सिंचाई योजनाका मजदुरले पाएन्न ज्याला ?

हेमन्त केसी
जाजरकोट , छरिखोला कोरिन्चे सिंचाई योजना नलगाड नगरपालिका –८ का कामदारले पैसा नपाएको बताएका छन् ।
योजना निर्माण गर्नका लागि दैनिक काम गरेपनि काम गरे वाफतको रकम नपाएको स्थानीयवासी कर्णबहादुर खत्रीले जानकारी दिनुभयो । रु ३० लाखमा निर्माण कार्य भएको सो योजनाका ४० भन्दा बढी उपभोक्ताले काम गरेवाफतको ज्याला नपाएको बताएका छन् ।
प्रत्येक स्थानीयले १५ दिन भन्दा बढी योजनामा काम गरेको भएपनि ८ महिना वित्दा सम्म एक रुपैयाँ नपाएको अर्का स्थानीयवासी जयबहादुर खत्रीले गुनासो गर्नुभयो । योजना निर्माण गर्दा रु ३० लाखमा सम्झौता गरेपनि कर्णाली प्रदेशको मताहातमा रहेको सिंचाई विकास कार्यालयले रु १७ लाख मात्र भुक्तानी गरेपछि उपभोक्ताहरुले काम गरेर पनि पैसा नपाएका हुँन् ।
उपभोक्तालाई उपलव्ध गराईएको रु १७ लाखबाट सामग्री खरिद गरिएको र अन्य निर्माणको काम स्थानीयवासीले गरेको बताएका छन् । ८ महिना सम्म काम गरेको ज्याला नपाएपछि स्थानीयवासीले उपभोक्ता समितिका पदाधिकारीलाई दैनिक गुनासो गदै आएको बताएका छन् ।
पुरै पैसा भुक्तानी ल्याउन नपाएकोले कहाँबाट श्रमिकको ज्याला उपलव्ध गराउने भनेर समस्य भईरहेको उपभोक्ता समितिका अध्यक्ष डम्वरबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ हामीसँग भएको पैसाले पाईप र अन्य निर्माणको सामग्रीमा खर्च भयो , अरु पैसा बचेको छैन कसरी काम गरेको पैसा दिने अव खेतविक्री गरेर पैसा दिनुपर्ला । ”
कोरिन्चे गाउँमा सिंचाई सुविधा उपलव्ध गराउने उदेश्यका साथ प्रदेश सरकार अनुदानमा सिंचाई विकास कार्यालयले उपलव्ध गराएको सो रकमले गाउँहरुको बीचमा झगडा समेत पारिदिएको छ । खेतबारीमा सिंचाई सुविधा उपलव्ध गराउने भन्ने सपना थियो तर खेतबारी विक्री गरेर काम गरेको पैसा भुक्तानी गर्नुपर्ने अवस्था आईलागेको उपभोक्ता समितिका सचिव नरबहादुर खत्रीले भन्नुभयो , “ हामीले सवै सँग अहिले पनि सो पैसा भुक्तानीका लागि अनुरोध गरेका छौँ , ट्याकीको काम समेत थोरै बाँकी रहेको छ । ” काम गर्ने तर भोकै मर्ने अवस्था किन सिर्जना गरिएको छ यो खोजतालास हुनुपर्ने योजनाको काम गरेका मजदुर खीमबहादुर नेपाली गुनासो गर्नुभयो ।
हामी अव उजुरी गछौँ यो धेरै अन्यय भयो सहन सकिदैन । असार महिनामा योजनाको सम्झौता गरेर २८ दिन भित्र योजनाको काम सम्पन्न गरेपनि पैसा नदिएको अधिकांश स्थानीयवासीले बताएका छन् ।
यता सिंचाई विकास कार्यालयले अघिल्लो वर्षको योजना भएकाले अहिले सम्म कसैले केही जानकारी नगराएको बताएको छ । कार्यालयका अनुसार भर्खरै थाहा भएकाले प्रदेशमा पैसा माग गरेर पठाउने तयारी भएको छ । त्यस्तै सो योजनाको कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत साधन समितिले समेत अनुगमण गदै तत्काल योजना अगाडी बढाउन निर्देशन दिएको छ ।
मजदुर मारेर हाम्रो नयाँ सत्ता आउदैन तुरुन्तै प्रदेशमा लेखेर पठाउनुहोस भनेका छौँ अर्थ तथा प्राकृतिक स्रोत साधन समितिका सभापती अमर थापाले भन्नुभयो । उहाँले थप्नुभयो , “ जिल्लामा त्यस्ता खालका योजना कहाँ कहाँ छन् , सवै संकलन गरेर प्रदेशमा पठाउनु । ”
अहिले पनि प्रदेश मताहातका अधिकांश योजनाहरु सम्झौता नभएको पाईएको छ । सम्झौता ढिला गर्दा निर्माणमा बाधा पुग्ने गरेको छ । तोकिएको मितिमा निर्माण कार्य पुरा नहुँदा भुक्तानीमा समस्य आई पुरै रकम नपाउदा योजना अधुरा हुँने वर्षेनी हुँदै आएको छ । प्रदेशका कार्यालयहरुमा कर्मचारीको अभाव हुँदा तोकिएको समयमा काम गर्न नसकिएको बताएको छ ।
थोरै कर्मचारी छौँ , कसरी तोकिएको समयमा काम हुन्छ भौतिक पुर्वधार विकास कार्यालयका प्रमुख टोपेन्द्र रोकायले बताउनुभयो । फिल्डमा काम गर्न जाँदा कार्यालय खाली हुन्छ समस्य छ ।










