अंक बढाउन विद्यार्थीमाथि अत्याचार

आफ्नो विद्यालयले उत्कृष्ट नतिजा ल्याउँछ भनेर विज्ञापन गर्ने होडमा लागेका छन् विद्यालय, प्रताडित भइरहेका छन् बालबालिका
रोल्पाको रुम्टीगढी–८ स्थित भानु विद्यालयका विद्यार्थी प्रार्थनामा नआएको भन्दै शिक्षिकाले कुर्सीको खुट्टाले अन्धाधुन्ध प्रहार गर्दा १४ विद्यार्थी घाइते भए । छात्राहरू भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको थियो । पहिले वडाध्यक्ष भीमबहादुर घर्तीको मध्यस्थतामा मिलापत्र भएको थियो । तर, घटना सार्वजनिक भएपछि प्रहरीले शिक्षिका लक्ष्मी पुनलाई पक्राउ ग(यो । उनी धरौटीमा छुटेकी छिन् भने मुद्दा जिल्ला अदालत रोल्पामा विचाराधीन छ ।

थोरै प्राप्तांक ल्याएको भन्दै काठमाडौं जडीबुटीस्थित जागृति विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्र्माचार्यले ३४ विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाइन् । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि शनिबार उनलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको मर्चवारस्थित ज्ञानद्वीप बोर्डिङ स्कुलका शिक्षक शैलेन्द्र बराईले १७ पुसमा लट्ठीले कुट्दा विद्यार्थी मोहम्मद देवानको आँखामा गम्भीर चोट लाग्यो । अदालतबाट ७५ हजार धरौटीमा छुटेका शिक्षक सोही विद्यालयमा पढाइरहेका छन् ।

।।।।।।।।।।।।।।।।।।।।

सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऋतिक यादवको गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचियो । नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले कुट्दा यादवको हात भाँचिएको हो । परिवारको उजुरीपछि प्रहरीले शिक्षिकालाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, अदालतमा पुगेपछि पीडित परिवारले बयान फेरे । उनीहरूले भने, ‘कुटेर होइन, लडेर हाँत भाँचिएको हो ।’ सो घटनामा बालबालिकासम्बन्धी ऐनका साथै अंगभंग मुद्दा चलाइएकोमा शिक्षक २५ हजार धरौटीमा छुटेका छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

।।।।।।।।।।।।।।।।।।।।।।।

जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् । कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् । यातनाकै कारण विद्यार्थीले आत्महत्यासमेत रोजेका छन् । कानुनले विद्यार्थीमाथि कुटपिट र यातनालाई फौजदारी अपराध मानेको छ । तर, यातनामा संलग्न शिक्षकलाई सामान्य दण्डसम्म दिइए पनि विद्यालयलाई उन्मुक्ति दिने गरिएको छ । त्यसैले विद्यालयभित्रै विद्यार्थीमाथि वर्षमा यातनाका दर्जनौँ घटना बढेका छन् ।

पछिल्लोपटक शनिबार जडीबुटीस्थित जागृति विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छिन् । उनले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले थुनामा राखेर मुद्दा चलाउने तयारी गरिरहेको छ ।

दुई महिनाअघि मात्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलका विद्यार्थी मोहम्मद देवानले पनि गम्भीर चोट लाग्ने गरी शिक्षकको कुटाई खाए । १७ पुसमा शिक्षक शैलेन्द्र बराईले लट्ठीले हान्दा देवानको आँखामुनि गम्भीर चोट लागेको थियो । २१ पुसमा शिक्षक बराईलाई मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा चलायो । तर, उनी अदालतबाट ७५ हजार रुपैयाँ धरौटीमा छुटे भने स्कुललाई कुनै कारबाही भएन । बराई अहिले पनि सोही स्कुलमा पढाइरहेका छन् ।

यातनाका शृंखला

बैतडी , पिँडुलामा लट्ठी बज्रिँदा विद्यार्थी चिच्याए, झन् ठोक्छु भनेपछि रुन सकेनन्

पोखरा , गृहकार्य नगरेको भन्दै बिरामी विद्यार्थी कुटे शिक्षकले, पीडितले स्कुल छाडे

रौतहट , विज्ञानका शिक्षकसँग विद्यार्थीले नजानेको प्रश्न सोध्दा बीचमा किन बोलेको भन्दै शिक्षकले विद्यार्थीको आँखामै मुक्का हाने

