मालपोतमा मालामाल – कार्यालय सहयोगीकै सम्पत्ति ९ करोड ७३ लाख , वैधानिक आम्दानी केबल ७४ लाख ७३ हजार

काठमाडौं ः अहिलेकै अवस्थामा मासिक करिब २० हजार रुपैयाँ तलब रहेको निजामती सेवाको कार्यालय सहयोगीको सम्पत्ति कति होलारु ५ लाख १० लाख या २० लाख ? यो भन्दा धेरै सम्पत्ति कमाउन कि त कार्यालय सहयोगीसँग पुर्ख्यौली हुनुपर्‍यो कि त भ्रष्टाचार नै गर्नुपर्छ। तर नेपाल सरकारकै एकजना कार्यालय सहयोगीले जागिरका क्रममा १० करोड सम्पत्ति जोडेको सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ।

नेपालमा भ्रष्टाचार र घुस लेनदेनले सबैभन्दा बदनाम बनेको मालपोतको कर्मचारी भएपछि कार्यालय सहयोगी ९पिएन० पनि करोडपति हुन सक्ने रहेछ। यस्तै एउटा उदाहरण चाबहिलस्थित मालपोत कार्यालयका सहयोगी (निलम्वित) राजेन्द्र बस्‍नेत बनेका छन्। जसले जागिरका क्रममा ९ करोड रुपैयाँ बराबरको सम्पत्ति जोड्न सफल भएका छन। उनले जोडेको यस्तो सम्पत्तिमध्ये अधिकांश अकुत रहेको निचोड अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ। बस्‍नेतविरुद्ध अकुतमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले बस्नेत र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति भेट्टाएको। त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ। करोडपति पियनविरुद्ध अख्तियारले २ वर्षसम्म कैद र बिगोजति नै जरिवाना गराउन माग गर्दै विशेषमा मुद्दा हालेको हो।

त्यससँगै अख्तियारले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि विशेष अदालतमा माग गरेको छ। उक्त सम्पत्तिमध्ये ७४ लाख ७३ हजार ३ सय ७३ ‍रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ। मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए। बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीका रूपमा सेवा प्रवेश गरेका उनले पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्‍न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएको देखिएको छ। त्यसैगरि आमा टुकुकुमारी बस्नेतको पेन्सन बचतसमेत हिसाब गर्दा उनको परिवारको वैध आम्दानी जम्मा ७४ लाख ७३ हजार रुपैयाँ मात्रै देखिएको हो। मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्‍नेतले नक्कली रसिद काटेर नगद असुल गर्थे। रसिद काटेर पनि उनले राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको देखिएको छ। उनीविरुद्ध गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो।

त्यतिखेर नै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाख रूपैयाँ बरामद गरेको थियो। उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनले ३९ लाख ७६ हजार सापटी लिएको चुक्ता गरेका छन्। ५ लाखको बीमा गरेका छन्। उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ। त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादीक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन्। उनको परिवारको नाममा विभिन्‍न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ। त्यस्तै उनले आफ्नी श्रीमतीको बैंक खाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!