठाउँबाट मिलाएको उनको भनाइ छ । यहाँ शङ्कास्पद, सङ्क्रमण भएका तर लक्षण नदेखिएका तथा आफैँ औषधि खान सक्ने, हिँडडुल गर्न सक्नेलाई राखिनेछ । अबको केही दिनमा तयार हुने वार्डमा भने सलाइन चढाउनुपर्ने, सामान्य खालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई राख्ने तयारी गरिएको छ । अस्पतालभित्रको वार्डमा गम्भीर अवस्थाका बिरामीलाई राखिनेछ । उक्त वार्ड २४सै घण्टा चिकित्सकको रेखदेखमा हुनेछ ।

त्यसपछि पनि बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै बिरामी सिफारिस गर्ने गरी अस्पतालले व्यवस्थापन गरेको छ । कर्णाली प्रदेश सरकारको निर्णय र निर्देशनअनुसार कामको गति बढाएको गिरीले बताए । प्रशासक गिरीले भने, “अस्पतालभित्र आइसोलेसन वार्ड थप व्यवस्थित बनाइएको छ । चार बिरामी भर्ना गरिने उक्त वार्डका लागि एउटा भवन तयार छ । बिरामी भर्ना गर्ने कोठासहित नर्सिङ स्टेशन, स्वास्थ्यकर्मी बस्ने कोठा र उपचारमा संलग्न, चिकित्सक, स्टाफ नर्स, सहयोगी सबैको क्वारेन्टाइनसमेत सोही भवनमा बनाइएका छौँ ।”

कामको गति निकै बढाएको छ र सरोकारवालासँगको छलफललाई समेत व्यापक बनाएको भन्दै उनले भने, “तल्लो तलामा उपचारकक्ष, स्वास्थ्यकर्मीको निवास बनाइएको छ भने माथिल्लो तला निश्चित दिन बिरामीको उपचारपछि क्वारेन्टाइनका लागि तयार पारिएको छ । चार मेडिकल टिमले बिरामीको उपचार गर्ने र पालैपालो क्वारेन्टाइनमा बस्नेछन् ।”

त्यस्तै जाजरकोट स्वास्थ्य सेवा कार्यालयले ३० वार्डको आईसोलेसनसमेत तयार पारिएको छ । डोल्पा स्वास्थ्य सेवा कार्यालयले १२ शैंयाको आइसोलेसन तयार भएको बाँकी अरु पनि आवश्यकताका आधारमा थप्न सकिन स्वास्थ्य सेवा प्रमुख सिजन रावलले जानकारी दिए । सबै ठाउँमा कर्णाली प्रदेश सरकारले बजेट निकासा गरिसकेको छ ।





error: Content is protected !!