रुपन्देही , विद्यार्थीलाई लट्ठीले कुट्दा आँखामा चोट लाग्यो, अदालतबाट धरौटीमा छुटेका शिक्षक सोही विद्यालयमा पढाउँदै

कञ्चनपुर , अनुशासन सिकाउने भन्दै कुट्दा विद्यार्थीको मृत्यु, शिक्षकलाई १० वर्ष कैद

विराटनगर , परीक्षामा विद्यार्थी फेल भएपछि शिक्षकले सुम्ला बस्नेगरी पाइपले हाने

सिराहा , नेपालीको गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो

काठमाडौं , अंक ल्याएको भन्दै शिक्षिकाले ३४ विद्यार्थीलाई हात चिर्न लगाइन्

रोल्पा , प्रार्थनामा ढिलो आएको भन्दै शिक्षिकाको कुर्सीको खुट्टाले प्रहार गर्दा १४ विद्यार्थी घाइते, पाँचको हात भाँचियो

यसअघि १२ माघ ०७५ मा सिराहामा गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचिएको थियो । यो पनि निजी विद्यालयमै भएको घटना हो । मिर्चैयास्थित स्वस्तिक पाठशालाकी शिक्षक तारा कार्कीले कक्षा ६ मा अध्ययनरत ऋतिक यादवको हात भाँचिदिएका थिए ।

पीडित परिवारको उजुरीपछि प्रहरीले शिक्षकलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, अदालतमा पुगेपछि लडेर हाँत भाँचिएको बयान दिइएको थियो । सो घटनामा बालबालिकासम्बन्धी ऐनका साथै अंगभंग मुद्दा चलाइएकोमा शिक्षक २५ हजार धरौटीमा छुटेको र मुद्दा फैसलाको क्रममा रहेको सिराहाका न्यायाधिवक्ता एकराज अधिकारीले बताए ।

गत वर्षदेखि लागू भएको बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालबालिकामाथि हुने कुनै पनि यातनालाई अपराध मानिएको छ । ऐनको परिच्छेद ८ मा बालबालिकाविरुद्धका कसुरहरू उल्लेख छ । जसमा मानसिक यातना तथा अमार्यादित व्यवहारलाई समेत अपराध भनेको छ । कसुर हेरेर एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने ऐनमा उल्लेख छ । सोही ऐनअनुसार केहीलाई कारबाहीसमेत भएको छ । तर, यातना रोकिएका छैनन् ।

गत साउनमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयमा बिरामी विद्यार्थीलाई शिक्षकले कुटेको घटना सार्वजनिक भयो । कक्षा ८ मा पढ्ने १४ वर्षीय अंकित तिमिल्सिना बिरामी भएकाले गृहकार्य नगरी विद्यालय गएका थिए । त्यही निहुँमा शिक्षक श्रीराम त्रिपाठीले झापड हानेका थिए । अभिभावकको जाहेरीपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको थियो । तर, १० दिन हिरासतको बसाइपछि त्रिपाठी छुटेका थिए । दुई पक्षबीच मिलापत्र भएपछि उनी छुटेका थिए । पीडित विद्यार्थीलाई भने अर्को स्कुलमा सारिएको छ ।

त्यस्तै, रौतहटको चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रिन बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने राजनकुमार ठाकुर यही ६ फागुनमा शिक्षकबाट निर्घात कुटिएका छन् । निहुँ थियो– नजानेको सोध्नु । नबुझेको सोध्दा विज्ञान शिक्षक रामप्रवेश यादवले किन बढी बोलेको भन्दै मुक्का बर्साएका थिए । उनको आँखामा चोट लागेको थियो । यसअघि रामप्रवेशका दाइ नीराजनलाई पनि शिक्षकले यातना दिएपछि परिवारले सरकारी विद्यालयमा सारेका थिए ।

