प्रधानमन्त्रीले बधाई दिँदै भने : १४ औँ सागमा अहिलेका सबै रेकर्ड तोड्नुपर्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको बताएका छन्।

नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई पनि दिएका छन्।

तेह्रौं सागमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकुदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गरेका हुन्। ‘५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सानो उपलब्धि होइन। अब हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ।’ ओलीले चौधौं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्ने गरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकुदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उनको भनाइ थियो। ‘भूकम्पले हाम्रा सबै पूर्वाधारहरु भत्केका थिए, हामीलाई ती संरचनाहरु बनाएर खेल आयोजना गर्नु कठिन काम थियो’ प्रधानमन्त्री ओलीले भने, ‘नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनु पर्ने थियो। यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत सागका प्रतियोगिताहरु आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं।’

खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अब थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

यस्तै दुई भन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे। समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गरे।





error: Content is protected !!