कुपोषण तथा बालमृत्युदर घटाउन नलगाडको नयाँ छलाङ्ग

हेमन्त केसी
जाजरकोट , बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गरेको छ ।

गर्भवती भएदेखि १ हजार दिन सम्मका महिला तथा नावालकलाई यो कार्यक्रममा समेट्न लागि नगरले यो कार्यक्रम सुरु गरेको हो । नगरभित्रका १३ वटा वडामा लागु भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिईएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । सरकारले दिदै आएको सुत्केरीलाई यातायात खर्च मध्ये नगरले थप १ हजार रुपैया थपेर दिने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक गर्भवती महिलालाई स्थानीय घ्यू , तेल र कुखुरा समेत उपलव्ध गराएको छ । कुखुरा उपलव्ध गराएसँगै औषधी समेत दिईएको पोषण सम्पर्क व्यक्ति किरण थापाले राससलाई जाजकारी दिनुभयो ।
त्यस्तै करेशावारीमा ताजा तरकारी उत्पादन गर्नका लागि विउका साथै तालिम दिईएको उहाँले जानकारी दिनुभयो । नियमित गर्भजाँचका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलव्ध गराएको छ ।
नगरपालिकाले वहुँक्षेत्रिय पोषण योजना कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधि सञ्चालन गदै आएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

घर, घरमा झण्डा , गर्भवतीलाई अण्डा भन्ने नारा सहित नगरले अर्को कार्यक्रम समेत सञ्चालन गदै आएको छ । गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवा , सुविधा दिन सुरु गरिएको प्रमुख रावलले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्था आउने संख्य वृद्धी
नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम लागु भई सेवा दिन थालेपछि यहाँका गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच गर्नेको संख्य वृद्धी भएको छ ।
दैनिक घरियासी काममा मात्र व्यस्त हुँने ग्रामीण क्षेत्रमा महिलाहरु अहिले सेवा , सुविधा पाउने भएपछि नियमित स्वास्थ्य जाँच गराउन थालेको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख प्रचण्डकुमार कार्कीले जानकारी दिनुभयो ।

गाउँ , गाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्य प्रति चिन्तित हुँदै गर्भवती महिलाहरु स्वास्थ्य जाँचका लागि आउने गरेको उहाँको भनाइ छ । स्वास्थ्य जाँच गरेर के हुन्छ र भन्ने गलत धारणा विस्तारै हट्दै गई सुरक्षित सुत्केरी एवं पोषणमा समेत ध्यान दिन लागिएको छ । खेतीयोग्य जमिन भएर पनि करेसाबारी निर्माण नगर्ने तथा खाली राख्ने चलन समेत विस्तारै हटदै गइ करेसाबारीमा हरिया साग र तरकारी उत्पादन गर्ने तर्फ उन्मुख भएको नलगाड नगरपालिका – ८ विष्णुकुमारी खत्रीले जानकारी दिनुभयो ।
नमुना वस्तीमा थप नमुना कार्यक्रम
नमुना वस्तीलाइ थप नमुना बनाउका लागि सवै प्रकारका सूचक पुरा गर्न नगरसरकार लागेको छ । खानेपानी , स्वास्थ्य , सरसफाई , विद्युत , सडक र बिभिन्न पुर्वधारका कार्यक्रम समेत जोडेर थप नमुना बनाउन लागिएको हो ।
नमुना बस्तीमा गर्भवती तथा सुत्केरी महिलालाई विशेष योजना बनाई कार्यक्रम सञ्चालन गरिएको नगरउपप्रमुख बालकुमारी बस्नेतले जानकारी दिनुभयो । न्यायमा समानताका आधारमा दैनिक कार्य सञ्चालन गरी महिला तथा बालबालिकाको जीवनस्तर माथी उठाई नमुना नगर बनाउने अभियान जारी रहेको उहाँको भनाई छ ।

जिल्लाको उत्कृष्ट नगरको रुपमा उद्धयमान भएको नलगाडलाई थप विकास र संमृद्धीका हिसावले दुनियाँको आँखा लगाउने बनाउनु हाम्रो लागि मुख्य एजेण्डा भएको उहाँको दावी छ ।
तस्वीर किरण थापा










