भालुले खाइदियो ९० घारको मह, त्रसित छन् स्थानीय

मुगु : छायानाथ रारा नगरपालिका ८ झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन्। रारा राष्ट्रिय निकुञ्जबाट निस्केको भालुले निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाउन थालेपछि स्थानी त्रसित भएका हुन्।
निकुञ्जबाट आएको भालुले छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउका मौरी पालक १३ जना किसानले पालेका मौरीको मह खाएपछि कृषकहरु मर्कामा परेका छन्। १३ जना झ्यारी गाउँका स्थानीयका ८०/९० घार मौरीको मह भालुले सखाप पारेको छ। भालुले मह मात्र खाएको छैन घार लोटाएर नष्टसमेत पारेको स्थानीय वीरबहादुर रावलले जानकरी दिए।
१२ वटा घार मौरीबाट आफूले बर्सेनि ७० हजार कमाएर घर खर्च सञ्चालन गर्दै आए पनि यो वर्ष भने भालुले सत्यानाश गरेको रावलले बताए। वर्षभरि निकै दु:ख गरी मौरीको स्याहार सुहार गरियो मह निकाल्ने समय नजिकिँदै गर्दा भालुले सत्यानाश गरेको रावलले दुखसो गरे। दम, मुटु, पेट दुख्ने, मुखको गिजा सुनिएका बिरामीहरूलाई महको सेवनले एकदमै राम्रो गर्छ। रारा घुम्न आउने पर्यटकहरुलाई अर्गानिक महको स्वागत गर्ने र नासोको रुपमा दिने गरेका छन्।
यो वर्ष भालुले मह खाएपछि रारा घुम्न आउने पर्यटकहरूलाई पनि महबाट स्वागत गर्न नपाइने रावलको भनाइ छ। गएको भदौ महिनामा निकुञ्जको भालुले स्थानीयवासीका तीनवटा गाईगोरू, दुईवटा घोडा मारिदिएको थियो।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयलाई गुहार मागेको भए पनि सुनुवाइ नभएको र भालुले पटकपटक आंतक मच्चाउन थालेको स्थानीयको भनाइ छ।
यस विषयमा निकुञ्जमा सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन।










