आरडीटी किट सकिँदा रोकियो परीक्षण

सुर्खेत ः र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट सकिँदा कोभिड–१९ को परीक्षण सुर्खेत, सल्यान र मुगुमा स्थगित भएको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अन्य जिल्लामा पनि आइतबारसम्मका लागि मात्र किट स्टक छ ।

निर्देशनालयका अनुसार पहिलो चरणमा करिब ५ हजार आरडीटी किट सबै जिल्लामा पठाइएको थियो। तीमध्ये शुक्रबारसम्म २ हजार ७ सय २४ को परीक्षण भई रिपोर्टसमेत आइसकेको छ। मुगु, खत्याडका एक जनाको बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। ‘अब थोरै किट मात्र स्टक छ,’ निर्देशनालयकी निर्देशक रीता भण्डारीले भनिन्।
सुर्खेतमा सबैभन्दा बढी १ हजार २ सय जनाको आरडीटी किटबाट परीक्षण भएको छ। सुरुमा १ हजार किट दिइएकामा अपुग भएपछि २ सय ६० थप गरिएको निर्देशक भण्डारीले बताइन्। मुगुको खत्याडमा एक जनामा ‘एन्टिबडी’ पोजिटिभ देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणमा तीव्रता दिने योजना बनाएको थियो। तर जिल्लामा पठाइएका १ सय ४० किट शुक्रबार सकिएपछि परीक्षण रोकिएको कार्यालय प्रमुख डा। निर्मल नगरकोटीले बताए। उनका अनुसार अहिले ७ वटा किटमात्र बाँकी छन्। ‘थप किट मागिरहेका छौं तर सुर्खेतमा पनि पर्याप्त छैन भन्ने खबर आएको छ,’ उनले भने।

निर्देशनालयले भने कालीकोट र जुम्लाका लागि पठाइएका किटबाट सयवटा मुगुमा पठाएको जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली ती किट लिएर शुक्रबार जुम्लाबाट मुगुतिर हिँडेको छ। डा। नगरकोटीका एन्टिबडी पोजिटिभ देखिएका खत्याडका ती व्यक्तिसँगै ५५ जना पनि गाउँमा पुगेका थिए। उनीहरूको अहिलेसम्म परीक्षण हुन सकेको छैन।

कालीकोटमा ४ सय किट पठाइएकामा शुक्रबारसम्म १ सय ६ वटाको परीक्षण भइसकेको छ। ६० किट मुगुका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए। उनका अनुसार चैत १ गतेसम्म ३ सय ३२ जना व्यक्ति भारतलगायत संक्रमित मुलुकबाट जिल्लामा भित्रिएका थिए। त्यसपछि आएका व्यक्तिको संख्या संकलन गरी अपडेट गर्ने काम भइरहेको छ। जिल्ला स्वास्थ्यले भने अपेक्षित रूपमा परीक्षण तीव्र पार्न सकेको छैन। प्रजिअ पौडेलले पहिलो चरणमा विदेशबाट आएका सबै व्यक्तिको आरडीटी किटबाट परीक्षण गर्न खोजिएको बताए।

सल्यानमा ६ सय किट पठाइएकामा शनिबारसम्म ८० किट मात्र स्टक छन्। जिल्लामा स्थानीय तहले संकलन गरेको तथ्यांकअनुसार लकडाउन अघि र पछि गरेर भारतलगायत देशबाट करिब ९ सय व्यक्ति भित्रिएका छन्। अहिले पनि मान्छे लुकिछिपी आउने गरेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालयले बिहीबारदेखि भारतलगायत देशबाट आएकाहरूको द्रुत परीक्षण सुरु गरेको थियो। शनिबारसम्म दार्मा, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, कुमाख र सिद्धकुमाख गाउँपालिकाका ५ सय १८ जनाको परीक्षण सकिएको जिल्ला स्वास्थ्य प्रमुख डा। अर्जुन बुढामगरले बताए। उनका अनुसार किट अपुग भएपछि शारदा, बागचौर, बनगाडकुपिण्डे र कालीमाटीमा परीक्षण हुन सकेको छैन।

