कोरोनाबाट बच्न वृद्धबृद्धा र दीर्घरोगीले के गर्ने ?

डा सञ्जीव तिवारी, फेमिली फिजिसियन
बुढाबुढी र दीर्घरोगीलाई कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम हुने गर्छ । यो रोगको सम्बन्ध प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित छ । युवासँग रोगसँग लड्ने क्षमता बढी हुन्छ । तर, बृद्धबृद्धामा यो क्षमता कम हुन्छ ।
कारण
जति उमेर ढल्किदैँ गयो त्यति नै प्रतिरोधात्मक क्षमता कम हुन्छ । वृद्धवृद्धालाई शारीरिक तागत कम हुन्छ । खान मन लाग्दैन र पचाउनसमेत कठिन हुन्छ । यस्तै विविध कारणले गर्दा आयु घट्दै गइरहेको हुन्छ । त्यसैगरी, शरीरका कोषहरू खुम्चिँदै जान्छन् । यसले गर्दा पनि प्रतिरोधात्मक क्षमता कम हुँदै जाने गरेको हो । यस्तो अवस्थामा रोग लाग्ने सम्भावना बढी हुनुका साथै रोग निको हुन पनि समय लाग्छ ।
त्यस्तै, दीर्घरोगीलाई पनि कोरोनाको जोखिम बढी हुन्छ । प्रतिरोधात्मक क्षमता कम भएर नै उनीहरूलाई रोग लागेको हुन्छ । रोगका कारण नै प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । जसकोे प्रतिरोधात्मक क्षमता नै कम हुन्छ तिनीहरूलाई नै रोग लाग्ने सम्भावना बढी हुने हो । साथै, धेरै औषधि खानाले रोगसँग लड्ने क्षमता कम भएको हुन्छ । प्रतिरोधात्मक क्षमता कम हुँदा रोगको संक्रमणसमेत बढी हुने गर्छ ।
बच्ने उपाय
यस्ता व्यक्ति सकेसम्म घरबाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए पनि मास्क अनिवार्य लगाउने ।
सामाजिक दूरी कायम गर्ने र बाहिरको मान्छेको सम्पर्कमा नआउने ।
बजारमा सामान किन्न जाँदा स्यानिटाइजर लगेर जाने र कुनै सामान छुँदा स्यानिटाइजर लगाउने ।
नियमित साबुनपानीले हात धुनुपर्छ ।
अहिलेको अवस्थामा घरबाहिर निस्किएर काम गर्दा कम सक्रिय हात प्रयोग गर्ने गर्नुपर्छ । जस्तै, सामान्य अवस्थामा दायाँ हातले केही सामान छुनुहुन्थ्यो भने अहिले त्यसको साटो बायाँ हात प्रयोग गर्ने । किनकि, कम सक्रिय हुने हात मुख, नाक र आँखामा कम जाने सम्भावना हुन्छ । यसले गर्दा संक्रमणको जोखिम पनि कम हुन्छ ।
घरमा रहँदा पनि सकेजति एक्सरसाइज गर्ने तथा पौष्टिक खानेकुरा खाने ।