परीक्षामा फेल भएको र नियमित विद्यालय नआएको भन्दै विराटनगर–४ राजवंशी चोकस्थित अर्पण बोर्डिङ स्कुलका शिक्षक एवं सञ्चालक निमेष बस्नेतले छात्रालाई पाइपले हिर्काएर घाइते बनाए । यो घटना गत कात्तिकको हो । कुटाइबाट बुढीगंगा गाउँपालिका–२ टंकी सिनवारीकी रोशनी भण्डारी गम्भीर घाइते भइन् । शरीरभर सुम्ला उठेको थियो । प्रिन्सिपल सुवास विष्टले नै रोशनीमाथि कुटपिट भएको स्विकारेका थिए । पछि पीडितको घरमै पुगेर माफी माग्दै निःशुल्क पढाइदिने प्रतिबद्धतासहित विद्यालयले घटना मिलाएको थियो ।

बैतडीको सर्नया गाउँपालिका–३ स्थित विश्वेश्वर आधारभूत विद्यालयमा गत पुसमा ५, ६ र ७ कक्षामा पढ्ने नौ विद्यार्थीमाथि मरणासन्न हुने गरी कुटपिट भयो । शिक्षकले उल्टोतिरबाट बाह्रखरी भन्न लगाएकोमा नजान्ने विद्यार्थीलाई तीन शिक्षकले पालैपालो पाइप र लट्ठीले हानेका थिए । शिक्षकहरू प्रताप लोहार, दीपक भट्ट र घुम्रा भट्टले कुटेपछि पिँडुलाको नीलडाम लिएर पीडितहरू प्रशासन र प्रहरीसँग न्याय माग्दै सदरमुकाम पुगेका थिए ।

प्रहरी र सञ्चारकर्मीसामु कक्षा ७ की छात्रा शोभा विष्टले घटना सुनाएकी थिइन्, ‘बाह्रखरी उल्टोबाट पढ्न नसक्दा तीन शिक्षकले पाइप र लट्ठीले हान्नुभयो । दायाँतिरबाट प्रताप हेडसर, बायाँबाट दीपक सर र पछाडिबाट घुम्रा मेडमले पाइपले कुट्नुभयो । चिच्याउँदा पनि छाड्नुभएन । रोए थप ठोक्ने भनेपछि मुख बन्द गरेर आवाज ननिकाली रोयौँ ।’

गत जेठमा रोल्पामा शिक्षिकाको कुटाईबाट पाँच विद्यार्थीको हात नै भाँचियो । रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो विद्यालय आएको भन्दै अन्धाधुन्ध लाठी प्रहार गर्दा १४ विद्यार्थी घाइते भएकोमा पाँच छात्राको हात भाँचिएको हो । छात्राहरू भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको थियो । १२ जेठ भएको घटना वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएको थियो । विद्यार्थीको भाँचिएको हात दाङ लगेर प्लास्टर गरिएको थियो । घटना सार्वजनिक भएपछि मुद्दा चलेको छ । तर, पीडक शिक्षिका धरौटीमा छुटिसकेकी छिन् भने मुद्दा जिल्ला अदालत रोल्पामा विचाराधीन छ ।

अनुशासन सिकाउने भन्दै शिक्षकले कुट्दा विद्यार्थीको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान नै गयो । घटना गत साउनको हो । विद्यालयमा अनुशासनहीन व्यवहार देखाएको भन्दै ९ कक्षामा पढ्ने माधव कलौनीलाई १३ असारमा शिक्षकले कुटेका थिए । उपचारका क्रममा २४ असारमा भारतमा उनको मृत्यु भएको थियो । घटनापछि शिक्षकले झापड हानेको स्विकारेका थिए । उनी मामाघरमा बसेर पढ्थे ।

बालकका परिवारले दिएको उजुरीका आधारमा विद्यालयका तीन शिक्षकविरुद्ध मुद्दा चलेको थियो । जिल्ला अदालतले शिक्षकहरू दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई निर्दोष ठहर गर्दै शिक्षक लक्ष्मणप्रसाद भट्टलाई भने १० वर्ष कैद र डेढ लाख जरिवाना फैसला गरिसकेको छ । भट्ट कारागार भुक्तान गरिरहेका छन् ।

मनोविद् सजिना ढुंगाना बालबालिकालाई डर देखाएर पढाउँदा मानसिक असर पर्नुका साथै पढाईमै नकारात्मक हसर पर्ने बताउँछिन् । ‘शिक्षकले कुट्छ भनेर स्कुल नै जान नमान्ने, कक्षामा शिक्षकसँग डराउने समस्या हुन्छ,’ उनी भन्छिन्, ‘बिद्यार्थीलाई सजाय दिनु एकदमै गलत छ ।’

