स्वास्थ्य मन्त्रालयले बल्ल गर्यो भ्रमण वर्षमा पर्यटकलक्षित ९ बुँदे निर्णय

काठमाडौँ ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भम्रण वर्ष २०२०लाई लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि २ विषयमा ९ बुँदे निर्णय गरेको छ।
मन्त्रालयले पर्यटकलाई नियमित तथा आकस्मिक सेवा दिँदा विशेष ग्राह्यता दिनेदेखि लिएर योग केन्द्र सञ्चालन गर्नेसम्मका निर्णय गरेको छ पर्यटकसँगै रोग समेत भित्रिने खतरा रहेका कारण मन्त्रालयले त्रिभुवन विमानस्थलको हेल्थ डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गर्नेदेखि नयाँ बन्ने अन्तराष्ट्रिय विमानस्थालमा पनि पर्यटकको स्वास्थ्य जाँच गर्न सक्ने हेल्थ डेस्क स्थापन गर्न नागरिक उड्डयन प्राधिकरण र प्रदेश सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्ने निर्णय पनि गरेको छ।
बैठकमा पर्यटकको स्वास्थ्यका विषयमा मन्त्रालयले तत्कालै केही काम गर्नुपर्ने सुझाब आएपछि २ विषयमा ९ बुँदे निर्णय गरेको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।
‘यस्ता छन् स्वास्थ्य मन्त्रालयले भ्रमण वर्षलाई लक्षित गर्दै गरेको निर्णय
नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक लक्षित स्वास्थ्य सेवा प्रवाह सम्बन्धीः
पर्यटकहरूलाई नेपालमा स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न स्वास्थ्य संस्थाहरू सम्बन्धी विवरण तयार पारी पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई उपलब्ध गराउने तथा विभिन्न वेब पोर्टलहरूमा अद्यावधिक गराउने।
सबै स्वास्थ्य संस्थाहरू लाई पर्यटन वर्ष २०२० भरी नै पर्यटकहरूलाई नियमित तथा आकस्मिक स्वास्थ्य सेवा दिदा विशेष ग्राह्यता दिन सम्बन्धित निकाय मार्फत निर्देशन दिने,
पर्यटकहरूलाई लक्षित गरी गण्डकी प्रदेशमा योग अभ्यास केन्द्र संचालन गर्ने।
पर्यटकहरूलाई प्रदान गरेको सेवाको अभिलेख राखी प्रतिवेदन तयार गरी सेटलाईट अस्पतालले हब अस्पतालमा, हब अस्पतालले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रमा र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूले राष्ट्रिय स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रमा पठाउनका लागि व्यवस्था मिलाउने।
राष्ट्रिय र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई पर्यटन वर्ष २०२० अवधिभरनै पर्यटनको आकस्मिक स्वास्थ्य सेवा प्रवाहलाई सहजीकरण गर्न सजक एवं सतर्क अवस्थामा रहन निर्देशन दिने,
पर्यटकहरूलाई लक्षित गरी आवश्यक पर्ने श्रव्य९दृश्य सामग्रीहरू संस्कृत, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसंगको समन्वयमा तयार पारी वितरणको व्यवस्था मिलाउने।
यस सम्बन्धी अन्य क्रियाकलापहरूका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भिजिट नेपाल २०२० को सचिवालय, पर्यटन बोर्ड, विभिन्न साझेदार निकायहरू संग समन्वय गर्ने।
२ प्रमुख पर्यटक प्रवेश नाकामा हेल्थ डेस्क संचालन सम्बन्धमा
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सेवा विभागबाट संचालित हेल्थ डेस्कलाई नर्भिक अन्तर्रा्ष्ट्रिय अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले संचालन गरेका हेल्थ डेस्क संग समेत समन्वय गरी थप प्रभावकारी रुपमा संचालन गर्ने।
सन् २०२० भित्रमा संचालन हुने अन्तराष्ट्रिय विमानस्थलहरूमा पनि हेल्थ डेस्क संचालनका लागि नागरिक उड्डयन प्राधिकरण, प्रदेश सामाजिक विकास मन्त्रालयहरू संग समन्वय गर्ने।










