कर्णालीमा रासस स्थापना दिवस ‘समृद्धिका लागि मिडियालाई सबल बनाउनुपर्छ’

सुर्खेत ः कर्णाली प्रदेशका सरोकारवालाले प्रदेशको समृद्धिका लागि सञ्चारमाध्यमलाई सबल हुनुपर्ने बताउनु भएको छ । मिडिया बलियो भएमात्र प्रदेशको समृद्धि हुने भएकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उहाँहरुको भनाइ छ ।
राष्ट्रिय समाचार समितिको ५९औँ स्थापना दिवसका अवसरमा राससका कर्णाली प्रदेशका उत्कृष्ट समाचारदाता हेमन्त केसीलाई रु १५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । प्रदेश कार्यालयले आयोजना गरेको ‘समृद्ध प्राप्तिमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले त्यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक युवराज शर्माले मिडियालाई समृद्ध बनाउने कार्यक्रम ल्याइनुपर्ने बताउनुभयो । “सरकारले मिडियालाई सबल बनाउनुपर्छ अनि मात्र मिडियाले प्रदेश समृद्ध बनाउँन सक्छ”, शर्माले भन्नुभयो, “मिडिया नै कमजोर भयो भने कसरी अगाडि बढ्न कठिन हुन्छ ।”

कर्णालीपत्र दैनिकका सम्पादक नवराज महतराले राससले कर्णाली प्रदेशबाट छुट्टै बुलेटिन निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले राससले आफूलाई परिमार्जन गर्नुका साथै खोजमूलक समाचारलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सञ्चारमाध्यम बलियो भएमात्र सरकार बलियो हुने बताउनुभयो । सरकारले मिडियामैत्री कानून ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले कर्णालीको समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । पत्रकार यज्ञ खत्री, जगत विक, टेकेन्द्र विश्वकर्मालगायतले पिछडिएका वर्ग, समुदायका आवाजलाई प्राथमिकता दिएर समाचार प्रकाशन गर्न आवश्यक रहेको बताउनुभयो ।
पत्रकारिता राष्ट्रका पक्षमा हुन्छ स् मुख्यमन्त्री
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारिता जहिले पनि राष्ट्र र जनताका पक्षमा उभिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकका पक्षमा आवाज उठाउँदै राष्ट्रलाई बलियो बनाउनमा मिडिया लाग्ने गरेको उहाँले बताउनुभयो । “पत्रकार कसैका विरुद्धमा होइन गलत कामका विरुद्धमा लाग्नुपर्छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “त्यसैले पत्रकारले सँधै नागरिककै पक्षमा आवाज उठाउनुपर्छ ।” प्रदेशको समृद्धि र सुशासन ल्याउनका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायले मिडियाले जागरण ल्याएमा मात्र सरकार बलियो हुनेमा जोड दिनुभयो । समुदायमा जागरण ल्याउन मिडियाको महोत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय समाचार समिति कर्णाली प्रदेशका प्रमुख शुरबहादुर सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






