पानीकै अभावमा कसरी धोइरहने हात ?

एजेन्सी । पछिल्ला केही महिनामा हामीले सबैतिर बारम्बार सुन्दै आएका छौँ– “साबुन पानीले नियमित हात धोइरहनुपर्छ ।”
अझ विश्व स्वास्थ्य संगठनले त कम्तिमा पनि २० सेकेन्ड मज्जाले धोइरहन सुझाव दिएको छ ।
अहिले किटाणुको संक्रमणविरुद्ध लड्न यही तरिका सबैभन्दा उपयुक्त हुने भनिएको छ ।
तर चिकित्सकहरुले भनेअनुसार गर्ने हो भने हरेकचोटी हात धुँदा औसतमा पनि २ लिटर पानी खर्च गर्नुपर्ने हुन्छ ।
यसरी प्रतिव्यक्ति दैनिक १५ देखि २० लिटर हात धुनमै खर्च गर्न सक्ने, पानी आफूहरुसँग नभएको वाटर इनिसिएटिभ ओडिसा (भारत)का कन्भर्नर रन्जन पाण्डे बताउँछन् ।
यसरी विश्वका २।२ अर्ब मानिसहरु अहिले खानेपानीबाट वञ्चित छन् भने हात धुने पानीको त कुरै नगरौँ ।
विशेषगरी कम र मध्यम आय भएका देशहरुमा पानीको चरम अभाव रहेको हुँदा कोरोनाविरुद्ध हात धुनु उनीहरुका लागि अर्को ठुलो युद्धसमान अवस्था बनेको छ ।
खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित प्रणालीलगायत विभिन्न कारणले यी देशहरुमा पानीको अभाव हुने गरेको छ ।
यस्तोमा साबुन पानीले हात धोइरहनुले कोरोनासँग लड्नमा उल्लेखनीय भूमिका खेल्ने चिकित्सकहरुले धेरैपटक बताइसके पनि त्यहाँका नागरिकहरुका लागि बारम्बार हात धुनु लक्जरी समान कुरा बन्न पुगेको छ ।
यसमा पनि हात धुँदा खानेपानी समान सफा र बगिरहेको धारामा धुन भनिएको छ जसपछि मात्र किटाणु पखालिन्छ । तर गरिबहरुका लागि त्यसरी हात धुनु धेरै महङ्गो र दिर्गकालीन रुपमा सम्भव छैन ।
यस्तोमा सार्वजनिक स्थलमा हात धुने ठाउँ निर्माण गर्नु सबैभन्दा उपयुक्त हुने बताइएको छ ।
जस्तै २०१४ मा इबोला भाइरस प्रकोपका बेला पश्चिम अफ्रिकामा ठाउँठाउँमा हात धुने ठाउँ बनाइएको थियो ।
सरसफाइ र पानीको अभाव त्यसबेला सबैका लागि गम्भीर चिन्ताको विषय बनेको थियो ।
त्यो समय अफ्रिकाका अविकसित क्षेत्रमा यो समस्याको समाधान असम्भव ठानिएको थियो ।
यस्तोमा क्लोरिनको प्रयोग सबैभन्दा प्रभावकारी साबित भयो । क्लोरिनले धेरै किटाणुहरु मार्ने हुँदा हात धुने पानीमा यसको प्रयोग गरिएको थियो । यसरी यी मुलुकहरुमा अहिलेका अति प्रभावित क्षेत्र जसरी साबुनको कुनै कमी छैन तर पानी पाउन चाहिँ उनीहरुले ठूलै संघर्ष गर्नुपर्छ ।
भारतको कर्नाटकमा बस्ने ५२ वर्षीया यशोदा आफ्ना पति, चार छोराछोरी, कुकुर, बिरालो र एउटा कुखुरा पालेर १५० वर्ष पुरानो पुर्ख्यौली घरमा बसेकी छन् ।
उनको घर समुद्रबाट ५०० मिटर टाढा छ र इनारमा आउने पानी नुनीलो भएकाले उनी सरकारले दिनमा दुईपटक दिने गरेको ड्रमको पानीमा निर्भर छन् ।
तर त्यो पानी सरकारले भने जसरी नियमित आपूर्ति नहुँदा कतिपय अवस्थामा उनी हप्तौँ बिनापानीको गुजारा गर्नुपर्ने हुन्छ ।
यस्तोमा उनले छरछिमेक र साथीकहाँ गइ पानी मागेर ल्याउने गरेको बताउँछिन् ।
यसरी भारतमा मात्र ८ करोड बढी मानिसहरुले पानीको चरम अभावमा बाँचिरहनु परेको छ ।
विशेषगरी ६ देखि ८ जनासम्मको ठूलो परिवारका लागि पानीको दैनिक उपभोग धेरै सीमित गराउनुपर्ने हुन्छ ।
अर्थात् राम्ररी हात धुने हो भने पाँचजनाको परिवारलाई मात्र दिनमा १०० लिटर आवश्यक पर्छ जुन उनीहरुका लागि केबल सपनासरह हुन्छ ।










