सल्यान अस्पतालमा जटिल शल्यक्रिया 

सल्यान  : सल्यान जिल्ला अस्पताले गर्भवतीको साल बाहिर निस्केको अवस्थामा जटिल शल्यक्रिया गरिएको छ।

रोल्पाको गंगादेव गाउँपालिका-५ की ३० वर्षीया झिमी विकको साल बाहिर निस्केको अवस्थामा सफल शल्यक्रिया गरिएको हो। साल बाहिर निस्किएको अवस्थामा अस्पताल आएकी विकको पेटमा रहेको बच्चाको मुटुको धड्कन पनि कम भइसकेको अवस्थामा अस्पतालले शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ। डा. अनुपम घिमिरे, डा. भीमकान्त जैशी र अस्पतालका अन्य स्वास्थ्यकर्मीको शक्रियताले शल्यक्रिया सफल भएको हो। ‘शिशु जन्मिनुभन्दा पहिले  नै साल निक्लिनु निकै जोखिम हो। यस्तो अवस्थामा गर्भमा रहेको बच्चाको  मृत्यु  पनि हुन सक्छ’ सल्यान अस्पतालका डा. प्रदीप शर्माले भने।

बाहिर निक्लिएको साल कुनै कारण चुडिएमा अत्याधिक रक्तश्रापका कारण आमाको पनि मृत्यु हुन सक्न उनको भनाइ छ। दुर्गम गाउँमा रहेका महिलाहरुलाई जटिल प्रकारको सुत्केरी व्यथा लागेपछि ज्यान नै जोखिममा राखेर प्रसूति हुनु पर्ने बाध्यता अहिले पनि छ।

सीमित स्रोत र साधनका बीचबाट जिल्ला अस्पतालले गरेको सफल उपचारलाई थप व्यवस्थित गर्न प्रदेश र संघले ध्यान दिए आगामी दिनमा अरू पनि महिलाको ज्यान बच्न सक्ने अस्पतालका चिकित्सक बताउँछन् ।





error: Content is protected !!