कर्णालीका छोरी–बुहारीलाई छात्रवृत्ति

सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका छोरी–बुहारीको शिक्षा प्राप्तीमा सहयोग गर्न छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।

प्रदेश सरकारले यस वर्षका लागि १ सय छोरी–बुहारीका लागि प्रमाणपत्र तथा ३ वर्षे डिप्लोमा अध्ययनका लागि ‘छोरी–बुहारी छात्रवृत्ति’ मा सहभागी हुन आह्वान गरेको छ।
३ वर्षे डिप्लोमा, दश जोड दुई वा प्रमाणपत्र तहमा व्यवसायिक तथा प्राविधिक शिक्षामा अध्ययन गर्ने छोरीबुहारीहरुको लागि छात्रवृत्ति दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्राविधिक शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले तीन वर्षे डिप्लोमा वा प्राविधिक प्रविणता प्रमाणपत्र तहमा छात्रवृत्ति दिइने मन्त्रालयले जनाएको छ।
छात्रवृत्तिका लागि छनौट भएकालाई अध्ययन अवधिभर एक पटकमा १ लाख रुपैयाँ उपलब्ध गराइने छ। प्रतिस्पर्धाका आधारमा छनोट भएका विद्यार्थी ९छोरीबुहारी०लाई शिक्षा विकास निर्देशनालयले बैंक खाता खोल्न लगाएर छात्रवृत्ति वापतको रकम जम्मा गरिदिने छ।
छात्रवृत्तिका लागि आवेदन दिन समेत शिक्षा विकास निर्देशनालयले सूचना जारी गरिसकेको छ। इच्छुकलाई माघ १९ गतेदेखि फागुन १९ गतेभित्र अनलाइनमार्फत आवेदन दिन आह्वान गरिएको छ।
तीन वर्षे डिप्लोमा, नर्सिङ, एचए, फार्मेसी, कविराज, ल्याव टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, वागवाणी, पशुविज्ञान, वन विज्ञान, इञ्जिनियरिङ, कम्प्युटर विज्ञान अध्ययनरत छोरी बुहारीलाई छात्रवृत्ति उपलब्ध गराइने शिक्षा विकास निर्देशनालयले जनाएको छ।
छात्रवृत्ति पाउन सरकारी विद्यालयबाट एसइई वा एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने, कर्णाली प्रदेशभित्रको वासिन्दा भएको प्रमाणित गर्न स्थानीय तहको सिफारिस हुनुपर्ने, भर्ना भई नियमित अध्ययन गरेको र यो वर्ष अन्य कुनै सरकारी छात्रवृत्ति नपाएको विद्यालयको सिफारिस पेश गर्नुपर्ने मापदण्ड तोकिएको छ।
यो कार्यक्रम प्रदेश सरकारले अघिल्लो वर्ष पनि सञ्चालन गरेको थियो। यो कार्यक्रमअन्तर्गत गत वर्ष १५० जनालाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ। यसमा एक करोड ५० लाख रुपैयाँ छात्रवृत्तिस्वरुप प्रदेश सरकारको बजेट खर्च भएको छ।
यसैगरी यो वर्ष पनि कर्णाली प्रदेश सरकारले प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा जेहन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, कर्णाली प्रदेश स्थापनार्थ सहिदका सन्ततिलाई छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति प्रदान गर्न लागेको छ।
छोरीबुहारी छात्रवृत्तिसँगै अरु छात्रवृत्तिका लागि समेत सोही मितिमा आवेदन बुझाउनुपर्नेगरी सूचना जारी गरिएको छ। यी छात्रवृत्तिहरुमा १०० जनाको कोटा तोकिएको छ। स्नातक तथा स्नातकोत्तर तह अध्ययनका लागि आह्वान गरिएको यो कार्यक्रमअन्तर्गत छनोट भएका विद्यार्थीलाई वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ।










