गाउँपालिकाले एसईई परीक्षार्थीलाई तयारी कक्षा पढाउदै

हेमन्त केसी
डोल्पा ,हिउदे विदाको समयमा विद्यार्थीहरु जिल्ला बाहिर गएर पढ्नुपर्ने बाध्यता हटाउनका लागि डोल्पाको मुड्केचुला गाउँपालिकाले बजेट विनियोजन गरी विद्यार्थी पढाईरहेको छ ।
गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा पढेर अहिले माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँने विद्यार्थीलाई लक्षित गरी तयारी कक्षा सञ्चालनका लागि रु ६ लाख रकम बिनियोजन गरी कक्षा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
तयारी कक्षा पढ्का लागि यहाँका विद्यार्थीहरु नेपालगञ्ज , सुर्खेत गएर महंगो शुल्क खर्चीनुपर्ने पीडा कम गर्न गाउँपालिकाले गाउँमै विद्यार्थी पढाउन लागेको शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कम्जोर भएका करिव १३६ जना विद्यार्थीलाई दुई महिना सम्म तयारी कक्षा पढाउने काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष शाहीका अनुसार वडा नं १ ,२र ३ मा पर्ने कालिका माध्यमिक बिद्यालय कालिका , वडा नं ६ को मालिका माध्यमिक बिद्यालय , वडा नं ७ को अन्र्नपुर्ण माध्यमिक बिद्यालय बाट माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने १३६ जना विद्यार्थीहरु तयारी कक्षा पढीरहेका छन् । गाउँपालिकाले वजेट बिनियोजन गरी जिल्ला बाहिर गएर तयारी कक्षा पढ्ने खर्चीलो कार्य रोकेकोमा खुसी भएको विद्यार्थीले बताएका छन् ।
गरिवीको रेखामुनी जोतिएका स्थानीयवासीहरु तयारी कक्षा ( टियूसन) पढाउनका लागि वर्षेनी लाखै रकम खर्चेर जिल्ला बाहिर छोरा,छोरी पढाउदै आएका थिए । यो पटक गाउँपालिकाले वजेट विनियोजन गरी हिउदेविदाको समयमा ( पुस, माघ) मा गाउँमै तयारी कक्षा सञ्चालन गरेपछि खुसी भएको मुड्केचुला गाउँपालिकाका –७ का किरण शाहीले जानकारी दिनुभयो ।
त्यस्तै माथिल्लो डोल्पाको छार्कातामसुङ गाँउपालिका –४ मा गैरसरकारी संस्थाको सहयोगमा दुई जना शिक्षकको व्यवस्थापन गरी तयारी कक्षा सञ्चालन भएको छ । सिकाई उपलव्धि र परीक्षा फल कम्जोर आएपछि तयारी कक्षामा समेत जोड दिइएको गाउँपालिकाका अध्यक्ष सोनाम गुरुङले जानकारी दिनुभयो ।
अत्यधिक चिसोका कारण डोल्पामा दुई शैक्षिक सत्र सञ्चालन हुँदै आएका छन् । चैतमा माध्यमिक शिक्षा परीक्षा सुरु हुने भएकाले सो भन्दा अगाडीका दुई महिना चिसोका कारण विद्यालय बन्द हुने गर्दछन् । विदाको समयमा यहाँका विद्यार्थीहरु लाखै खर्च गरेर जिल्ला बाहिर गई तयारी कक्षा पढ्ने गर्दछन् ।
तोकिएको समयमा पनि डोल्पाका विद्यालयमा शिक्षण कार्य प्रभावकारी हुन नसकेको गुनासो आउने गरेको छ । जडीवुटी संकलन देखि , वर्षायाम र जाडोमा यहाँका विद्यालयहरु प्रभावित हुदै आएका छन् ।










