साबुन नलगाई मज्जाले हात धुँदा पनि किन जाँदैन कोरोनाभाइरस ?

एजेन्सी ः कोभिड–१९ फैलिनबाट रोक्नका लागि तपाईंले गर्ने यस्तो सानो प्रयास पनि अमूल्य हुन्छ ।

तपाईंले राम्ररी हात धोइदिँदा कोरोनाभाइरस मात्र नभई अन्य खराब ब्याक्टेरिया र खतरनाक भाइरसहरू पनि मर्छन् ।

‘चारथरी कोरोनाभाइरसहरू मानिसमा प्रत्येक वर्ष नियमित रूपमा सर्छन्,’ भाइरोलोजिस्ट डा जोन विलियम्सले बताए । उनी अमेरिकाको पिट्सबर्र्ग बाल अस्पतालमा संक्रामक बालरोग विभागका प्रमुख हुन् ।

‘ती भाइरसले मुख्यतया रुघा लगाउँछन् । वास्तवमा तिनले एक तिहाइ सामान्य रुघा गराउँछन् । तिनले मानिसको ज्यान लिँदैनन्,’ उनले भने ।

साबुनपानीले राम्ररी हात धुँदा कोरोनाभाइरस परजीवी मात्र मर्ने हैनन् । प्रत्येक वर्ष लाखौं मानिसलाई मार्ने इन्फ्लुएन्जा र मेटान्युमोभाइरस पनि साबुनपानीले राम्ररी हात धुँदा मर्छन् ।

साबुन र तातोपानी अनि अल्कोहल भएका स्यानिटाइजरहरू जस्ता सामान्य कुरा परजीवीहरूमाथि कसरी हावी हुन सक्छन् रु

यसको उत्तर परजीवीको छाला र तपाईंले गर्ने सफाइमा लुकेको छ ।

माइक्रोस्कोपमा हेर्दा कोरोनाभाइरसहरू चुच्चा ठेसोले भरिएका देखिन्छन् जसले गर्दा तिनीहरू मुकुट जस्तो देखिन्छन् ।

अंग्रेजीमा कोरोना भनेको मुकुट हो । त्यो मुकुटमुनि कोरोनाको बाहिरी पत्र हुन्छ जुन लिपिडले बनेको हुन्छ । सरल भाषामा भन्दा लिपिड भनेको बोसो हो ।

अनुमान गर्नुस्, कोरोनाभाइरस घिउ हालेको खानेकुरा हो ।

‘तपाईं घिउ हालेको खानेकुरा राखेको भाँडोलाई पानीले मात्र धुन खोज्नुहुन्छ भने त्यो घिउ भाँडोबाट निस्कँदैन,’ विलियम्सले व्याख्या गरे । ‘चिल्लो हटाउनका लागि तपाईंले अलिकति भए पनि साबुन प्रयोग गर्नुपर्छ । त्यसैले साबुन वा अल्कोहल भाइरसको बोसोयुक्त पत्रलाई नष्ट गर्न एकदमै प्रभावकारी छ ।’

‘त्यसले भाइरसलाई भौतिक रूपमा निष्क्रिय तुल्याउँछ र भाइरस मानव कोषिकामा प्रवेश गर्न सक्दैन,’ विलियम्सले भने ।

साबुनले यस्तो गर्न कसरी सक्छ भन्ने विषयको विज्ञान रमाइलो छ ।

साबुनका कणिकाहरू कसरी बन्छन् भन्ने कुरामा यो सबै निर्भर रहन्छ । ती कणिकाहरू साना वीर्य जस्ता देखिन्छन् र तिनमा शिर पुच्छर हुन्छन् । शिर पानीसँग घुलमिल हुन्छ तर पुच्छरले पानीलाई अस्वीकार गरेर तेल र बोसो मन पराउँछ ।

पानीबाट भाग्नका लागि साबुनको पुच्छ्रे भाग भाइरसको बाहिरी पत्रतर्फ आकर्षित हुन्छ र त्यसलाई च्यात्न थाल्छ ।

एकचोटि भाइरस वा ब्याक्टेरिया च्यातिएमा त्यसको आन्द्राभुँडी साबुनपानीमा पोखिन्छ र त्यो मर्छ ।

पानी र साबुनले हात रगड्दा साबुनका फोका निस्कन्छन् जसले ब्याक्टेरिया, भाइरस वा अन्य जीवाणुलाई सतहमा टाँसिने गरी रासायनिक बोन्ड बनाउन दिँदैन ।

