मुख्यमन्त्री शाहीद्वारा कार्यालय प्रमुखलाई निर्देशन

सुर्खेत (रासस)ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १० जिल्लाका कार्यालय प्रमुखलाई काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री शाहीले आज १० जिल्लाका भौतिक विकास कार्यालयका प्रमुखसँग गरिएको भिडियो कन्फ्रेन्समार्फत सो निर्देशन दिनुभएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानी अपनाउँदै सीमित जनशक्तिको प्रयोगबाट गर्न सकिने काम सामाजिक दूरी कायम राखी नियमित गर्न उहाँले कार्यालय प्रमुखलाई सुझाउनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “ सम्पूर्ण कार्यालय प्रमुखले कोरोनाबाट उच्च सावधानी अपनाएर विकास निर्माणका कार्यालयलाई निरन्तरता दिनुस् । आगामी आर्थिक वर्षको योजनाको निर्माणको पनि तयारी गर्नुस् ।” उहाँले १० वटै जिल्लाका कार्यालय प्रमुखसँग हालसम्म भएका विकास निर्माणका कामका बारेमा समेत जानकारी लिनुभएको थियो ।





error: Content is protected !!