डांगीवाडाको पीडा – बेफुर्सदी धारामा भारी रटान

डोल्पा , विकास र संमृद्धीको रटान दिई नथाक्ने हामी ? सवै सुविधा र आरामको जिन्दगी जिउन चाहाने उत्कट चाहाना र विचार बीचमा हामी बाँचिरहदा हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिका –८ र ९ स्थित डांगीवाडा रहेको धाराको पीडा भने सही नसक्नु छ ।
सधै बेफुर्सदी रहेको यो पानीको धारा आफैमा विरामी छ तर माननीय क्रियाकलाप भने थेग्नै पर्ने बाध्यता पनि उ सामु छ । सुविधा लिने तर भौतिक पुर्वधारको मर्मत तर्फ ध्यान नदिने निष्टुर मानविय क्रियाकलापले गौरीधाराका आँसु सधै बगिरहेका छन् तर पुछिदिने कोही छैन । बाग्लो मानवीय वस्ती रहेको डांगीबारामा दुनियाँको शरीर मात्र होईन , तिर्खा देखि मन समेत शान्त पार्ने सम्म काम यही बाट हुँदै आएको छ ।
दैनिक १ हजार सर्वसाधारणको साझा बन्दै आएको छ । गाउँभरीका सर्वसाधारणहरुले एकै धारा प्रयोग गर्दा मानिसहरुको घुईचो नै लाग्ने गरेको स्थानीय लालचन्द्र डांगीले बताउनुभयो । धाराको पानीका लागि पालो कुरेर बस्दा , बस्दा हैरान हुँने अवस्था रहेको समेत उहाँको भनाई छ । अर्का शेषमान शाहीको पीडा समेत कम छैन । उहाँ थप्नुहुन्छ , “ पानी लिन आउदा होस वा , नुहाउन आउदा होस , सवै काम हतारमा गर्नुपर्ने हुन्छ , किनकी अर्को साथी पालो कुरेर बसेको हुन्छ । ” यो पीडालाई जनदवावको रुपमा वुझेको वडा अध्यक्ष बीरमल कुमार भण्डारीले अव नयाँ योजना बनाउदा यसलाई पहिलो प्राथमिकतामा राखेर काम हुँने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष भण्डारीका अनुसार प्रतिघर खानेपानीको धाराको अवधारणमा जानुपर्ने बताउनुभयो । उसो त लालचन्द्र डांगीको पीडा अलि फरक छ उहाँ भन्नुहुन्छ , “ वजेट नआएको होइन ,आएको वजेट काम गरेजस्तो गरे ,सवै खाए ४वटै टोलमा ४वटा धारामा १,२दिन पानी आयो,बन्द भयो ।” पानीको स्रोत खाजेर ढल निकास गर्ने ,ठुलो ट्यांकी निर्माण गरी सवैलाई पुग्ने गरी योजना बनाएर काम गर्नुपर्ने नगरप्रमुख गणेशबहादुर शाहीको तर्क छ ।










