‘देश अमेरिकी क्याम्पमा मिसिने सम्भावना’

काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेतृत्वको वर्तमान सरकार लगातार असफल हुँदै गएको टिप्पणी गरेको छ । सत्तारुढ नेकपालाई कम्युनिस्ट पार्टी मान्न नसकिने र नेकपा नेतृत्वको सरकार पनि कम्युनिस्ट सरकार नभएको जिकिर पनि नेकपा (मसाल) ले गरेको छ ।
नेकपा ९मसाल० को राष्ट्रिय परिषद बैठकले पारित गरेको महामन्त्री मोहनविक्रम सिंहको राजनीतिक प्रतिवेदनमा सत्तारुढ नेकपा र उसको नेतृत्वमा रहेको सरकारका सम्बन्धमा यस्तो विश्लेषण गरिएको हो ।
‘समग्ररूपमा आज यो सरकारको कार्यप्रणाली सन्तोषजनक रहेको छैन । सरकार लगातार असफल हुँदै गइरहेको छ,’ नेकपा मसालले राजनीतिक प्रतिवेदनमा भनेको छ, ‘देशमा भ्रष्टाचारका नयाँ–नयाँ काण्डहरू बढ्दै गइरहेका छन् । सबै क्षेत्रमा बढ्दै गएका कमिशनले भ्रष्टाचारलाई अरू गम्भीर रूप प्रदान गरेको छ । विकासका कार्यहरू सन्तोषजनक प्रकारले सम्पन्न हुन सकेका छैनन् । या त विकासको बजेटको ठूलो अंश खर्च नै हुन्न वा जे–जति खर्च हुन्छ, त्यसको पनि ठूलो अंश भ्रष्टाचारमा नै जान्छ । भ्रष्ट र नोकरशाही प्रशासनयन्त्र पनि विकासका लागि एउटा ठूलो बाधा बनेर उभिएको छ । त्यसका अगाडि सरकार असहाय जस्तो देखिएको छ ।’
नेकपा मसाल आठौँ महाधिवेशनले नेकपालाई निम्नपुँजीपति वर्गको प्रतिनिधित्व गर्ने देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति तथा मित्रशक्ति मानेको जिकिर गर्दै महामन्त्री सिंहको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘तर त्यसका साथसाथै हाम्रो पार्टीको महाधिवेशनले यो पनि स्पष्ट गरेको छ कि त्यो ढुलमूल, अवसरवादी र सम्झौतापरस्त शक्ति हो । त्यसैले त्यसले सामन्तवाद, साम्राज्यवाद र दलालपुँजीपति वर्गप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउँछ ।’
नेकपाप्रति नेकपा मसाल को नीति ‘एकता–संघर्ष–एकता’को रहने र त्यही नीतिअनुसार नेकपा नेतृत्वको सरकारलाई समर्थन गर्ने र अर्कोतिर, त्यसका सबै गलत नीति र कार्यशैलीका विरुद्ध संघर्ष गर्ने नीति अपनाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।
यो पनि
नेकपा ९मसाल०ले औंल्यायो वर्तमान सरकार अपदस्थ हुन सक्ने खतरा
परराष्ट्र नीतिका सम्बन्धमा सरकारले ढुलमूल नीति अपनाउँदै आएको पनि नेकपा ९मसाल० को टिप्पणी छ ।
‘एमसीसी’लाई संसदद्वारा पारित गराउन ओली सरकारले गरिरहेको प्रयत्नबाट त्यो कुरा प्रष्ट हुन्छ । वास्तवमा एमसीसी अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो । अमेरिकाकी स्टेटसेक्रेटरी वा काठमाडौस्थित अमेरिकी राजदूतावासका वक्तव्यहरूबाट त्यो कुरामा कुनै शंका रहन्न,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले एमसीसीलाई समर्थन गर्दा देश पूरै नै अमेरिकी साम्राज्यवादको क्याम्पमा मिसिन जाने सम्भावना रहने छ । एमसीसीबारे अपनाइरहेको त्यस प्रकारको नीतिले पनि नेकपाको चरित्र साम्राज्यवादपरस्त भएको हाम्रो विश्लेषण सही भएको कुरा नै पुष्टि हुन्छ ।’
पहिले नेकपाका नेताहरूले एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको वा नभएको बारे अमेरिकाले स्पष्ट गरेपछि मात्र त्यसलाई समर्थन गर्ने वा नगर्ने भनेर निर्णय गर्ने बताएका भए पनि स्वयं अमेरिकी राजदूतावासले नै त्यो इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा बताइसकेपछि पनि ओली सरकार त्यसलाई संसदद्वारा पारित गराउन प्रयत्नशील हुनु अनौठो रहेको नेकपा ९मसाल०को ठहर छ ।
‘स्वयं नेकपाको नेतृत्व तहमा पनि त्यसको विरोधको स्वर चर्को रूपमा उठेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर एमसीसी अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफक क्षेत्रमा प्रभुत्व कायम गर्ने रणनीतिको नै अङ्ग भएको कुरा यति छर्लङ्ग हुँदाहुँदै पनि सरकारले त्यसलाई संसदद्वारा पारित गराउने जुन घोषणा गरेको छ त्यो गम्भीर रूपले आपत्तिजनक छ र त्यसको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।’
उत्तर कोरियाको लगानीलाई फिर्ता गर्ने र त्यहाँका नागरिकहरूलाई निस्कासित गर्ने सरकारको निर्णय पनि अमेरिकाकै दबावमा भएको नेकपा ९मसाल० को ठहर छ । ‘उत्तर कोरियाप्रतिको सरकारको त्यो नीति अमेरिकाको उत्तर कोरियाका विरुद्धको नाकाबन्दीको एउटा अंश हो भन्ने कुरा प्रष्ट छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसबाट पनि सरकारले एकपछि अर्को गर्दै अमेरिकापरस्त नीति अपनाउँदै गएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यो नेपालको घोषित असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिको पनि विरुद्ध छ ।’
‘चीन र भारत दुवै साम्राज्यवादी’
नेकपा ९मसाल०को आठौ महाधिवेशनले चीन र भारत दुवैलाई साम्राज्यवादी देश भएको विश्लेषण गरेको छ । त्यसको साथै चीनले भारतसँग मिलेर लिपुलेकबारे गरेको द्विपक्षीय सम्झौताको विरोध गर्दै सो पार्टीले भनेको छ, ‘चीनले अहिले अमेरिकी साम्राज्यवादसँग प्रतिष्पर्धा गरिरहेको छ र त्यो प्रतिष्पर्धा साम्राज्यवादद्वारा निर्देशित छ भन्ने पनि हाम्रो स्पष्ट मत छ । तर हाम्रो पार्टीले उनीहरूका बीचमा अन्तर पनि गर्ने गरेको छ । अमेरिका विश्वको नै एक नम्बर दुश्मन हो भने नेपालको भू–राजनैतिक स्थितिमा चीनको तुलनामा नेपालका लागि भारतीय साम्राज्यवाद बढी खतरनाक छ र भारतीय साम्राज्यवादको विरुद्ध सन्तुलन कायम गर्न चीनसितको मैत्रीपूर्ण सम्बन्धले सकारात्मक महत्त्व राख्दछ ।’
रातोपाटीबाट ।










