आफ्नै अस्पताल बनाउदै स्थानीय सरकार

– हेमन्त केसी
जाजरकोट , जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहहरु आफ्नै अस्पताल बनाउन जुटेका छन् । पुर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ शैयाको अस्पताल निर्माणको कार्य सुरु भएको छ ।

८ वटा नयाँ स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य समेत सुरु भएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परीपुर्ती गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भन्नुभयो ।

पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगरअस्पतालको काम सुरु भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । पहिले भएका स्वास्थ्य संस्थालाई स्तरउन्नती गरी यहाँका स्थानीय तहहरु नगर अस्पतालको स्वरुपमा विकास गरी काम थालनी गरेका छन् । नयाँ ९ वटा स्वास्थ्य संस्थाका भवनहरु समेत निर्माण कार्य सुरु गरिएको महताराले जानकारी दिनुभयो ।

विरामीहरुको सहजताका लागि नगरपालिकाले एम्वुलेन्स सेवा समेत सुरु गरिएको उहाँको भनाई छ । गर्भवती , जेष्ठ नागरिक , प्रकृृतिक प्रकोपमा परेका व्यक्तिलाई सेवामा छुट दिने कार्यविधिमा उल्लेख भए अनुसारको सेवा प्रवाह गरिएको छ । सदरमुकामको स्वास्थ्य सेवा कार्यालय बाहेक सवै स्वास्थ्य संस्थाहरु स्थानीय तहको मताहातमा आइसकेको अवस्थामा स्थानीय तहले आफ्नो मताहातका स्वास्थ्य संस्थालाई स्तरउन्नती गरी सेवा प्रवाहमा प्रभावकारीता ल्याउन यो कदम चालिएको महतराले जानकारी दिनुभयो ।

भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गदै आएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । भेरी नगरपालिकाले पनि ५ भन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य जारी राखेको छ ।

त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले १५ शैयाको अस्पतालबाट उपचार सुरु गरेको छ । ७ नम्बर वडाको छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो ।

अस्पतालमा डा. कविन बस्नेत नेतृत्वमा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार थालेका सुरु गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले करारमा केही स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति नियुक्त गरेका छ ।

‘नेपालको संविधानमा हरेक गाउँपालिकामा १५ र नगरपालिकामा २५ शैयाको अस्पताल हुने व्यवस्था गरिए अनुसार हामीले नगर अस्पताल बनाएका छौँ गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भन्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक छवीलाल केसीले १५ शैयाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो  । उहाँका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र एक जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने ३ जना एमबीबीएस डाक्टरको दरबन्दी कायम गरिएको छ । कार्यविधि अनुसार स्वास्थ्यकर्मी बाहेक प्रशासक, कार्यालय सहयोगी र पालेसमेत गरी ३२ जनाको दरबन्दी स्वीकृत गरिएको उहाँको भनाइ छ ।

एमबीबीएसको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरी उपचार सुरु गरिएको छ । गुणस्तरीय उपचार प्रवाह गर्नका लागि छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताएको छ  ।

अस्पतालमा एक चिकित्सकसहित एक ,एक स्टाफ नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा प्रवाह थालेका हुन् । अस्पतालबाट बहिरंग, अन्तरंग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्सरे र सामान्य सल्यक्रिया सेवा सुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रर्वधनात्मक, परिवार नियोजन, कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ  ।

उहाँका अनुसार सुलभ शुल्कमा गुणस्तरीय उपचार प्रवाह हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल सुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो ।

यसअघि आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । आठविसकोट नगरअस्पताबाट जाजरकोट नलगाड नगरपालिकाका स्थानीयवासीहरुले समेत सेवा लिन पाएका छन् । नगरपालिकाले अन्य सेवा समेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!