कोभिड–१९ महामारीविरूद्ध लड्न जो पुनः मेडिकल पेसामा फर्किए

कोरोना भाइरसको महामारीले सर्वसाधारणबाहेक स्वास्थ्य सेवाको अग्रमोर्चामा रहेका दर्जनौँ चिकित्सक तथा नर्सको पनि ज्यान गएको छ । उपचारमा खटिएका हजारौँ स्वास्थ्यकर्मी बिरामी परेका छन् । अरू हजारौँ स्वास्थ्यकर्मी आइसोलेसनमा छन् । स्वास्थ्य क्षेत्रमा संकट आइरहेका वेला आयरल्यान्ड, हंगेरी बेलायत, फ्रान्सलगायत देशका राजनीतिज्ञ, समाजसेवी, मोडललगायतले हाल आफूले अँगालिरहेको पेसा त्यागेर पुनः स्वास्थ्य सेवामा फर्किएका छन् । यसरी फर्किनेमा आयरल्यान्डका कार्यवाहक प्रधानमन्त्रीदेखि यसैवर्ष मिस इंग्ल्यान्डको ताज पहिरिएकी सुन्दरीसमेत छन् । उनीहरूको पुनरागमनले स्वास्थ्य क्षेत्रमा देखिएको चिकित्सक तथा नर्सको अभावमा केही राहत हुने अपेक्षा गरिएको छ । प्रस्तुत छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको एक रिपोर्टः

आयरल्यान्डका कार्यवाहक प्रधानमन्त्री लियो भरदकर राजनीतिमा प्रवेश गर्नुअघि प्रख्यात चिकित्सक थिए । तर, कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै उनी पुनः पुरानै पेसामा फर्किने भएका छन् । यही मार्चमा आयरल्यान्डको कार्यकारी स्वास्थ्य सेवा ९एचएसई० मा मेडिकल प्राक्टिसनरका रूपमा पुनः नाम दर्ता गरेका भरदकरले साताको एक सिफ्ट अस्पतालमा सेवा गर्नेछन् ।

स्वास्थ्य क्षेत्रमा संकट आइरहेका वेला आयरल्यान्ड, हंगेरी बेलायत, फ्रान्सलगायत देशका राजनीतिज्ञ, समाजसेवी, मोडललगायतले हाल आफूले अँगालिरहेको पेसा त्यागेर पुनः स्वास्थ्य सेवामा फर्किएका छन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीसमेत बिरामी भएर धमाधम ज्यान गइरहेका वेला उनको कदमलाई चौतर्फी प्रशंसा गरिएको छ । एचएसईले केही साताअघि मेडिकल पेसा छोडेर अन्य पेसामा लागेका व्यक्ति र सेवानिवृत्तलाई पुनः स्वास्थ्य क्षेत्रमा फर्किन आह्वान गरेको थियो । सोही आह्वानबमोजिम प्रधानमन्त्रीलगायत ७० हजारले निवेदन दिएका थिए ।

सात वर्ष चिकित्सकका रूपमा सेवा गरेपछि सन् २०१३ मा उनले मेडिकल पेसा त्यागेका थिए । सन् २०१७ मा उनी देशकै कान्छा प्रधानमन्त्री बनेका थिए । भरदकरले कोभिड–१९ का बिरामीको उपचार गर्ने जनाइएको छ । सोमबारसम्म आयरल्यान्डमा पाँच हजारजनामा कोरोना संक्रमण देखिएको छ भने एक सय ७४ जनाको मृत्यु भएको छ । देशभर जमघटमा प्रतिबन्ध लगाइएको छ । सम्पूर्ण विद्यालय, विश्वविद्यालय, बालबालिकाको उपचार गर्ने केन्द्र बन्द छन् भने अत्यावश्यकीय सेवाका कामदारलाई हिँडडुल गर्न अनुमति दिइएको छ ।

भरदकरका गुरु ब्रेन्डान ओ सिअ चिकित्सकका रूपमा भरदकर निकै क्षमतावान् भएको बताउँछन् । ‘उनी सहकर्मीसँग मिलेर काम गर्थे र बिरामीलाई पनि राम्रो व्यवहार देखाउँथे । उनी सिंगो स्वास्थ्य टिमका एउटा असल खेलाडी हुन्,’ सिअले भने । एकपटक भरदकरले आफ्ना गुरु ओ सिअलाई आफ्नो अनुभव यसरी सुनाएका थिए, ‘चिकित्सकका रूपमा तपाईंले भनेका जुनसुकै कुरा जनताले पत्याउँछन्, तर राजनीतिज्ञका रूपमा एउटा शब्द पनि पत्याउँदैनन् ।’

