दादुराबाट यसरी बचौँ

डा गणेश राई
वरिष्ठ बालरोग विशेषज्ञ
कान्ति बाल अस्पताल

दादुरा सरुवा रोग हो । यो निकै कडा खालको हुन्छ । यो कुरा गर्दा, हाछ्युँ गर्दा, सँगै बस्दा, छुँदा, श्वास फेर्दासमेत एकबाट अर्कोमा सर्ने गर्दछ । यसरी सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने भएकाले पनि यसबाट बच्न हामी सजग हुन जरुरी छ । दादुराबाट विशेषगरी बालबालिका बढी प्रभावित हुन्छन् । कुपोषित र प्रतिरोधी क्षमता कम भएका बालबालिका दादुराबाट बढी प्रभावित हुने गर्दछन् ।

लक्षण

भाइरस संक्रमण भएको झन्डै ७ देखि १० दिनसम्म यसको कुनै पनि लक्षण देखिँदैन । यसलाई एक्सक्लुजन पिरियड भनिन्छ । सुरुमा बच्चामा ज्वरो आउने, आँखा रातो हुने, रुघा लाग्ने गर्दछ । यस्ता लक्षण देखिएको करिब चार दिनपछि शरीरमा मसिना बिबिरा देखा पर्छन् । धेरैजसोमा निमोनिया हुने गर्दछ, जसका कारण बच्चाको मृत्यु हुने जोखिम उच्च रहन्छ । यसबाहेक दिमागमा असर पारेर इन्सेफ्लाइटिस हुने गर्दछ । मुटु, नसा र दिमागमा खराब असर पु(याउँदछ ।
कतिपयले शरीरमा बिबिरा आउनेबित्तिकै दादुरा भएको अनुमान लगाउँछन् । तर, दादुरा मात्रै नभई अन्य समस्याका कारण पनि यस्तो लक्षण देखा परेको हुन सक्छ ।
प्रायः बच्चा प्रभावित हुने भए पनि अपवादका रूपमा वयस्क र वृद्धवृद्धामा समेत यस्तो समस्या देखिन सक्छ । वयस्क र वृद्धवृद्धामा देखिने दादुरा निकै जटिल हुन्छ । त्यसैले लक्षण देखा परेमा तत्काल चिकित्सकको परामर्श लिनुपर्छ ।
रोकथाम

नेपाल सरकारले दादुराविरुद्ध खोपको व्यवस्था गरेको छ । दादुरा र रुबेलाविरुद्ध हाल एमआर भ्याक्सिन दिने गरिन्छ ।
एकचोटि उक्त खोप लगाँउदा करिब ९० प्रतिशत दादुरा नियन्त्रण गर्न सकिन्छ । तसर्थ, बच्चालाई ९ महिना र १५ महिनाको उमेरमा एमआर भ्याक्सिन अनिवार्य दिनुपर्छ ।
उपचार

दादुराको लक्षण देखा परेमा वा शंका लागेमा चिकित्सकको सल्लाह लिनु जरुरी छ । रगत परीक्षणबाट दादुरा भए÷नभएको पत्ता लगाउन सकिन्छ ।
उपचार प्रक्रियाका दौरान बिरामीलाई भिटामिन ए खुवाइन्छ । निमोनियाबाट बच्नका लागि एन्टिबायोटिक औषधि पनि दिइन्छ । त्यस्तै, बच्चालाई प्रशस्त मात्रामा पौष्टिक खानेकुरा खान दिनुपर्छ ।





error: Content is protected !!