महान्यायधिवक्ता अग्नि खरेल भन्छन् (बिद्यार्थीलाई सजाय दिनु गम्भीर अपराध हो

बिद्यार्थीमाथि शिक्षकबाट हुने सजायका घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । पछिल्लो पटक राजधानीकै स्कुलमा भएको यातनाको घटना तपाईहरूको पत्रिकाबाट थाहा पायौं । त्यसपछि दोषी शिक्षिकालाई कानूनी कारबाहीमा ल्याउन हामीले नै चासो लियौं ।

यसअघि पनि यस्ता दुई वटा मुद्दा चलाइसकेका छौं । बालबालिकाविरुद्धको कसुरमा हामीले कारबाही सुरु गरेका छौं । बालबालिकालाई सजाय दिएर पढाउनु नै अपराध हो । परीक्षामा फेल भएमा होमवर्क नगरेमा शारिरीक तथा मानसिक यातना दिन पाइँदैन । बिद्यार्थीलाई सजाउ दिने टिचिङ म्याथेडोलिजी सिकाईको तरिका गलत छ । यसलाई कानूनले अपराध ठहर गरेको छ । यसमा शिक्षकको गल्ती भनेर उम्कन पाइँदैन । यसमा स्कुललाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यस्ता विद्यालयलाई रेड मार्किङ गर्नुपर्छ । शिक्षा मन्त्रालयको समेत यसमा ध्यान जानु जरुरी छ ।

विद्यालयलाई पनि कारबाही गर्छौ, महेश प्रसाद दाहाल, सचिव शिक्षा मन्त्रालय

पछिल्लो पटक जडिबुटीको स्कुलमा बिद्यार्थीमाथि यातना दिइएको घटना बाहिर आएपछि यसमा छानबिन सुरु भइसकेको छ । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा इकाईमार्फत यसको छानबिन सुरु गरिसकेको छ ।

यस्ता बिषयमा प्याब्सन, एनप्याब्सनसँग समेत हामीले छलफल थालेका छन् । बिद्यालयभित्र अनुशासन कायम गर्न उनीहरूको सक्रियता चाहिन्छ ।
त्यो बिद्यायलले यातना दिने शिक्षिकालाई निकालेको तथा प्रहरीले पक्राउ गरिसकेको छ । शिक्षिका मात्र होइन बिद्यालयमाथि पनि कारबाही हुन सक्छ । पटक पटक यस्ता घटना हुने बिद्यालयकै सम्बन्धन नै खारेज हुन पनि सक्छ । निजी बिद्यालयहरूले आचारसंहिता नै बनाउनुपर्छ । यससम्बन्धमा हामी छिट्टै निर्देशन दिनेछौं ।

अब यस्ता घटना दोहोरिनु हुन्न, टिकाराम पुरी, अध्यक्ष, प्याब्सन

समयअनुसार शिक्षकले आफूलाई अपडेट गराउन नसक्नुको परिणाम हो पछिल्लो घटना । शिक्षण प्रणालीमा हाम्रोमा अझै पनि पुरानै सोचाई छ ।
घोकेर र कुटेर नै शिक्षा आर्जन गर्नूपर्ने मानसिकता छ । यही कारण अझै पनि यस्ता घटना हुने गरेका छन् । यसमा बिद्यालयहरूले शिक्षकलाई अपडेट गराउनुपर्छ । तालिम दिनुपर्छ । अब समयअनुसार सीपमुलक शिक्षण प्रणालीमा जानुपर्छ । अब यस्ता घटना दोहोरिन हुन्न । प्याब्सन पनि यसमा गम्भीर छ ।

शिक्षकहरूमा सोच र शैली परिवर्तनको खाँचो स् सूर्य बहादुर अधिकारी, पूर्व बरिष्ठ उपाध्यक्ष, एनप्याब्सन

हामीले बिद्यालय शान्ति क्षेत्रको कुरा उठाइरहेका छौं । तर, केही शिक्षक साथीहरूको आवेगका कारण बिद्यार्थीहरूमाथि यातनाका घटना भइरहेका छन्, यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।