‘विदेशबाट आएकामध्ये आधाको पनि परीक्षण हुन सकेको छैन,’ उनले भने, ‘हामीले प्रदेश स्वास्थ्य निर्देशनालयसँग किट मागेका छौं, आएपछि परीक्षण फेरि सुरु हुनेछ।’

जाजरकोटमा ३ सय किट पठाइएकामा विदेशबाट फर्किएका २ सय ५० जनाको परीक्षण सकिएको छ। किट अभाव भएपछि परीक्षण स्थगित भएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीका अनुसार भेरी, छेडागाड, नलगाड, जुनिचाँदे र शिवालय ,बारेकोटमा मात्र परीक्षण भएको छ।

डोल्पामा भने शुक्रबार बल्ल किट पुर्‍याइएको छ। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सिजन रावलका अनुसार स्थलमार्गबाट १ सय ४० सय किट पुर्‍याइएकामा पहिलो दिन ३ जनाको परीक्षण भएको छ। तीनै जनाको नतिजा नेगेटिभ आएको छ। उनका अनुसार क्वारेन्टाइनमा मात्र करिब १ सय ३० जना बसेका छन्। केही व्यक्ति भारतबाट समेत आएका छन्। भारतबाट आएका, क्वारेन्टाइनमा बसिरहेका र अन्य केही सम्भावितको परीक्षण गर्न पहिलो चरणमा करिब ५ सय किट चाहिने उनले बताए।

‘मेडिकल मार्च’ प्रभावित हुने चिन्ता
कर्णाली प्रदेश सरकारले आरडीटी किटसहित चिकित्सक र स्वास्थ्यकर्मीको संयुक्त टोलीलाई गाउँगाउँ परिचालन गर्ने योजना बनाएको छ। सामाजिक विकासमन्त्री दल रावलका अनुसार

‘मेडिकल मार्च’ नाम दिइने यो अभियानका लागि संघीय सरकारसँग तत्काल १० हजार किट माग गरिएको छ।

एकातिर ‘मेडिकल मार्च’ को योजना र अर्कोतिर अहिल्यै किट अभाव भएको अवस्थामा संघीय सरकारले भने ३ हजार किट मात्र पठाउने भएको छ। ती किट पनि कहिले सुर्खेत आउँछन् भन्ने थाहा नभएको निर्देशक भण्डारीले बताइन्।

मन्त्री रावलका अनुसार कर्णालीमा करिब २ सय जना चिकित्सक कार्यरत छन्। हाल अस्पतालका ओपीडी (बहिरंग) सेवा बन्द भई चिकित्सक र स्वास्थ्यकर्मी फुर्सदिला भएको अवस्थामा उनीहरूलाई गाउँमा पठाउने योजना बनाइएको मन्त्री रावलले बताए। ‘डाक्टरहरू गाउँ पुगे जनतामा रहेको त्रास हट्छ र कोभिड–१९ को पहिचानमा पनि मद्दत पुग्छ,’ उनले भने, ‘यसका लागि मन्त्रालयले चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीको लगत संकलन गरिसकेको छ।’ कर्णालीमा स्वास्थ्यकर्मीको अभाव रहेको भन्ने भ्रम हटाउन पनि मेडिकल मार्च अभियान थालिने उनको भनाइ छ। संघीय सरकारबाट मागेजति किट आउनेबित्तिकै स्वास्थ्यकर्मीको टोलीलाई परीक्षणका लागि परिचालन गरिने उनले बताए।

मन्त्री रावलका अनुसार प्रदेशबाट जाने चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीमा स्थानीयस्तरमा कार्यरत स्वास्थ्यकर्मी पनि समावेश हुनेछन्। लकडाउन अघि र पछि कर्णालीका धेरै मान्छे भारतबाट गाउँमा पुगेकाले मेडिकल टिम पठाएर आरडीटी किटबाट परीक्षण गरेपछि मात्र कोभिड–१९ को वास्तविक जोखिम थाहा हुने उनले बताए कान्तिपुरमा खवर छ ।





error: Content is protected !!