प्रतिस्पर्धाको बेला खेलाडीलाई महिनावारीको चिन्ता

गत शुक्रबार बन्द प्रशिक्षणमा रहेकी कराते खेलाडी अनु अधिकारीलाई भेट्दा उनले महिनावारीका कारण खेल र प्रशिक्षणमा हुने अफ्ठयारा सुनाइन्।

सो दिन पनि उनको महिनावारी भएको दुई दिन भएको थियो। तर उनी अभ्यास खेलमा प्रतिद्वन्द्वीसँग फाइट गरिरहेकी थिइन्। प्रतिद्वन्द्वीले जति किक हान्थिन्, अनुले उति नै फर्काउथिन्। उनले आफू कमजोर भएको कुनै छनक दिइनन्।

‘अहिले पनि मेरो दोस्रो दिनको महिनावारी चलिरहेको छ। तर पनि प्रशिक्षण गरिरहेको छु,’ जोसिलो मुद्रामा अनुले भनिन्, ुसाग नजिक आउँदैछ। पेट दुखे पनि दुखाइ मारेर प्रशिक्षण गर्नुपर्छ।’

मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को लागि ५९९ खेलाडी बन्द प्रशिक्षणमा छन्। जसमा २८७ महिला खेलाडी छन्।

कहिलेकाहीँ खेल र महिनावारीको मिति जुध्ने भयो भने दुईचार दिन अगाडि नै महिनावारी गराउने औषधी सेवन गर्ने गरेको अनुले बताइन्। औषधी खाए पनि कतै भइहाल्ने हो कि भन्ने मनोवैज्ञानिक डर सधैं भइरहने उनको भोगाइ छ।

‘पेट दुख्यो भने पफर्मेन्स नै खस्किन्छ। शतप्रतिशत दिन सकिँदैन। त्यसैले महिनावारी भएको बेला सकेसम्म गेम नपर्दियोस् भन्ने हुन्छ,’ उनले भनिन्।

कहिलेकाहीँ जुनियर खेलाडीले महिनावारीको कारण पेट दुख्दा खेलमा राम्रो पर्फम गर्न नसकेको कुरा अनुलाई सुनाउँछन्। त्यस्तो कुराले दुःख लाग्ने उनले बताइन्।

अहिले अनु महिनावारीबारे अरु महिला खेलाडीसँग पनि खुलेरै कुरा गर्छिन्। खेलमा महिला प्रशिक्षक हुँदा यस्तो समस्याबारे कुरा गर्न सहज हुने उनको अनुभव छ।

तेक्वान्दो खेलाडी आयशा शाक्य ९बायाँ० र कराते खेलाडी अनु अधिकारी ९दायाँ० ।

‘सुरुसुरुमा पुरुष कोचलाई महिनावारीबारे भन्नै अफ्ठ्यारो लाग्थ्यो। चुप लागेर नियमित प्रशिक्षण गर्थें र फेरि तीन दिन गर्दिनथें। त्यसपछि गुरुले आफैं बुझ्नुहुन्थ्यो,’ उनले विगतको भोगाइ सम्झिन्।

तेक्वान्दो खेलाडी आयशा शाक्य भने महिनावारीका बेला प्रयोग गर्ने औषधीबारे जुनियर खेलाडीहरुलाई सतर्क गराउँछिन्।

‘नयाँ खेलाडीले भन्न लाज लागेर नबुझी औषधी खाइदिन्छन्। चिकित्सकको सल्लाह लिएर मात्र औंषधी प्रयोग गर्नु फेरि ‘डोपिङ’ मा परिएला भनेर सजक गराउँछु,’ शाक्यले भनिन्।

उनी पनि महिनवारीका बेला प्रशिक्षण छ भने एकदिन आराम लिन्छिन्।

महिनावारीका कारण प्रशिक्षण छुट्यो भने आफ्नो स्टामिना घट्यो कि भनेर उनी डर मान्छिन्। आफूलाई महिनावारीमा कम पेट दुख्ने उनले बताइन्।

‘महिनावारी भएकै बेला थुप्रै खेल खेलेर जितेको पनि छु। त्यस्तो बेला दुखाइ बिर्सिन्छु र ध्यान खेलमै केन्द्रित हुन्छ।’

प्रशिक्षणको बेला आराम लिन पाए पनि खेलको बेला महिनावारी भयो भनेर सुविधा खोज्न नपाइने उनले बताइन्। महिनावारीको बेला खुट्टा माथि उठाउनुपर्दा गाह्रो हुने उनको अनुभव छ।

अरू प्रशिक्षण गरिरहँदा र आफू महिनावारीका कारण आराम गर्नुपर्दा शाक्य खिन्न मान्छिन्। ‘त्यस्तो बेला किन हामीलाई मात्र यस्तो भयो भन्ने हुन्छ,’ उनी भावुक बनिन्।

महिला खेलाडीमा माहिनावारी शिक्षा कमी भएको अनुले महशुस गरेकी छिन्। खेलकुदमा मेडिसिन र डाइटको कक्षा भएजस्तै महिनावारीको पनि कक्षा हुने हो भने महिला खेलाडीलाई धेरै सहज हुने अनुको विश्वास छ।




सम्बन्धित समाचार


error: Content is protected !!