स्यार्पुताल नजिक हेलिप्याड निर्माण

रुकुम । रुकुम पश्चिमको स्यार्पूताल नजिकै हेलिप्याड निर्माण गरिएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका–३ स्थित स्यार्पुताल छेवैमा बाँफिकोट गाउँपालिका र नेपाली सेनाको नरसिंह दल गणले संयुक्त प्रयासमा हेलिप्याड निर्माण गरेका हुन् ।

सबै खाले विपत्तिको समयमा आकस्मिक उद्धारमा सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिकाले बताएको छ । निर्माण सम्पन्न भएसँगै हालै नेपाली सेनाले उक्त हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

हेलिप्याड निर्माणका लागि गाउँपालिकाले निर्माण सामग्री खरीद गरेको र नेपाली सेनाले इन्जिनीयरिङ तथा प्राविधिक काम गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । भने, ‘विपत् व्यवस्थापन र उद्धारका लागि हेलिप्याड आवश्यक देखिएकाले नेपाली सेनाको सल्लेस्थित नरसिंह दल गणको सहकार्यमा निर्माण गरेका हौं,’ उनले भने ।

विशेषगरी जटिल प्रकृतिका प्रसूति सम्बन्धी बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा एम१७ हेलिकोप्टर अवतरण हुनेगरी हेलिप्याड बनाइएको अध्यक्ष केसीले बताए । हेलिप्याड निर्माणले आपत्कालीन अवस्थामा ठूलो सघाउ पुग्ने अपेक्षा उनले गरे । साथै स्यार्पुतालमा हेलिकोप्टर लिएर आउने विशिष्ट व्यक्ति समेत लाभान्वित हुने उनको भनाइ छ ।

करीब ३०० रुपैयाँ बराबरको सामग्री र दैनिक ५० जनाका दरले ७ दिनको श्रमदानबाट हेलिप्याड निर्माण भएको नरसिंह दल गणका गणपति दिनेश गौतमले जानकारी दिए । दैवी प्रकोप, उद्धार, राहत तथा खोज कार्यका लागि हेलिप्याडको उपयोगिता हुने उनको भनाइ छ । स्यार्पूताल क्षेत्रमा हेलिप्याड निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । हेलिप्याड निर्माणले स्यार्पुतालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीय गोपाल विकले बताए ।





error: Content is protected !!