बिद्यार्थीर्ला दण्ड दिन पाइँदैन । यसमा हामीले तालिम नै चलाएका छौं । लठ्ठी नेदखाई बिद्यार्थीले पढ्दैनन् भने पुरानो सोच अब परिवर्तन गर्नु जरुरी छ । बिद्यालयमा हुने यस्ता घटना रोक्न हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं । शिक्षकहरूमा सोच र पढाउने शैली परिवर्तन गर्नु जरुरी छ ।

शिक्षकलाई मात्र होइन, विद्यालयलाई पनि कारबाही गर्नुपर्छ

विद्यार्थीमाथि शिक्षकबाट हुने सजायका घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । पछिल्लोपटक राजधानीकै स्कुलमा भएको यातनाको घटना तपाईंहरूको पत्रिकाबाट थाहा पायौँ । त्यसपछि दोषी शिक्षिकालाई कानुनी कारबाहीमा ल्याउन हामीले नै चासो लियौँ । यसअघि पनि यस्ता दुईवटा मुद्दा चलाइसकेका छौँ । बालबालिकाविरुद्धको कसुरमा हामीले कारबाही सुरु गरेका छौँ । बालबालिकालाई सजाय दिएर पढाउनु नै अपराध हो । परीक्षामा फेल भएमा, होमवर्क नगरेमा शारीरिक तथा मानसिक यातना दिन पाइँदैन । विद्यार्थीलाई सजाय दिनु भनेको कानुनको हिसाबमा अपराध हो । यसमा शिक्षकको गल्ती भनेर उम्कन पाइँदैन । यसमा विद्यालयलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यस्ता विद्यालयलाई ‘रेड मार्किङ’ गर्नुपर्छ । शिक्षा मन्त्रालयको समेत यसमा ध्यान जानु जरुरी छ ।

यी हुन् बालबालिकाविरुद्धका कसूर

१ धूमपान, मद्यपान वा जुवा, तास जस्ता कुलतमा संलग्न गराउने,

२ बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्‍जनस्थलमा प्रवेश वा प्रयोग गराउने,

३ बालिगहरूका लागि भनी तोकिएका चलचित्र, अन्य श्रव्य दृष्य जस्ता सामग्री देखाउने,

४ घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने,

५ शारीरिक चोट पटक वा असर पुर्‍याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने,

६ विद्युतीय वा अन्य माध्यम प्रयोग गरी सताउने, कष्ट दिने,

७ राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हड्ताल, बन्द, चक्‍काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने,

८ गैरकानूनी थुना, कैद, कारावास वा नजरबन्दमा राख्‍ने, नेल, हतकडी लगाउने,

९ क्रुर अमानवीय व्यवहार गर्ने वा यातना दिने,

१० सनातन, परम्परा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यको लागि बाहेक भिक्षा माग्न लगाउने वा सन्यासी, भिक्षु, फकीर वा अन्य कुनै भेष धारण गर्न लगाउने,

११ जबरजस्ती अनाथ घोषणा गर्ने वा अनाथको रूपमा दर्ता गराउने,

१२ भाकल, धार्मिक वा अन्य कुनै अभिप्रायले कसैको नाउँमा चढाउने वा समर्पण गर्ने वा परम्परा, संस्कृति, रितिरिवाजको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेलाँ वा बहिष्कार गर्ने वा उपहासको पात्र बनाउने,

१३ जादू वा सर्कसमा लगाउने

१४ कसूरजन्य कार्य गर्न सिकाउने, तालीम दिने वा त्यस्तो कार्यमा लगाउने,

१५ बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने,

१६ प्रचलित कानून विपरीत बालबालिकाको अङ्ग झिक्ने,

१७ औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गर्ने,

१८ कानून बमोजिम बाहेक बाल गृहमा राख्‍ने

१९ कसैले बालबालिका उपर देहाय बमोजिमको कुनै कार्य गरेमा बाल यौन दुर्व्यवहार गरेको मानिनेछः

२० अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा बाल अश्लिलता प्रदर्शन गर्ने वा गराउने

२१ बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने,

२२ यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने,

२३ अश्लिल कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने,

२४ यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने,

२५ कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबलिकालाई प्रयोग गर्ने वा गराउने,

२६ यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने,

२७ बाल यौन शोषण गर्ने वा गराउने

२८ यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने

२९ यौन दुर्व्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने,

३० वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने




सम्बन्धित समाचार


error: Content is protected !!