त्यसैले तपाईं साबुनपानीले हात घोट्दै अझै बढी फिँज निकाल्नुस् र हात तथा औंला अनि नङका कुनाकाप्चामा पुर्‍याउनुस् । बीस सेकेन्डसम्म हात घोटिरहनुभयो भने बल्ल सफा हुन्छ ।

तपाईंले हात धुँदा सबै कीटाणुहरूलाई साबुनका कणिकाहरूले धोएर फालिदिन्छन् ।

‘साबुनको फिँजले कीटाणुहरूलाई टपक्क टिपेर नालीमा बगाइदिन्छन्,’ डा विलियम शाफ्नरले बताए । उनी न्याशभिलस्थित भ्यान्डरबिल्ट युनिभर्सिटी स्कूल अफ मेडिसिनमा संक्रामक रोगका प्राध्यापक हुन् ।

अनि तातो पानी नै किन ? आखिर तातो पानीले ब्याक्टेरिया वा भाइरसलाई आफैं मार्न सक्दैन । कि त हातै खुइलिने तातो पानी प्रयोग गर्नुपर्‍यो ।

‘चिसो पानीले पनि काम गर्छ तर तपाईंले साबुन निकै धेरै समयसम्म घोटिरहनुपर्छ,’ रसायनशास्त्री बिल वुएस्टले बताए । उनी एमोरी विश्वविद्यालयमा संक्रमणनिरोधी तत्त्वको अध्ययन गर्छन् ।

‘तातो पानीले साबुन राम्ररी लाग्छ र थप फिँज निस्कन्छ,’ वुएस्टले भने । ‘साबुनले फोहर र त्यसमा रहेका ब्याक्टेरिया तथा भाइरसलाई लखेट्दैछ भन्ने संकेत दिन्छ ।’

अनि अल्कोहल भएका स्यानिटाइजरहरूले राम्ररी प्रयोग गर्ने हुन् भने साबुन जत्तिकै प्रभावकारी हुन्छन्, शाफ्नरले व्याख्या गरे ।

‘स्यानिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ,’ शाफ्नरको भनाइ छ । ‘अल्कोहलले नै भाइरस मार्ने हो ।’

अलिकति स्यानिटाइजर हत्केलामा हालेर हतारहतार पुछ्दा काम गर्दैन, शाफ्नरले भने ।

‘तपाईंले टन्न स्यानिटाइजर लिएर हातको कुनाकाप्चा, औंलाको बीचबीचमा अनि पछाडिको भागमा समेत दल्नुपर्ने हुन्छ,’ उनको भनाइ छ ।

‘अल्कोहल भिन्नै रासायनिक तत्त्व हो,’ वुएस्टले भने । ‘यसले कीटाणुका मेम्ब्रेनहरूलाई टुक्य्राउँछ तर अल्कोहल ब्याक्टेरिया वा भाइरसको प्रत्यक्ष सम्पर्कमा आउने कुराको सुनिश्चितता तपाईंले गर्नु जरूरी छ ।’

तर स्यानिटाइजर भन्दा पनि साबुन र पानी नै बढी प्रभावकारी हुने परिस्थिति बढी छन्, विलियम्सले भने । साबुनपानीले सूक्ष्म जीवाणुलाई अँठ्याएर बगाउने क्षमता राख्ने भएकाले त्यो प्रभावकारी भएको हो ।

‘अल्कोहल पनि कीटाणु मार्न प्रभावकारी छ तर यसले कीटाणुलाई सफा गर्दैन,’ उनले भने । ‘त्यसैले मानौं कसैले हातमा हाच्छ्युँ गर्‍यो रे । उसको हातमा मकस भरिन्छ । अनि त्यसमा भएका ब्याक्टेरिया वा भाइरसलाई निष्क्रिय तुल्याउन निकै धेरै अल्कोहल प्रयोग गर्नुपर्ने हुन्छ ।’

‘त्यसैले कसैको हात एकदमै संक्रमित भएको छ भने साबुनपानीले हात धोएको राम्रो हो ।’

तपाईं लगातार हात धुँदा निकाल्ने साबुनका फिँजमा गर्व गर्नुस् अनि सूक्ष्म जीवाणुहरू मरेर नालीमा बगेको कल्पना गर्दै आनन्दित हुनुस् ।





error: Content is protected !!