निकुञ्जमा तस्करको बिगबिगी

काठमाडौँ ः लकडाउनको मौका छोपेर वन्यजन्तु सिकार र काठ तस्करी गर्नेहरुको संख्या तराईका निकुञ्ज र आरक्षभित्र बढेको छ ।खासगरी चितवन, बर्दिया र बांके निकुञ्जमा त्यस्ता गतिविधि बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चीफ वार्डेन हरुले बताएका छन् ।
बर्दिया निकुञ्जमा लकडाउनको करिब दुई सातामा २८ जना व्यक्ति समातिएका छन् । बर्दिया निकुञ्जका चीफ वार्डेन अणनाथ बरालका अनुसार १८ जना अवैध तरिकाले काठ ओसार्ने र १० जनालाई वन्यजन्तु सिकारका लागि गएका बेलामा समातिएको हो ।
राष्टिय निकुञ्ज ऐनमा संरक्षित वन्यजन्तु चौका नामको वन्यजन्तु सिकार गर्ने ५ जनालाई बर्दिया र बांके निकुन्जको संयुक्त टोलीले मध्यवर्ती क्षेत्रमा पर्ने वैजनाथ गाउँपालिकाबाट समातेको हो । यो बीचमा निकुञ्जले अवैध एक जेसीबी स्काभेटर, एक ट्याक्टर र एक सय क्युबिक फिट काठमसेत बरामद गरेको छ ।
वन्यजन्तुको तस्करी बढ्न सक्ने भन्दै बर्दियाको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान ९सीबीएपीयु०ले समेत निकुञ्जको गस्ती गरिरहेको सीबीएपीयूका हेमन्त आचार्यले बताए । उनीहरुले हरेक दिन आलो पालो गरी निकुञ्जको टोलीलाई गस्तीमा साथ दिएका छन् । केही दिनअघि राजापुर नगरपालिकाको शंकरनगरमा एक हात्ती करेन्ट लगाएर मारिएको अवस्थामा फेला परेको थियो ।
चितवन निकुञ्जमा शनिवार मात्रै २२ जनालाई पक्राउ गरिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ बटुकदल गणको संयुक्त गस्तीले अवैध गतिविधि गर्ने हिसाबले निकुञ्ज छिरेका २२ जनालाई पक्राउ गरिएको चीफ वार्डेन नारायणप्रसाद रुपाखेतीले बताए । यसअघि पनि निषेधित गतिविधिमा संलग्न व्यक्तिलाई निकुञ्जको टोलीले पक्राउ गरेको छ ।
केही दिनअघि निकुञ्जको अमलटारी र सौराहा नजिकको खोलामा तीन वटा घडियाल गोही मारिएका थिए । रुपाखेतीले माछा मार्नका लागि प्रयोग गर्ने उद्देश्यले निकुञ्जभित्र लुकिछिपी लगिएको एक डुंगासमेत यसअवधिमा बरामद गरिएको बताए । ‘लकडाउनले बजार बन्द भएपछि मानिसहरुको ध्यान निकुञ्जतिर बढेको छ,’ रुपाखेतीले भने, त्यसैले हामीले निगरानी पनि बढाएका छौं । ’
निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेका छन् । गत आर्थिक वर्षमा मात्र ९ वटा गोही मारिएका थिए । नारायणी र राप्तीमा २ सय ५० वटा घडियाल गोही छन् । गोही प्रजनन् केन्द्रमा हुर्काएर निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानमा गोही छाड्छ ।
बांके निकुञ्जका चीफ वार्डेन प्रमोद भट्टराईले अहिलेसम्म चोरीका घटना नभए पनि संभावित घटनालाई मध्यनजर गर्दै गस्ती बढाइएको बताए । लकडाउनका बीचमा तराई र चुरे क्षेत्रमा काठ तस्करी गर्नेक्रम पनि बढेको छ ।
सुदूरपश्चिमको शुक्लाफांटा निकुञ्जमा अहिलेसम्म १४ जनालाई पक्राउ गरिएको चीफ वार्डेन लक्ष्मण पौड्यालले जनाए । ४ जना काठ र अरु १० अवैध हिसाबले माछा मार्नेहरु हुन् ।
चितवन निकुञ्जसंग जोडिएको पर्सा निकुञ्जमा गत साता निकुञ्जभित्र हतियारधारी तस्कर भेटिएपछि निगरानी बढाइएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोकुमार रामले संभावित क्षेत्रहरुमा दिनहुं गस्ती तिव्र पारिएको बताए ।
लकडाउनमा सम्भावित चोरीका घटना हुनसक्ने भए पनि ढोरपाटन सिकार आरक्ष र रारा निकुञ्ज प्रमुख विहीन छन् । ढोरपाटनमा निमित्त प्रमुख तोकिएका पुरुषोत्तम शर्मा र रारा निकुञ्जमा निमित्त प्रमुख तोकिएका विष्णुप्रसाद थपलिया लकडाउनका कारण कार्यस्थल जान पाएका छैनन् ।








