माईकसँग प्रहरी र स्वास्थ्यकर्मीको जोडियो साईनो !


हेमन्त केसी

जाजरकोट ः कल्पना रोकाय अर्थात बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी ! उहाँ दैनिक स्वास्थ्य संस्थामा विरामीको हेरदेखका साथै अग्ला अग्ला डाडा र गाउँ चाहार्दै प्रहरीको साथमा हप्ता दिन देखि दैनिक माईक मार्फत सन्देश प्रवाह गदै हिडिरहनुभएको छ ।

रोकायको यो रहर नभई बाध्यता बनेको छ । कल्पनाको साथमा नावालक बच्चा पनि रहेको छ । उहाँ बच्चाको माया भन्दा अहिले गाउँमा कोरोना भाईरसको विरुद्धमा जनचेतना फैलाएर सयौँ सर्वसाधारणको जीवन बचाउने अभियानका जुट्नु भएको छ । बारेकोट गाउँपालिका सूचना र सञ्चारको पहुँच नभएको स्थानीय तह रुपमा स्थापित छ ।


यहाँ सजिलै फोन गर्न र रेडियो सुन्न सकिने अवस्था छैन । फोन गर्न अग्ला डाडा र रेडियो सुन्न समेत अग्ला डाडाकै सहारा लिनुपर्दछ । वरीपरी अग्ला डाडाहरुको बीचमा थोरै समथर रहेको लिम्सामा गाउँपालिकाको प्रसासकीय कार्यालय छ । सोही गाउँबाट दैनिक कल्पना लगायत उहाँको साथमा आधा दर्जन प्रहरी र स्वास्थ्य सहकर्मीहरु माईक , डेग साथमा लिएर , देख्दै त्यहाँ कहिले पुगिएला जस्तो अजङ्ग पहाड डाडा कुल्चिदै गाउँका सर्वसाधारणलाई कोरोना भाईरसका बाट बच्ने उपायका बारेमा सन्देश प्रवाह गरिरहनुभएको छ ।

दिनभरी सन्देश प्रवाह गरी बेलुका स्वास्थ्य संस्थामा पुगी भोली विहानै कुन गाउँमा गएर सन्देश प्रवाह गर्ने सल्लाह सहित सवै टिम छुटिने गर्दछ । भोली विहान सोही पुरानो सन्देश र मिडियामा आएका समाचारको चर्चा गदै फेरी अग्ला डाडासँग पौठेजोरी खेल्दै सन्देश प्रवाह गर्नु बारेकोट गाउँपालिकाका प्रहरी र स्वास्थ्यकर्मीको दैनिकी बन्दै आएको छ ।

जिल्लाका अन्य ठाउँमा फोन र सञ्चार माध्यमको बलियो पहुँच भएपनि बारेकोटमा भने दुर्गमताका कारण ति सवै सुविधा पाउनु भनेको फलामका चिउरा चपाएझैँ हुँदै आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाई छ ।

जिल्लाका सातै वटा स्थानीय तहमा माईकबाट सन्देश प्रवाह गरी गाउँ , गाउँमा कोरोना विरुद्धको सन्देश प्रवाह गर्ने काम चालु रहेको स्थानीय सरकारले बताएका छन् । सदरमुकाममा बाग्लो मानवीय वस्ती भएकोले प्रहरी , प्रशासनलाई ‘ लक डाउन’ कार्यान्वय गराउनु चिन्ता छ । अन्य स्थानीय तहमा ‘ लक डाउन’ भन्दा पनि कोरोना भाईरसका विषयमा व्यापक जानकारी गराउनु आवश्यक रहेको उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो ।

गाउँमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिनु भनेको अपमान गरेको अर्थात स्थानीय सरकारको दादागिरीको रुपमा सर्वसाधारणले बुझेको उहाँको भनाई छ । गाउँमा विदेशबाट आएकाहरुको संख्य ठुलो भएपनि अहिले सम्म क्वारेन्टाइनमा एक जना पनि नवसेको पाईएको छ ।

क्वारेन्टाईनमा बस भन्दा अपमान गरेको जस्तो बुझाईका कारण समस्य हुँदै गएको पत्रकार राजेन्द्र कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , “ हामीले क्वारेन्टाईनको विषयमा बुझाउन सकेनौँ र बाहिरबाट आएकाहरु बस्न नमान्ने समस्य आयो । ”
जिल्लाका सवै ठाउँमा क्वाईन्टाईन निर्माण गरिएपनि कोही नवस्दा समस्य भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो , “ होम क्वारेन्टाईन बसेका छन् भनिएको छ तर निगरानी कसैले नगर्दा के भयो भन्ने पत्तो नै लाग्न सकेको छैन । ” एक गाउँबाट अर्को गाउँमा जान दिनभरी लाग्छ उहाँले थप्नुभयो , “ विदेशबाट आएको मान्छे समेत लुकाएर कसैले भन्दैनन् । ”

बिभिन्न विषयवस्तु केलाउदा गाउँमा जनचेतनाको खाँचो महसुस गरी हामीले पहिलो काम सवैलाई बुझाउने नै हो भनि सोही अनुसारका गतिविधि गरिरहेको छौ प्रमुख रावलले भन्नुभयो । अहिले हाम्रा स्वास्थ्य संस्थाहरुमा हतियार विनाका सिपाई झै गरी स्वास्थ्यकर्मीहरु खटिनुभएको छ , उहाँहरु अहिलेको मुख्य हिरो हो तर उहाँसँग हतियार छैन । विना हतियार यूद्धमा खटाएको छ छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले भन्नुभयो ।

भर्खरै मात्र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जिल्लामा थर्मलगण लगायत अन्य स्वास्थ्य सामग्री भित्रिएका कारण काम गर्न सजिलो हुँने अपेक्षा लिईएको छ । जाजरकोटको जिल्ला अस्पतालबाट नै विरामीहरुको नमुना लिन मिल्ने उपकरण उपलव्ध गराई , तालिम सम्म दिएको भए प्रभावकारी हुँने स्थानीय तहका प्रमुखहरुको भनाइ छ ।
डोल्पामा ‘ लक डाउन’को उल्लघंन हुँन थालेपछि आज देखि निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!