संरचना छ, सेवा छैन

जाजरकोट ः जिल्ला अस्पतालमा सधैं औषधिको अभाव हुँदा र ६ करोड रुपैयाँ निजी खर्चमा निर्माण भएको बडावन अस्पताल सञ्चालनमा नआउँदा बिरामी उपचारबाट वञ्चित हुँदै आएका छन्  । जाजरकोट अस्पतालले वर्षौंदेखि जनशक्ति अभावको समस्या झेल्दै आएको छ  ।

जिल्लामै प्रभावकारी उपचार नपाउँदा बिरामी महँगो रकम खर्च गरेर जिल्लाबाहिर उपचार गराउन जान बाध्य छन् । कुमारी टष्टले छेडागाड नगरपालिका ५, बडावनमा सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि ६ करोड रुपैयाँको भौतिक संरचना निर्माण गरिसकेका छन् । दुर्गमका बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी अस्पतालको निर्माण भएको हो । तर भवन निर्माण भएको १ वर्ष बित्दासमेत अस्पतालबाट सेवा प्रवाह हुन सकेको छैन । एकातिर सरकारी अस्पतालमा औषधिको अभाव र अर्कोतिर करौडौं रकम खर्च भइसकेको अस्पताल सञ्चालनमा नआउँदा बिरामी उपचारबाट वञ्चित भएका हुन् ।

५० शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मी, उपकरण, पूर्वाधारलगायतको अभाव छ । अस्पतालबाट स्थानीय बासिन्दाले सामान्य उपचारसमेत पाउन सकेका छैनन । १२ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ । ६ विशेषज्ञ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मीको दरबन्दी भए पनि ३४ पद रिक्त छन् । अस्पताल करार तथा स्वयंसेवक स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको अस्पताल प्रमुख डा रविन भुसालले वताए । ‘अस्पतालको इमरजेन्सी, फार्मेसी, जनरल वार्ड र प्रसूति सेवामा एक दिनमा चार नर्सिङ स्टाफ चाहिन्छ,’ उनले भने, ‘तर दुई जनाको भरमा चलिरहेको छ ।’

अस्पतालमा तीन करारका मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक र एक स्टाफ नर्स कार्यरत छन् । अस्पतालमा ८ स्टाफ नर्स र ३ स्वास्थ्य सहायकको दरबन्दी छ । तर अधिकांश दरबन्दी रिक्त भएको लामो समय भइसक्यो । कर्मचारी समायोजनका कारण जनशक्ति अभाव भएको उनले वताए । अस्पताल स्थापना भएको ४० वर्षसम्म मेडिकल सुपरिटेन्डेन्टले पाइलोसमेत टेकेका छैनन् । सरकारी बेवास्ताले विपन्न नागरिकले जिल्लामै सहज उपचार पाउन नसकेको भेरी नगरपालिका २, बाहुनथानाका कमानबहादुर खड्का बताउँछन् ।

अस्पतालमा आईपीडी, ओपिडी, ब्लड बैंक, सुत्केरी सेवालगायत अति आवश्यक उपचारका लागि भवनको अभाव रहेको डा भुसालले बताए । साथै गुणस्तरीय एक्सरे र एम्बुलेन्ससमेत नभएको उनी बताउँछन् । सात वर्षको अवधिमा अस्पतालका दुई एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई बाहिर लैजान समस्या भएको उनले जनाए । रकम अभावमा एम्बुलेन्स मर्मत गर्न नसकिएको उनले सुनाए ।

टष्ट लगानीमा अस्पताल

छेडागाड नगरपालिका ५, बडावनमा सुविधासम्पन्न अस्पताल लागि भौतिक संरचना निर्माण भइसकेका छन् । २५ शय्याको अस्पतालका लागि भौतिक संरचना बने पनि सेवा प्रवाह अझै सुरु हुन सकेको छैन ।

पूर्वसांसद शाहको व्यक्तिगत लगानीमा संरचना बनेका हुन् । इनडोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसूति, ल्याव, फार्मेसी, डाक्टर तथा नर्स क्वाटर, प्रशासन, शौचालयलगायत सेवा सञ्चालनका लागि भवन निर्माणको काम पूरा भइसकेको छ । ५ रोपनीमा अस्पतालका लागि अत्याधुनिक भवन निर्माण भए पनि सञ्चालनमा ढिलाइ हुँदा स्थानीयलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

सेवा प्रवाहमा ढिलाइ हुँदा उपचारमा समस्या भएको स्थानीय लोकेन्द्र थापाले बताए । भवन निर्माण सकिए पनि सेवा सुरु नहुँदा स्थानीयमा निराशा छाएको उनको भनाइ छ ।
पटकपटक झाडापखालालगायत महामारीबाट पीडित स्थानीयलाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्न खोजिएको शाहले जनाए । ‘अस्पताल बनाउँछु’ भनेर जनतासँग गरेको वाचा पूरा हुने बेला भएको उनी बताउँछन् । व्यक्तिगत खर्चमा भवन निर्माणको काम सकिए पनि अस्पतालको सञ्चालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायको साझा दायित्ववोध हुनेगरी कार्य अघि बढाएको उनले जानकारी दिए । ‘समाजसेवी महावीर पुन, रोटरी क्लब इन्टरनेसनल, केही मेडिकल कलेजका विशेषज्ञ डाक्टर लगायतसँग उपचार सेवा, उपकरण, अस्पताल सञ्चालन खर्च तथा स्रोत व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘जाजरकोटका साथै डोल्पा, रुकुम, दैलेखका केही क्षेत्रका बिरामीलाई उपचार दिनेगरी अस्पताल सञ्चालन गर्न लागिएको हो ।’

टष्टको लगानीमा २५ शय्याको अस्पताल भवन बनाएर सराहनीय काम गरेको वडाध्यक्ष महेन्द्रबहादुर शाहीले बताए । ‘जनताका लागि सरकारले गर्न नसकेको कार्य राजीवले गरे,’ उनले भने, ‘जनताले जतिसक्दो छिटो अस्पतालबाट सेवा प्रवाहको अपेक्षा राखेका छन् ।’ २ वर्षअघि कुमारी ट्रस्टले भवन निर्माणको काम सुरु गरेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!