पत्रकार विष्ट पुरस्कृत,पर्यटनमन्त्री भट्टराईले गरे सम्मान

बैतडी,राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा सुदूरपश्चिमवाट बैतडीका पत्रकार विनोद सिंह विष्ट पुरस्कृत भएका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्नको लागि सहयोग पु¥याउने हेतुले र एनएफपीजे नेपालले आयोजना गरेको “नेपाल दर्शन २०२०” नामक फोटो प्रतियोगितामा विष्टले कैद गरेको फोटो सुदूरपश्चिमवाट उत्कृष्टमा पर्न सफल भएको हो ।
पत्रकार विष्टले कैद गरेको सुदूरपश्चिममा मात्रै नाचिँने छलिया नाँचको फोटो उत्कृष्टमा पर्न सफल भएको राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीप राज वन्तले जानकारी दिनुभयो । विष्टलाई सोमवार काठमाडौंमा एक कार्यक्रमकाबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० हजारसहित पुरस्कृत गर्नुभएको हो । साथै उक्त फोटोलाई “नेपाल दर्शन २०२०” फोटो पुस्तकमा प्रकाशन समेत गरिएको छ । उक्त फोटो पुस्तकको समेत सोमवार मन्त्री भट्टराईले बिमोचन गर्नुभएको छ ।
पत्रकार विष्ट राष्ट्रिय समाचार समिति(रासस) का बैतडी समाचारदाताका रुपमा काम गर्दै आइरहेका छन् । विष्ट बिगत १० बर्षदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् ।
यसैबिच प्रगियोगिताका सहभागीहरुमध्यवाट प्रदेश नं.५का फोटोपत्रकार मनोज पौडेलले लुम्विनीको मायादेवी मन्दिरको फोटो “नेपाल दर्शन २०२०” मा उत्कृष्ट हुदै प्रथम स्थान हासिल गर्नु भएको छ । मुगुका फोटोग्राफर कविराज कार्कीले खिच्नुभएको रारा तालको फोटोले द्वितिय स्थान हासिल गरेको छ भने काठमाडौमा रहेर फोटोपत्रकारीता गर्नु हुने सुनील शर्माले खिच्नु भएका सोलुखुम्वुको सगरमाथा क्षेत्रको फोटोले तृतिय स्थान हासिल गर्न सफल भएको छ ।
त्यसैगरि प्रदेश स्तरिय उत्कृष्ट फोटो विजेताहरुमा प्रदेश एकवाट भवानी सिलाकार , प्रदेश दुई वाट सुसील कुमार श्रेष्ठ, प्रदेश तिनवाट आर्यन धिमाल , गण्डकी प्रदेशवाट राधिका कडेल,प्रदेश पाचँवाट अमर राज पुन , कर्णाली प्रदेशवाट हिक्मत वहादुर नेपाली र सुदुरपश्चिम प्रदेशवाट विनोद सिंह विष्टले पुरस्कार जित्न सफल भएका हुन् ।










