कर्णाली प्रदेश – सामुदायिक अस्पताललाई अब्बल औषधि र उपकरण खरिद गरिँदै

कोरोना भाइरसको संकटलाई टार्नका लागि कर्णाली प्रदेशका सामुदायिक अस्पतालमा प्रदेश सरकारले एकैपटक साढे आठ करोडको औषधि र उपकरण खरिद गर्न लागेको छ।

विश्वभर फैलिएको महामारीको संकटबाट बच्न सबै अस्पतालहरुमा दक्ष जनशक्ति र प्रविधिलाई थप व्यवस्थापन गर्न अत्यावश्यक औषधि र उपकरणहरु खरिद गर्न थालिएको हो। सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ६ करोड विकासतर्फको बजेट रकमान्तर गरेर औषधिका लागि स्थानीय तह, जिल्ला अस्पताल र डेडिकेटेड अस्पतालमा दिएको छ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव धर्मजित शाहीका अनुसार कर्णाली प्रदेशका विशेष अस्पताल प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक–एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बराबरको औषधि उपकरण खरिद गर्न लागिएको छ। त्यस्तै प्रदेशका १० वटै जिल्ला अस्पताल र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पनि औषधि उपकरण खरिद गर्न गृहकार्य थालेको मन्त्रालयले जनाएको छ। जिल्ला अस्पतालहरुलाई औषधि र उपकरण खरिदका लागि ३० देखि ४० लाख बराबरको रकम मन्त्रालयले उपलब्ध गराएको छ।

मन्त्रालयले जिल्लाको जनसंख्याको आधारमा अस्पतालहरुलाई औषधि उपकरणका लागि बजेट दिएको हो। यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले पनि अत्यावश्यक औषधि खरिद गर्न लागेको जनाएको छ। अत्यावश्यक औषधि उपकरण जस्तै भेन्टिलेटर, आइसीयु, एनआइसीयुमा प्रयोग हुने उपकरण र मास्क, ग्लोब्स, पीपीई सेट लगायतका सामग्री खरिद गर्ने तयारी गरिएको छ। निर्देशनालयले खरिद गरेका औषधिहरु भने जिल्ला अस्पतालदेखि स्थानीय तहलाई आवश्यकता अनुसार दिइनेछ।

वीरेन्द्रनगरको क्वारेन्टाइनमा ३५ जना राखियो

प्रदेश सरकारको सहयोग तथा नेपाली सेनाको व्यवस्थापनमा निर्माण गरिएको वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा ३५ जना राखिएका छन्। नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि गएकाहरुलाई मंगलबार मध्यराति क्वारेन्टानमा राखिएको हो। उनीहरु केही दिनअघि सुर्खेत–बर्दियाको सीमा बबईमा आएर रोकिएका थिए।

क्वारेन्टाइनमा राखिएकाहरुमा ३३ पुरुष, एक जना महिला र बच्चा छन्। यीमध्ये दैलेखका १०, जाजरकोटका ८, सुर्खेतका ६, सल्यानका ५, जुम्लाका ३, अछामका २ र रुकुमपश्चिमका एक जना छन्।

मकवानपुर, सप्तरी, रुपन्देही लगायतका जिल्लाबाट आएका उनीहरुबाट थप संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाउन क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सबै जिल्लामा र्यापिड टेष्ट

कोरोनाको परीक्षणको द्रूत प्रविधि अर्थात् र्यापिड टेष्ट कर्णालीका सबै जिल्लामा सुरु भएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डोल्पाबाहेक सबै जिल्लामा र्यापिड टेष्ट सुरु भएको हो। आइतबारमात्रै हुम्लामा २५, सुर्खेतमा दुई २२, जाजरकोटका ११, रुकुमपश्चिममा दुई र सल्यानमा २२ जनाको टेष्ट गरिएको छ।

कालिकोट, जुम्ला, मुगु, र दैलेखमा र्यापिड टेष्ट सुरु भएको छ। डोल्पामा भने आजबाट मात्र र्यापिड टेष्ट सुरु हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्। विदेशबाट आएका नागरिकको तथ्याङ्कका आधारमा सबै जिल्लामा र्यापिड टेष्ट किट पठाएको छ। कर्णाली प्रदेशमा पहिलो चरणमा पाँच हजार जनाको र्यापिड टेष्ट गरिनेछ।

चैत महिनायता भारतबाट आएका सबैको अनिवार्य रुपमा र्यापिड टेष्ट गरिने निर्देशनालयको भनाइ छ। कोरोनाको सम्भावित लक्षण देखिएका र विदेशबाट आएका नागरिकलाई भने स्वाब संकलन गरेर पिसिआर मेसिनबाट कोरोनाको परीक्षण गरिने छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् एक हजार दुई सयभन्दा बढीको र्यापिड टेष्ट गरिने निर्देशनालयले जनाएको छ।

एक सय ९८ रिपोर्ट नेगेटिभ

कर्णाली प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। सुर्खेत र काठमाडौंको ल्याबमा गरी हालसम्म एक सय ९८ जनाको नमूना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यले जानकारी दिए।

परीक्षण गरिएका नमूनामध्ये सुर्खेतमा एक सय ३८ र काठमाडौंमा ६० जनाको हो। हालसम्म काठमाडौंमा परीक्षणमा पठाइएका दुई सय ९६ जनाको नमूनामध्ये ६० जनाको मात्रै रिपोर्ट आएको इन्चार्ज आचार्यले जनाए।

नमूना परीक्षणका लागि सुदुरपश्चिम पठाइयो

कर्णालीको सुर्खेतमा कोरोना भाइसरको परीक्षण गर्ने प्रदेश प्रयोगशालाको आरटी–पीसीआर ९रियल टाइम पोलिमरेज चेन रियाक्सन० मेसिनको क्षमता न्यून भएपछि परीक्षणका लागि एक सय पाँच जनाको नमूना सुदुरपश्चिम प्रदेशको धनगढी पठाइएको छ।

चैत ३१ गते संकलित एक सय पाँच वटा नमूना परीक्षणका लागि धनगढी पठाइएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन्। धनगढीमा कोरोना परीक्षण गर्ने मेसिनको क्षमता बढी भएपछि कर्णालीले सहयोग मागेको उनको भनाइ छ।





error: Content is protected !!