अनुदान कटौती हुँदा मदरसा संकटमा

सरकारी अनुदान कटौती भएपछि वीरेन्द्रनगरमा सञ्चालित मुस्लिम समुदायको विद्यालय संकटमा परेका छन् । वीरेन्द्रनगरमा सञ्चालित मदरसा फैजुल प्रावि र मदिना मावि बेलघारी बन्द हुने अवस्थामा पुगेका छन् । धार्मिक विद्यालय सञ्चालनका लागि सरकारले अनुदान दिन छोडेपछि मदरसा संकटमा परेका हुन् । 

फैजुल प्राविमा शिक्षक दरबन्दी र अनुदान छैन । मदिना मावि बेलघारीमा साढे पाँच लाख मात्र अनुदान रकम आएको छ । अनुदान कटौती हुँदा मदरसा सञ्चालनमा कठिनाइ भएको नगर शिक्षा समितिका उपसचिव ललितविक्रम सिंहले बताए । २० जना शिक्षक, कर्मचारी रहेको वीरेन्द्रनगर–१० बेलघारीको मदरसा अनुदान कटौती भएपछि बन्द हुने अवस्थामा पुगेको छ ।

सरकारी अनुदानले नौजना शिक्षकलाई मात्र तलब खुवाउने पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले जानकारी दिए । ‘सरकारी अनुदान कटौती भएपछि मदरसा सञ्चालनमा कठिनाइ भएको छ,’ उनले भने, ‘सरकारी अनुदानबाट नौजनालाई मात्र तलब खुवाउन पुग्छ । बाँकी शिक्षक, कर्मचारीलाई रमजान पर्वको अवसरमा चन्दा उठाएर तलब खुवाउँदै आएका छौँ ।’

मदरसालाई आधुनिक शिक्षामा समायोजन गरी सञ्चालन गर्दा सरकारले अनुदान र शिक्षक दरबन्दी दिने भनिए पनि आवश्यक सहयोग नपाएको अध्यक्ष रज्जाले बताए । विद्यालयमा ९८ प्रतिशत मुस्लिम समुदायका बालबालिका अध्ययनरत छन् । उक्त विद्यालयमा उर्दु, अरबी, अंग्रेजी र नेपाली भाषामा पढाइ हुँदै आएको छ ।

आवश्यक दरबन्दी, विषयगत शिक्षक नहुँदा तथा सरकारले दिँदै आएको अनुदान रकम कटौती हुँदा मदरसा बन्द हुने अवस्थामा पुगेको हो । ‘माध्यमिक तहसम्म सञ्चालन गर्दा भौतिक पूर्वाधार र शिक्षकको अभावमा हुने गरेको छ,’ अध्यक्ष रज्जाले भने ।





error: Content is protected !!