स्वास्थ्य ७५ जना हाडजोर्नी बिरामीको निःशुल्क शल्यक्रिया

सल्यान : जिल्ला अस्पतालमा सञ्चालन भएको निःशुल्क हाडजोर्नी शिविरमा ७५ जनाको शल्यक्रिया गरिएको छ। पाँच दिनसम्म सञ्चालन भएको शिविरमा ५३ जनाको मेजर अप्रेशन र २२ जनाको माइनर अप्रेशन गरिएको हो।

आर्थिक विपन्नताका कारण जिल्लाबाहिर गएर उपचार गर्न नसक्ने र जिल्लाबाहिर गएर पनि उपचार सफल नभएका बिरामीहरुको शल्यक्रिया गरिएको सल्यानी युवा सञ्जालले जनाएको छ। शिविरमा २७८ जनाको चेकजाँज गरिएको सञ्जालका महासचिव तेजकिरण वलीले जानकारी दिए।

शिविरमा हातखुट्टा भाँच्चिएर बांगो भएका, उपचार गर्न मिल्ने अपांगता, रड हाल्नुपर्ने तथा निकाल्नु पर्ने बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको विशेषज्ञ डा. श्यामेन्द्र सिहंले जानकारी दिए। ‘लामो समय ८ देखि १० वर्षसम्म स्टिल, रड, किला, तार राखेका बिरामीहरुको संख्या बढी देखियो,’ उनले भने, ‘जुन हड्डी पलाउँदा निकाल्न निकै गाह्रो हुने गर्दछ। साथै, आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्‍यौं।’

द माउन्टेन मोबाइल हस्पिटल र सोलुखुम्बु पोलिटेक्निकल एकेडमीका मुख्य सर्जन बेल्जियमका डा. पियर सुट, हाडजोर्नी विशेषज्ञ डा. मिङमार शेर्पा, विशेषज्ञ डा. श्यामेन्द्र सिंहलगायतको १० जनाको टोलीले उचारकाका साथै अप्रेशन गरेको थियो। बिरामीहरुको खानबस्नसहितको सुविधा दिएको शिविरमा सल्यानका दशवटै स्थानीय तह र छिमेकी जिल्ला रोल्पा, रुकुम, दाङ र जाजरकोटबाट समेत बिरामीहरु आएका थिए।





error: Content is protected !!