महानगर क्षेत्रमा प्रविधियुक्त सार्वजनिक शौचालय निर्माण गरिने

काठमाडौं महानगरपालिकाले प्रविधियुक्त सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । सातौँ विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा यस्तो जानकारी गराइएको हो । काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगर क्षेत्रभित्र निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार भइसकेको जानकारी दिए ।

‘हामीले विभिन्न २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरेका छौँ,’ उनले भने, ‘स्थान, लगानी र आवश्यकताका आधारमा २० मध्ये जुनसुकै प्रकारका शौचालय सहरमा निर्माण गर्न सकिन्छ ।’ बस्नेतका अनुसार एकपटकमा एकजनादेखि एकैपटक तीनजनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका शौचालयको ढाँचा तयार भएको छ ।

यसरी बनाइने शौचालय कम्तीमा १५ लाखदेखि बढीमा एक करोड रुपैयाँ लागतमा तयार हुने बस्नेतले जानकारी दिए । कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले महानगरपालिकाभित्र प्रविधियुक्त सुविधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने बताए । ‘अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्नुपर्छ । शौचालयको समस्या समाधान भयो भने सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुनेछ,’ उनले भने ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई उत्तिकै महत्व दिएर महानगरले काम गरिरहेको बताए । यसरी सुधार गरिने र नयाँ बनाइने शौचालयलाई आवश्यकताका आधारमा स्मार्ट, सहुलियत र व्यवस्थित गरिने उनको भनाइ थियो । ‘सार्वजनिक शौचालय सबैले प्रयोग गर्न सक्ने खालको हुनुपर्छ । यसमा हामी सचेत छौँ,’ उनले भने ।

दिवसमा प्रभातफेरी
शौचालय दिवसका अवसरमा मंगलबार बिहान प्रभातफेरीसमेत गरिएको थियो । काठमाडौं महानगरपालिका र वाटर एड नेपालको सहयोगमा खानेपानी र सरसफाइका लागि गैरसरकारी संस्था गुठीले कार्यक्रमको आयोजना गरेको हो । हरेक वर्षको नोभेम्बर १९ तारिखका दिन मनाइने दिवसको यस वर्षको नारा ‘शौचालयको प्रयोगबाट कोही पनि वञ्चित नहोस्’ रहेको छ ।

गत वर्ष गुठीले काठमाडौं उपत्यकाका एक सय १५ वटा सार्वजनिक शौचालयमा गरेको अध्ययनले सार्वजनिक शौचालयमा सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड प्राप्त नहुनु, महिला र अपांगता भएका व्यक्तिका लागि शौचालय अनुकूल नहुनुजस्ता समस्या देखिएका थिए । काठमाडौं महानगरका ७० वटा, ललितपुमा २० वटा, कीर्तिपुरमा १४ वटा र मध्यपुर ठिमीका ११ वटा सार्वजनिक शौचालयमा अनुगमन गरिएको गुठीले जनाएको छ ।

वार्षिक १४ सय बालबालिकाको मृत्यु
राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाका अनुसार अहिले पनि नेपालमा सरसफाइको अभावमा पाँच वर्षमुनिका १४ सय बालबालिकाको वार्षिक मृत्यु हुने गरेको छ । सन् २००० मा वार्षिक १० हजार ८ सय रहेको यस प्रकारको मृत्युदर सन् २००८ मा ७ हजारमा झरेको थियो । यसप्रकारको समस्या सहरी क्षेत्रमा नभए पनि ग्रामीण क्षेत्रमा धेरै रहेको बताए । सहरी क्षेत्रमा पूर्ण सरसफाइका लागि काम गर्नुपर्नेमा उनको जोड थियो ।





error: Content is protected !!