अफगानिस्तानमा युद्धबाट एक वर्षमा ३४ सयको मृत्यु, ७ हजार घाइते सन् २०१९ मा

अफगानिस्तानमा युद्धका कारण करिब ३४ सय मानिसको मृत्यु भएको र ७ हजार मानिस घाइते भएका छन् । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको तथ्यांकले युद्धबाट १० हजार मानिस प्रत्यक्ष प्रभावित भएको बताएको हो ।

तालिवान र अमेरिकाबीच ७ दिन युद्ध विराम गर्ने सहमति शनिबार बिहानदेखि लागू भएपछि राष्ट्र संघले यो तथ्यांक सार्वजनिक गरेको हो ।

एक वर्षमा ३ हजार ४ सय मानिस युद्धबाट मारिएको र ७ हजार घाइते भएको राष्ट्र संघले जनाएको छ । तालिवानले मात्रै गरेको आक्रमणमा परेर ४७ प्रतिशत अर्थात् १ हजार ३ सय मानिसको मृत्यु भएको छ ।

यस्तै अफगानिस्तान राष्ट्रिय सुरक्षा बलको कारबाहीबाट १६ प्रतिशत अर्थात ६ सय ८० जनाको ज्यान गएको अफगानिस्तानको संयुक्त राष्ट्र संघीय सहायता मिसनले जनाएको छ ।मिसनका अनुसार अमेरिकासहित अन्तर्राष्ट्रिय सुरक्षा फौजको कारबाहीमा ८ प्रतिशत अर्थात् ५ सय ५९ मानिसको मृत्यु भएको छ ।

इस्लामिक स्टेट आइएसको आक्रमणबाट मृत्यु हुनेको संख्यामा गत वर्षभन्दा गिरावट आएको छ । सन् २०१८ मा आइएसको हमलाबाट मृत्यु हुनेको संख्या २ हजार १ सय ८१ थियो भने सन् २०१९ मा घटेर १ हजार २ सय २३ पुगेको छ ।

मृत्यु भएकामध्ये ३० प्रतिशत बालबालिका रहेका छन्, तालिवान तथा अफगान सुरक्षा बलले युद्धका लागि बालबालिका भर्ती गर्न भने छोडेका छैनन् ।

युद्ध अन्त्यका लागि लामो समयदेखि प्रयास गरिरहेको तालिवान र अमेरिकी सरकारले यो हप्ताभर कुनै पनि हिंसात्मक कार्य नगर्ने गरी अस्थायी युद्ध विराम गरेको छ । यो सम्झौता सफल भएमा फेबु्रअरी २९ मा शान्ति सम्झौता गर्ने र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता लैजाने योजना रहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले बताएका छन् ।एजेन्सीबाट





error: Content is protected !!