इतिहासमा आज – गोली लागेर ९ घण्टा तड्पिएपछि अब्राहम लिंकनको निधन

आज १५ अप्रिल । सन् १८६५  (सच्याइएको) मा अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनको आजैका दिन निधन भएको थियो । १४ अप्रिलमा वासिङ्टन डिसीमा फोर्डस्थित नाटकघरमा नाटक हेर्न जाँदा उनीमाथि चर्चित कलाकार जोन विल्केस बुथले टाउकोमा गोली हानेका थिए । यसपछि ९ घण्टासम्म अब्राहमलाई बचाउन गरिएको प्रयास सफल हुन सकेन । १५ अप्रिलको बिहान ७ बजेर २२ मिनेटमा लिंकनले प्राण त्यागे । अब्राहम लिंकन हत्या गरिएका पहिलो अमेरिकी राष्ट्रपति बने भने एन्ड्रियु जोनसोन अमेरिकाको नयाँ राष्ट्रपति ।

लिंकनले गरेका सुधारका कामका अभिनेता विल्केसलगायत समाजको ठूलो वर्गमा असन्तुष्टी थियो । उनको हत्या एउटा ठूलो योजनाको हिस्सा थियो । जसमा लेविस पावल र डेभिड हेरोल्डलाई स्क्रेटरी अफ स्टेट विलियम एच सेवार्ड र जर्ज एटजरोड्टलाई उपराष्ट्रपति जोनसनको पनि हत्या गर्ने जिम्मा दिइएको थियो । उनीहरु अमेरिकी सरकारका तीन प्रमुख व्यक्तित्वको सफाया गरेर अमेरिकी गृहयुद्धको अन्त्यतिर कन्फेडरेटलाई ब्युँताउन चाहन्थे ।

तर, यो योजना सफल भएन । सेवार्ड घाइते मात्र भए भने जोनसोनको हत्या गर्ने जिम्मा पाएकाले साहस नै जुटाउन सकेनन् ।

लिंकनमाथि गोली प्रहार गरेर बुथ त्यहाँबाट भाग्न सफल भए पनि १२ दिनपछि उनी पनि प्रहरी कारवाहीमा मारिए । पावेल, हेरोल्ड, एटजरोड्ट र मेरी सुराटलाई यो योजनाको हिस्सा भएको आरोपमा मृत्युदण्ड दिइयो ।

लिंकनले नै अमेरिकाको संविधानबाट दास प्रथा हटाएर सबैलाई स्वतन्त्र बनाएका थिए । युरोप र अमेरिकामा प्रचलनमा गरेको दास प्रथा (अफ्रिकी तथा अन्य पिछडिएका समुदायको खरिद–बिक्री) त्यो समयमा संविधानबाट हटाउनु चानचुने पक्कै थिएन । संविधानमा दासप्रथा अन्त्य भएपनि केही राज्यमा थप १ सय १० वर्षसम्म यो कायम नै रह्यो ।

उनकै विवेकसम्मत निर्णयका कारण गृहयुद्धका कारण विभाजनको संघारमा पुगेको अमेरिका एकीकृत नै रह्यो । संघीय सरकारलाई बलियो बनाउन र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न लिंकनले ठूलो भूमिका खेलेका थिए ।

– १४ अप्रिल, १९१२ मध्यरातमा हिमपवर्तमा ठोक्किएर दुर्घटनामा परेको टाइटेनिक जहाज बिहान हुँदासम्म पूर्ण रुपमा डुबिसकेको थियो । यसमा सवार झन्डै २ हजारमध्ये १५ सयभन्दा बढी समून्द्रमा डुबेर बेपत्ता भए ।

–सन् १९९४ मा विश्व व्यापार संगठनको स्थापनापछि १ सय २३ देशद्वारा यसको सन्धीमा हस्ताक्षर ।

– सन् २००२, दक्षिण कोरियाको बुसान नजिकको एक पहाडी इलाकामा भारी वर्षा र कुइरोका कारण एयर चाइनाको विमान दुर्घटना, १ सय २८ जनाको मृत्यु ।

–सन् २०१२ पाकिस्तानको एक जेलमा हमलापछि ४ सय आतंकवादी फरार ।





error: Content is protected !!