गाउँमै मकै खरिद गरेर विपन्नलाई राहत

जाजरकोट , बारेकोट गाउँपालिकाले आयतित खाद्यान्नलाई विस्थापित गरी स्थानीय रुपमा उत्पादन गरिएको मकै खरिद गरेर विपन्न नागरिकलाई राहत दिन लागेको छ ।

दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारलाई लामो समयको लकडाउनका कारण दैनिक हातमुख जोर्न समस्या परेको गुनासो आएपछि गाँउपालिकाले स्थानीय स्तरमै उत्पादित अन्न राहत दिने निर्णय गरेको हो । गाँउमा उपलब्ध मकै खरिद गरेर राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

गाउँमै रहेको अन्न(मकै) किनेर प्रतिपरिवार पाँच पाथीका दरले उपलब्ध गराईने अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । विपद ब्यवस्थापन कोषबाट खाद्यन्न ब्यवस्थापनका लागि प्रति वडा डेढ लाखका दरले रकम उपलब्ध गराउने र वडाले सम्बन्धित वडा वा अर्को वडाबाट मकै किनेर विपन्न तथा मजदुरको पहिचान गरेर पाँच जना सम्मको परिवारका लागि प्रतिपरिवार पाँच पाथी मकै, आधा लिटर तेल र एक केजी नुन उपलब्ध गराईनेछ ।

कम्तिमा एक महिनाका लागि पुग्ने करीव साढे आठ सय परिवारलाई खाद्यन्न दिने गरि वडा समितिलाई जिम्मा दिईएको अध्यक्ष शाहले बताउनुभयो । उहाँले भन्नुभयो , ”त्यसको लागी पहिलो चरणमा करीव तीन सय क्वीन्टल मकै आवश्यक पर्छ ,जुन गाउँपालिकामै मौज्दात रहेको छ । ”

बारेकोटमा धान उत्पादन निकै कम हुने गर्दछ । गहँु र जौ पाकेका छैनन् । मकै प्रसस्त उत्पादन हुन्छ तर मकै पशुलाई खुवाउन र जाँड रक्सी बनाउन प्रयोग गर्ने गरिन्छ । स्थानीय रुपमा उत्पादिन अन्न अन्य प्रयोजनमा खेर जाने तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने कुरालाई निरुत्साहित गर्न गाँउमै उत्पादिन मकै राहत दिने निर्णय गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

स्थानीय उत्पादनमा जोड दिईरहेको गाँउपालिकाले कृषि उत्पादनमा जोड दिन विशेष अनुदान दिने कार्यक्रम अघि सार्ने तयारी गरेको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिंहले बताउनुभयो । बर्षेनी खाद्य संकटको समाचार आउने बारेकोटमा खाद्य संकट नभएर भात(चामल) संकट भएको सिंहले बताउनुभयो । भाते बानीमा सुधार गरि स्थानीय अन्न उपयोगमा जोड दिने गाउँपालिकाको नीति रहेको उहाँले बताउनुभयो । चामल भन्दा मकै सस्तो पर्ने भएकाले कम रकममा धेरै खाद्यान्न खरिद गरी धेरै पर्याउन सक्ने गाउँपालिकाको योजना छ ।

अन्य स्थानीय तहले नेपाल खाद्य संस्थान र सुर्खेत , नेपालगञ्जबाट चामल ल्याएर वितरण गरेका छन् । शिवालय गाउँपालिकाले १५० घरधुरीलाई चामल वितरण गरेको छ । नलगाड नगरपालिकाले चामल नै उपलव्ध गराउदै आएको छ । जुनिचाँदे गाउँपालिकाले खाद्य संस्थानको चामल उपलव्ध गराएको छ । छेडागाड र कुशे गाउँपालिकाले राहत दिने कुनै शुरसार नै गरेको छ्रैन ।

यस्तै डोल्पामा राहत वितरणको काम सुरु गरिएको छ । ठुलीभेरी नगरपालिकाका बिभिन्न वडाहरुमा राहत बितरण सुरु गरिएको हो । नगरपालिका– ६ मा आज १३० बिपन्न घरपरिवारलाइ राहत बितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिनुभयो ।

अध्यक्ष बुढाका अनुसार प्रतिघरपरिवार ३० केजी चामल,एक पोका तेल र दुई पोका नुन बिपन्न तथा दलित घरपरिवालाइ वितरण गरिएको हो । सरकारले गरेको ‘लकडाउन’ले दैनिक ज्यालादारी गरेर छाक टार्नेहरुको चुलो बल्न समेत कठिन भएको भन्दै गाउँमै पुगेर राहत वितरण गर्न सुरु गरिएको हो ।

हाल सम्म ठुलीभेरी नगरपालिकाका वडा नम्बर ५,६,७,८ र ९ मा मात्र राहत वितरण भएको वडाध्यक्ष बीरमलकुमार भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी काईके ,जगदुल्ला,मुड्केचुला लगायतका गाउँपालिकामा समेत राहत वितरणका गर्ने क्रम सुरु भएको छ ।





error: Content is protected !!