नमुना बनाइँदै विपन्न बस्ती

हरि गौतम
रुकुम पश्चिम — मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका सातवटा वडालाई नमुना गाउँका रूपमा विकास गर्न लागिएको छ । मुसीकोट नगरपालिकाले ७, ८, ९ र १० तथा सानीभेरी गाउॅपालिकाले १, ३ र ९ नम्बर वडामा ‘नमुना गाउँ कार्यक्रम’ सञ्चालनको तयारी गरेका छन् ।
पिछडिएका समुदायको सीप, क्षमता, ज्ञान, प्रविधि एवं मौलिकपनलाई संरक्षण र प्रवर्द्धन गर्न ‘नमुना गाउँ कार्यक्रम’ अघि सारिएको हो । आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा पछि पारिएका महिलालाई सक्षम बनाउन कार्यक्रम कार्यान्वयन गर्न लागिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । ‘गाउँलाई नमुना बनाउन विभिन्न सेवामूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्,’ उनले भने, ‘कार्यक्रमले महिलाको व्यक्तित्व र सीप विकास गरी आत्मनिर्भर बनाउनेछ ।’
कार्यक्रमका लागि दुई स्थानीय तहले नमुना समाज, सुर्खेतसँग सहकार्य गरेका छन् । नमुना गाउँ बनाउन आवश्यक भौतिक संरचना निर्माणका कामसमेत गरिने नगरपालिकाले जनाएको छ । तीन वर्षसम्म नमुना वडा निर्माणका लागि आवश्यक बजेटको ३० प्रतिशत रकम स्थानीय तह र ७० प्रतिशत बजेट नमुना समाजले बेहोर्ने गरी सम्झौता भइसकेको छ । मुसीकोटका चार वडा नमुना बनाउन समाजले तीन वर्षमा ४ करोड ६० लाख र नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । सानीभेरी गाउँपालिकाले पनि कार्यक्रमका लागि ३० लाख रुपैयाँ लगानी गर्नेछ । समाजले ४ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।
गाउँपालिका अध्यक्ष नरबहादुर पुनले नमुना गाउँले आर्थिक रूपले पछाडि पारिएका समुदायलाई उद्यमशील बनाउन सहयोग गर्ने बताए । कार्यक्रममार्फत स्थानीयको बोली, भाषा, शिष्टता, सभ्यतालगायत शैलीलाई परिवर्तन गर्न खोजिएको उनको भनाइ छ । नमुना गाउँ बनाउन खानेपानी, शौचालयलगायत पूर्वाधार योजना निर्माण हुने उनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार कार्यक्रमले महिला, बालबालिका, गरिब, दलित, जनजाति लगायतलाई बानी–व्यवहार परिवर्तनका साथै स्वरोजगार बनाउन सहयोग गर्नेछ ।










