मुगुमा कर्मचारी अभाव, नागरिकता बनाउन चार दिन

जुम्ला : मुगुको सोरु गाँउपालिका–११ हरिबहादुर मल्ल नागरिकताको प्रमाणपत्र बनाउन तीन दिन हिँडेर जिल्ला प्रशासन कार्यालय पुगे। सदरमुकाम गमगढी पुगेको चार दिन हुँदा पनि उनले काम भएको छैन।
सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय भए पनि त्यहाँ अहिलेसम्म कर्मचारी नभएकाले जिल्ला सदरमुकाम आउँदा समेत यतिका दिन लागेको मल्लले गुनासो गरे। यस्तै, खत्याड गाउँपालिका–६ रास्केटका परिमल भियालले जिल्ला प्रशासन कार्यालय दुई दिन धाउँदा मात्र नागरिकताको प्रमाणपत्र पाए।
दरबन्दीअनुसार कर्मचारी नभएकाले सेवाग्राहीको काम ढिला भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउँछन्। उनका अनुसार कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चार नायबसुब्बा, चार खरिददार र चार कार्यालय सहयोगीको दरबन्दी छ।
तर, कार्यालयमा प्रजिअ, सहायक प्रजिअ र केही खरिदार र कार्यालय सहयोगी मात्र छन्। चारजनै नायब सुब्बाको कोटा खाली छ।