मिस इंग्ल्यान्ड २०१९ ले पुनः जाँच्नेछिन् बिरामी

सन् २०१९ मा मिस इंग्ल्यान्डको ताज पहिरिएकी बेलायती सुन्दरीले पनि पुनः चिकित्सा सेवामा फर्किने निर्णय गरेकी छिन् । कोराना भाइरसको महामारी अनियन्त्रित भएसँगै बेलायती सुन्दरी वासा मुखर्जीले सो निर्णय गरेकी हुन् ।

सन् २०१९ मा मिस वर्ल्डमा प्रतिस्पर्धा गरेसँगै उनले चिकित्सकीय पेसामा केही समय ब्रेक लगाएकी थिइन् । मिस इंग्ल्यान्डमा विजयी भएपछि मिस वल्र्डमा उनले बेलायतको प्रतिनिधित्व गरेकी थिइन् । विभिन्न दातृ निकायको दूत बनेकी उनी यस वर्षको अगस्टसम्म मानवीय कार्यका लागि अनुबन्धित थिइन् । ‘मलाई अफ्रिका, टर्की, भारत, पाकिस्तानलगायत अन्य एसियाली देशमा च्यारिटी वर्कका लागि दूतका रूपमा निमन्त्रणा गरिएको थियो,’ उनले भनिन् । तर, अहिले ती सबै कार्यक्रम स्थगित छन् ।

मार्चको सुरुमा २४ वर्षीय मुखर्जी कोभेन्ट्री मर्सिया लाइन्स क्लबका तर्फबाट चार साताका लागि भारत आएकी थिइन् । तर, आफ्नो देशमा कोरोना भाइरस संक्रमणको जोखिम अनियन्त्रित बनेसँगै पहिले काम गर्ने अस्पतालका पूर्वसहकर्मीले उनलाई चिकित्सकीय पेसालाई निरन्तरता दिन आग्रह गरे । उनलाई पूर्वी बेलायतको पिलग्रिम हस्पिटलका साथीहरूले काममा फर्किन अनुरोध गरे । तत्कालै मुखर्जीले अस्पतालको व्यवस्थापन समूहलाई सम्पर्क गरेर काममा फर्किने इच्छा व्यक्त गरिन् ।

विश्वभरमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु भइरहेका वेला आफू मिस इंग्ल्यान्डको ताज बोकेर रमाइरहनु असान्दर्भिक भएको उनको भनाइ छ । नौ वर्षको उमेरमा कोलकत्ताबाट आयरल्यान्डको सहर डेरबाई पुगेकी उनले भनिन्, ‘अहिले मलाई मिस इंग्ल्यान्डको भूमिकामा रहनुभन्दा पनि देशको सेवा गर्नु छ ।’ मुखर्जी यसै बुधबार भारतमा आफ्ना कार्यक्रम स्थगित गरी स्वदेश फर्किएकी थिइन् ।

युरोपेली युनियनकी सांसद सेच बनिन् स्वयंसेवक

युरोपेली संसद्की सदस्य तथा हंगेरिकी राजनीतिज्ञ काटालिन सेच पनि हंगेरीको राजधानी बुढापेस्टको एक अस्पतालमा स्वयंसेवक बनेकी छिन् । ३१ वर्षीय सेचले हंगेरीका अस्पतालमा निकै न्यून संख्यामा कोरोना परीक्षण भइरहेको गुनासो गर्दै आएकी छिन् ।

क्यानडेली मूलकी सेच हंगेरीको मोमेन्टम मुभमेन्ट पार्टीका तर्फबाट सन् २०१९ को संसदीय निर्वाचनमा युरोपेली संसद्का लागि निर्वाचित भएकी थिइन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेचले हेल्थ इकोनोमिक्स, पोलिसी एन्ड लमा स्नातकोत्तरसमेत गरेकी छिन् ।

फ्रान्सेली राजनीतिज्ञको समूह नै स्वास्थ्य सेवामा फर्कियो

फ्रान्समा पनि अहिले राजनीतिज्ञको एउटा समूह नै पुनः स्वास्थ्य सेवामा फर्किएको छ । सत्तारूढ दल रिपब्लिक इन मार्चीका तर्फबाट त्यहाँको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसद थोमस मेसनिरले पुनः स्वास्थ्य सेवामा फर्किने घोषणा गरेका छन् । ३४ वर्षीय थोमसले बिरामीको उपचार गर्नेछन् । राजनीतिमा आउनुअघि उनी चिकित्सक थिए ।

त्यस्तै ला फ्रान्स इन्सोउमाइज पार्टीका ४३ वर्षीय सांसद क्यारोलाई फिटले पनि स्वास्थ्य सेवामा फर्किने घोषणा गरेका छन् । उनी नर्सको भूमिकामा अस्पतालमा सेवा गर्नेछन् । त्यस्तै, सोसलिस्ट पार्टीका सिनेटर बर्नाड जोमियर र अर्का सिनेटर भरोनिक्वु गिउलोटिन पनि स्वास्थ्य सेवामा फर्किएका छन् । उनीहरू दुवै चिकित्सक हुन् ।





error: Content is protected !!