वडा विभाजनको निर्णय

जाजरकोट ः कुशे गाउँपालिकाको सातौं गाउँसभाले वडा विभाजनको प्रस्ताव पारित गरेको छ । वडा नम्बर २ र ५ लाई विभाजन गरेर थप दुईवटा वडा बनाइने प्रस्ताव पारित गरिएको हो ।
ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहमा समस्या भएकाले वडा टुक्र्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। उनका अनुसार गाउँपालिकाको दुईतिहाइ बहुमतले वडा विभाजनसम्बन्धी प्रस्ताव पारित गर्दै प्रदेश सरकारमा पठाएको छ।
अब प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले वडा विभाजनको निर्णय गर्नेछ। हाल वडा नम्बर २ को जनसंख्या ३ हजार ५ सय ४२ र ५ को जनसंख्या ३ हजार ६ सय ९६ छ। गाउँसभाको निर्णयलाई संघीय सरकारले स्वीकृत गरे कुशेमा वडाको संख्या ११ पुग्नेछ।
गाउँसभाले शिक्षा ऐन–२०७५ लाई संशोधन गर्नुको साथै बेरुजु फर्छ्योट कार्यविधि–२०७६, व्यवसाय दर्ता कार्यविधि–२०७६, बालश्रम तथा बालविवाह न्यूनीकरणसम्बन्धी कार्यविधि–२०७६ र बालसमूह, बालक्लब तथा बालसञ्जाल गठन तथा सहजीकरण निर्देशिका–२०७६ पारित गरेको छ।










