कोहलपुर–सुर्खेत प्रसारण लाइनमा आठ कम्पनीको प्रस्ताव

कोहलपुर–सुर्खेत १ सय ३२ केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि ८ वटा कम्पनीले प्रस्ताव पेस गरेका छन् । आयोजनाले जारी गरेको सार्वजनिक सूचनाअनुसार प्रस्ताव पेस गर्ने समयावधिभित्र ८ निर्माण कम्पनीले प्राविधिक प्रस्ताव पेस गरेको कोहलपुर–सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रविसिंह चौधरीले बताए । ‘८ गते आइतबारसम्म ८ कम्पनीले प्रस्ताव पेस गरेका छन्,’ उनले भने, ‘आयोजनाले प्राप्त प्रस्तावहरू अध्ययन गर्ने कार्यको सुरुवात गरेको छ ।’

आयोजना निर्माणका लागि केही भारतीय कम्पनी र केही चिनियाँ कम्पनीहरूले नेपाली कम्पनीसँग जेभीमा प्रस्ताव गरेको आयोजना प्रमुख चौधरीले बताए । ‘आठवटा प्रस्तावमा नेपाली कम्पनीहरूले चिनियाँ कम्पनी र भारतीय कम्पनीसँग संयुक्त प्रस्ताव पनि गरेका छन्,’ उनले भने, ‘ती प्रस्ताव अध्ययनका गर्न एकदेखि दुई महिनासम्म लाग्न सक्छ ।’ प्राविधिक प्रस्ताव अध्ययनपछि आर्थिक प्रस्ताव माग गरी तीन–चार महिनाभित्र ठेकेदार कम्पनी छनोट गरी निर्माणको जिम्मा दिने उनले बताए ।

करिब ५१ किलोमिटर डबल सर्किटको लम्बाइ हुने कोहलपुर–सुर्खेत १ सय ३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि १ अर्ब ८० करोड बजेट लाग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, केही सामुदायिक र केही राष्ट्रिय वन आयोजनाबाट प्रभावित हुनेछन् ।

प्रसारण लाइनको ७०।५४ प्रतिशत वनको क्षेत्र, १६।१३ प्रतिशत खेतीयोग्य जमिन, २।२६ प्रतिशत बाँझो जमिन तथा ११ प्रतिशत अन्य भागले ओगटेको छ । आयोजना कार्यान्वयन गर्दा कुल ९८ हेक्टर जमिन टावर निर्माण, सबस्टेसन निर्माण तथा क्षेत्राधिकारका लागि आवश्यक हुनेछ । आयोजनाबाट बाँके, बर्दिया र सुर्खेत जिल्लाका ५ नगरपालिका र एक गाउँपालिका प्रभावित हुनेछन् । बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुने इआइए प्रतिवेदनमा उल्लेख छ ।





error: Content is protected !!