नेकपाका २० नेताले बुझाए ओली र प्रचण्डलाई पत्र

काठमाडौं । नेकपाका २० जना स्थायी कमिटी सदस्यले पार्टी स्थायी कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पत्र बुझाएका छन् ।
देश र जनताका सामु आएको कोरोना विषाणुको संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणालीसँगै संविधानको मर्ममा नै असर पार्ने कानून संशोधन गर्ने अध्यादेश जस्तो संवेदनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गर्नुपर्ने भएकाले बैठक बोलाउन माग गरेका हुन् ।
स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गर्न माग समेत २० नेताले गरेका छन् ।
यसरी बैठक माग गर्ने स्थायी समिति सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोलप्रसाद गजुरेल रहेका छन् ।










