ठेकेदारलाई कारबाही तयारी

रुकुम ः रुकुम पश्चिमको चौरजहारी र जाजरकोट सदरमुकाम खलंगा जोड्ने भेरी नदीको पुल निर्माणमा ७ वर्षदेखि लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको तयारी थालिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गतको उक्त पुल निर्माणमा बेवास्ता भएको भन्दै वाईपी कन्स्ट्रक्सन, पुल्चोक ललितपुरलाई कारबाहीको तयारी गरिएको हो ।

कम्पनीले ७ वर्षअघि पुल निर्माणको जिम्मा लिएको थियो । आयोजनाका अनुसार कम्पनीले २०६९ असार २५ गते १४ करोड ८४ लाख २७ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको हो । काम सक्नुपर्ने समय सकिएर डेढ वर्ष नाघ्दा पनि निर्माणमा बेवास्ता गरिएको आयोजनाले जनाएको छ ।

कम्पनीलाई सचेत बनाउने र चेतावनी दिनेसम्मको काम गर्दा पनि निर्माण अलपत्र छाडेको भन्दै योजना कार्यालय दैलेखले चेतावनीस्वरुप अन्तिमपटक पत्रिकामार्फत सूचना निकालेको छ । मंसिर २० देखि १५ दिनभित्र कार्यालयमा सम्पर्कमा नआए आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।

लामो समयदेखि पुल निर्माण नथालिएको, पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणप्रति बेवास्ता गरेकाले अन्तिमपटकका लागि सूचना प्रकाशन गरिएको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत योजना कार्यालय दैलेखका प्रमुख नारायणप्रसाद निउरेको भनाइ छ । यसअघि योजना कार्यालयले ७ दिनको म्याद राखेर ठेकेदार कम्पनीलाई सम्पर्कमा आउने पत्राचार गरेको थियो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का सम्झौता तोड्ने र कालोसूचीमा सिफारिस गर्नेतर्फ कारबाही भइरहेकाले सम्बन्धित कम्पनीलाई सम्पर्कमा आउन भनिएको कार्यालयले जनाएको छ । मंसिर १३ गते लेखिएको पत्रलाई बेवास्ता भएकाले सूचना प्रकाशन गरिएको हो । पुलको निर्माणको काम २५ प्रतिशत मात्रै भएको छ ।

कार्यालयका अनुसार १५ दिनभित्र पनि सम्पर्कमा नआए जमानत जफत गरी ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा राखिनेछ ।





error: Content is protected !!