लोप हुँदैछन् जुनकिरी

एजेन्सी ः अँध्यारोमा प्रकाश फाल्दै सुन्दर दृश्य प्रदान गर्ने जुनकिरी पछिल्लो समय लोप हुने उच्च जोखिममा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
प्राकृतिक वासस्थान विनाश, किटनाशकको व्यापक प्रयोग र कृत्रिम बत्तीहरुले जुनकिरीका २ हजार प्रजातिहरुलाई लोपोन्मुख बनाइदिएको उनीहरुले बताएका हुन् ।
वासस्थान विनाशले पछिल्लो समय धेरै वन्यजन्तुहरुको सङ्ख्यामा गिरावट ल्याएको छ जसमा जुनकिरीहरु पनि पर्दछन् ।
जुनकिरीहरुलाई आफ्नो जीवन चक्र पूरा गर्न एउटा विशेष प्रकारको निश्चित वातावरणीय अवस्था चाहिने हुनाले पनि यस्तो भइरहेको टर्फट्स युनिभर्सिटीकी बायोलोजी प्रोफेसर सारा लेविसले बताउँछिन् ।
उनकै नेतृत्वमा सोमबार यस विषयको अध्ययन जर्नल बायोसायन्समा प्रकाशित भएको थियो ।
उनका अनुसार, उदाहरणका लागि मलेशियाको प्रख्यात प्रजातिको ज्ुनकिरी, ‘पिटेरोटिक्स टेनर’ लाई प्रजननका लागि ‘म्यानग्रोभ’ नामक एक विशेष किसिमको बिरुवा आवश्यक पर्दछ ।
तर केही वर्ष यता मलेशियाभर ‘पाम ओएल’ को उत्पादन बढाउन सो बिरुवालाई तीव्र रुपमा प्रतिस्थापन गरिएको छ ।
मलेसियाका ती विशेष प्रजातिलाई एकै लयमा उड्दै सुन्दर दृश्य प्रदान गर्नका लागि प्रख्यात मानिन्छ ।
त्यसैगरी जुनकिरीहरु लोप हुँदै जानुका पछाडिको अर्को प्रमुख कारण भने आश्चर्यजनक रुपमा कृत्रिम बत्ती रहेको वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।
पछिल्लो शताब्दी, कृत्रिम बत्तीको प्रयोगमा अत्याधिक वृद्धि भएको छ जहाँ जुनकिरीहरु उज्यालोप्रति सबैभन्दा संवेदनशील किरा मानिन्छन् ।
यसले पनि जुनकिरीहरुलाई लगातार जोखिममा पारिरहेको उनीहरुले बताए ।
कृत्रिम बत्तीहरुमा डाइरेक्ट लाइटनिङ जस्तै सडक बत्ती, व्यवसायिक साइन बोर्डहरुको बत्ती र ‘स्काइग्लो’ अर्थात ठुल्ठुला शहरका टावरमा रातैभर बालिने बत्ती रहेका छन् जुन पूर्णिमाको दिन चन्द्रमा भन्दा बढी उज्यालो दिन्छ ।
यसबारे टफट्सका पिएचडी उमेदवार एभेलन ओवेन्स भन्छन्, “यसले ती जीवहरुको शरीरबाट प्रकाश फाल्ने, प्राकृतिक जैविक रिदममा अवरोध पुर्याउनुका साथै २४ घण्टा वातावरण उज्यालो हुनुले मिलापको रिचुअललाई पनि अवरुद्ध गराएको छ ।” जुनकिरीहरु विपरित लिङ्गलाई आकर्षित गराउन तिनको शरीरबाट उज्यालो फाल्ने विशेष किसिमको केमिकल रियाक्सनमा निर्भर हुन्छन् ।
त्यसैले कृत्रिम बत्तीहरुको अत्याधिक प्रयोगले उनीहरुको यस जैविक प्रक्रियामा रोकिने गरेको ओवेन्स बताउँछन् ।
उक्त अध्ययनका अनुसार पृथ्वीको २३ प्रतिशत भन्दा धेरै भूभाग रातिको समयमा पनि कृत्रिम बत्तीहरुका कारण उज्यालो रहने गरेको छ ।
अनुसन्धानकर्ताहरुको विशेष समुहले ३५० जुनकिरी संरक्षण संगठनको सर्वेक्षण गरि तिनीहरुको जोखिमदायक अवस्थाबारे जानकारी हासिल गरेका हुन् ।
यसमा जुनकिरीको जनसङ्ख्या लगातार घट्ने क्रममा रहेको देखिएको हो तर यसबारे अझ विस्तृतमा बुझ्नका लागि भने दीर्घकालीन डाटाहरुको निरीक्षण गर्न आवश्यक रहेको बताइएको छ ।
त्यस्तै किटनाशकको व्यापक प्रयोगले पनि जुनकिरीहरु नष्ट हुने क्रम बढाइदिएको बेलायती प्रोफेसर डेभ गोलसनले बताएका हुन् ।
यसअघि पनि वैज्ञानिकहरुले पृथ्वीका ४१ प्रतिशत किराका प्रजातिहरु लोपोन्मुख अवस्थामा पुगेकाबारे चेतावनी दिएका थिए ।
अर्कोतर्फ जुनकिरी उडिरहेको दृश्यलाई पर्यटकीय आकर्षण पनि मानिन्छ ।
जापान, मलेशिया, ताइवान लगायतका देशहरुमा उक्त दृश्यलाई मनोरञ्जनको उच्च श्रोतका रुपमा लिइन्छ ।
तर यसैको लोकप्रियता बढेपछि जुनकिरी हेर्नकै लागि प्रत्येक वर्ष २ लाख भन्दा बढी पर्यटकहरु आउन थालेका हुन् ।
यसले पनि जुनकिरीको सङ्ख्यामा कतै न कतै नकारात्मक प्रभाव पारिरहेको बताइएको छ ।
मलेशियन नेचर सोसाइटीका सह लेखक सोनी वङले भनेकी छन्, “हाम्रो लक्ष्य भनेको जमिन व्यवस्थापक, नीति निर्माणकर्ता र जुनकिरीका फ्यानहरुलाई यी जानकारीहरु उपलब्ध गराउनु हो ताकि जुनकिरीहरुले धेरै लामो अवधिसम्म हाम्रा रातहरु उज्यालो पारिरहुन् ।” सीएनएन










